|

काठमाडौं : पर्यटन भ्रमण वर्ष २०२० को अवसरमा पनि पशुपति क्षेत्रमा बनेको आध्यात्मिक पार्क घुम्‍न नपाइने भएको छ। विद्वत समाज नेपाल श्यामाश्याम माधव समितिले

निर्माण गरेको पार्क सम्पन्न भए पनि पशुपति क्षेत्र विकास कोषलाई नबुझाएका कारण भ्रमण गर्न नपाइने भएको हो। 

पशुपति विकास कोषले उपलब्ध गराएको १ सय रोपनी जग्गामा आध्यात्मिक पार्क निर्माण भएको छ।पशुपति क्षेत्रमा ४ वर्षदेखि विद्वत समाज नेपाल श्यामाश्याम धामले पार्क निर्माण गरेको हो।

अध्यात्मिक पार्कभित्र प्रवेशका लागि तीनवटा ढोका छन्। ढोकाको विशेषता अनुसारको नाम राखिएको छ। पूर्वतर्फ कर्मकाण्डी मार्ग, पश्चिम ज्ञान मार्ग र दक्षिण तर्फबाट प्रवेश गर्ने बाटोलाई भक्ति मार्ग नामाकरण गरिएको छ।

आध्यात्मिक पार्कको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसके पनि विद्बत समाज श्यामाश्यामा राधे माधव समितिले पार्क नबुझाएको पशुपति क्षेत्र विकासका सदस्य सचिव प्रदीप ढकालले बताए। उनका अनुसार समितिले पार्कभित्र पोखरी र शौचालय निर्माण नगर्ने भएको छ। बाँकी काम पशुपति क्षेत्र विकास कोषले निर्माण गर्ने भएको छ।

सम्झौताअनुसार पार्कको निर्माण भइसकेको उनले बताए। निर्माण गर्न बाँकी भए पशुपति क्षेत्र विकास कोषले अन्यको निर्माण गर्ने उनको भनाइ छ।

'समितिलाई पार्क विकास कोषलाई हस्तान्तरण गर्नलाई पत्र काटेर अनुरोध गरिसकेको छ,'ढकालले भने। पर्यटन वर्ष लागिसकेको छ, पशुपतिमा आउने दर्शनार्थीलाई अब पनि यहाँ घुमाउन सकिएन भने यस पार्कको महत्व नहुने उनले बताए।

पर्यटन वर्षभित्र यहाँ आउने दर्शनार्थीलाई घुमाउने योजना रहेको उनले सुनाए। पर्यटन वर्षको कार्यक्रममा विकास कोषले यहाँ पनि घुमाउने कार्यक्रम तय गरेको उनको भनाइ छ।

२० प्रतिशत काम बाँकी छ

सम्झौताअनुसार पार्कको निर्माण गरिएको नेपाल श्यामाश्याम माधव समितिका कार्यवाहक अध्यक्ष गोपाल सापकोटाले बताए। उनले भने,' पार्कभित्र केही बाँकी काम रहेकोले बुझाउन ढिलो भएको हो। एक वर्षभित्रमा सबै निर्माण गरेर हस्तान्तरण गर्छौं।'

पार्कको गेट निर्माण भइरहेको छ, बाँकी काम २० प्रतिशत रहेको उनको भनाइ छ। पशुपतिको स्वामित्त्वमा रहेको जग्गा समितिले अधिग्रहण नर्गने उनको भनाइ छ। पर्यटन वर्षमा नै हस्तान्तरण गर्न भने नसक्ने उनले स्वीकारे।

५ करोडको लागतमा पार्कको निर्माण भएको सापकोटाले बताए। 'संस्थाले सबै आफ्नो स्रोतबाट रकम खर्च गरेको हो,' उनले भने।

पार्क भित्र फूलबारी निर्मण गरी केही समय त्यसको संरक्षण गर्न समय लाग्ने भएकोले पनि समितिले हेरचाह गरिरहेको उनले बताए। पार्कभित्र दैनिकजसो त्यहाँको बिरुवा र फूललाई पानी हालेर संरक्षण गरिरहेको उनले प्रष्ट पारे। 'निर्माण कार्य सम्पन्न भइनसकेकोले सर्वसाधारणको खुला गरिएको छैन,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.