|

डडेल्धुराः डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ। 

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार ‘घुम्न जाऔँ अमरगढी’ अभियानको शुभारम्भ गरिने भएकाले सार्वजनिक विदा दिएको नगरपालिकाले जनाएको छ। 

अमरगढी नगरपालिका ५ बसपार्कमा भव्य कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरिने भएकाले नगर कार्यपालिकाको मंगलबारको निर्णयअनुसार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए। उनका अनुसार अमरगढी नगरपालिकाको कार्यालय, नगरपालिका अन्तरगतका वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रहरूमा विदा दिइएको हो।

भागेश्वरमा पनि सार्वजनिक विदा

डडेल्धुराको भागेश्वर गाउँपालिकाले यहीँ पुस १६ गते अर्थात् जनवरी १ का दिन सार्वजनिक विदा दिएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ‘घुम्न जाऔँ भागेश्वार अभियान’ को शुभारम्भ गरिने भएको हुँदा गाउँपालिकाले सार्वजनिक विदा दिएको हो।

गाउँपालिका ४ को टप्वामा विविध कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिने भएकाले गाउँपालिकाको यही पुस ८ गतेको निर्णयअनुसार सार्वजनिक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.