सञ्चारमन्त्री बाँस्कोटा डडेल्धुरामा

|

डडेल्धुराः बुधबारदेखि सुरु हुने ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भको तयारी डडेल्धुरा जिल्लामा अन्तिम चरणमा पुगेको छ। नेपाल भ्रमण वर्षको शुभारम्भका लागि जिल्ला सदरमुकामको अमरगढी नगरपालिकासहित अन्य स्थानीय तहले भव्यरूपमा उद्घाटन गर्ने गरी आ-आफ्नो तयारी अन्तिम चरणमा पुगाएका हुन्।

यहाँका स्थानीय तहले आ-आफ्नो क्षेत्रमा भएका पुराना कला संस्कृतिको प्रचारप्रसार गर्न अभियान नै सञ्चालन गर्ने जनाएका हुन्। जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाले नेपाल भ्रमण वर्षलाई सफल पार्न तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। 

सञ्चारमन्त्री बाँस्कोटा डडेल्धुरामा

नगरपालिकाले बुधबार ‘घुम्न जाऔं अमरगढी’ अभियानको एक भव्य कार्यक्रमकाबीच शुभारम्भ गर्दैछ। भ्रमण वर्ष २०२० लाई लक्षित गरि संचालन गरिने ‘घुम्न जाऔं अमरगढी’ अभियानको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुभारम्भ गर्ने भएका छन्।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटा मंगलबार साँझ डडेल्धुरा जिल्ला सदरमुकाम पुगेका छन्। बुधबार एक भव्य कार्यक्रमकाबीच मन्त्री बाँस्कोटाले शुभारम्भ गर्ने अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। उक्त कार्यक्रममा डडेल्धुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यसहित सबै स्थानीय तहका प्रमुख-उपप्रमुखहरूलाई आमन्त्रण गरिएको नगरप्रमुख ओझाले जानकारी दिए।

‘घुम्न जाऔं अमरगढी’ अभियान सफल पार्नका लागि नगरप्रमुख ओझाको संयोजकत्वमा ६ सय जनाको मूल समिति निर्माण गरिएको छ। अमरगढी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, अमरगढीभित्र अध्यापन गराइरहेका शिक्षक, स्वयंसेविका, यहाँका व्यवसायीलगायतको सहभागितामा उक्त समिति गठन गरिएको हो।

‘घुम्न जाऔं अमरगढी’ अभियानको शुभारम्भ कार्यक्रममा स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, देउडा, हुड्केली, पञ्चेबाजा, सगुन प्रदर्शन गरिने  नगरपालिकाले जनाएको छ। बुधबारको कार्यक्रमका लागि मंगलबार डडेल्धुरा सदरमुकाम सिंगारिएको छ। 

‘घुम्न जाऔं भागेश्वर’

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भागेश्वर गाउँपालिकाले ‘घुम्न जाऔं भागेश्वर’ नारा दिएको छ। उक्त अभियानको बुधबार (भोलि) विधिवत रुपमा सुरु गरिने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन्। ‘घुम्न जाऔ भागेश्वर’ पुस १६ गते ५ वटै वडाको केन्द्र विन्दुमा रहेको रहेको स्थान टपुवालेकमा तय गरिएको उनले बताइन्। 

भगेश्वर गाउँपालिकाको सबै भन्दै अग्लो क्षेत्र महाभारत पर्वत आफैँमा भ्यू टावर रहेको टप्पवा लेकको प्रचार-प्रसार गर्ने र वडाका सबै सम्भावित पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूको प्रचार-प्रसार गर्न ‘घुम्न जाऔँ भागेश्वर’ अभियानका रूपमा मनाउने वडा नं. ३ का वडा अध्यक्ष रामबहादुर शाहीले बताए। पुस १६ गते हुने ‘घुम्न जाऔं भागेश्वर’ को उद्घाटन समारोहको सम्पूर्ण तयारी पूरा गरी भइसकेको शाहीले जानकारी दिए। 

अन्य स्थानीय तहले के गर्दैछन्?

डडेल्धुराको भित्री मधेसमा पर्ने आलिताल गाउँपलिकाले बुधबार दिउँसो १२ बजे गोदाम बजारमा बृहत र्‍यालीको आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए। गन्यापधुरा गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गरि पर्चा–पम्पलेट बनाइरहेको जनाएको छ।

सामाजिक संजालमार्फत गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरूको प्रचार-प्रचार प्रसार गरिरहेको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।गाउँपालिकाका हरेक क्षेत्रमा स्वागत गेट बनाएर रंग रोगनको कार्य जारी रहेको उनको भनाइ छ।

नवदुर्गा गाउँपालिका र परशुराम नगरपालिकाले पनि आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको खोजी तथा नाम चलेका पर्यटकीय क्षेत्रहरूको व्यापक रुपमा प्रचार-प्रसार गरिरहेका छन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अजयमेरु गाउँपालिकाले महिला-पुरूष खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दैछ। यहीँ पुस १६ गते जगन्नाथ मन्दिरदेखि अजयमेरुकोटसम्म खुला हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। उक्त हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिनेसमेत उनले जानकारी दिए।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पुरस्कारको समेत प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए। उनका अनुसार पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुनेले पाँच हजार पाउनेछन्।

अजयमेरू गाउँपालिकाले ऐतिहासिक अजयमेरुकोटबाट नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्दैछ। बुधबार बिहान ११ बजे अजयमेरुकोटमा एक कार्यक्रमकाबीच भ्रमण वर्षको शुभारम्भ गरिने गाउँपालिकाका अध्यक्ष भट्टले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.