|

धनकुटा : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ सरकारले पर्यटन प्रबर्द्धनमा एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए।

पूर्वको पर्यटकीयस्थल धनकुटाको भेडेटारमा मंगलबार सुरु भएको आठौं भेडेटार फुट फेष्टिबलको उदघाटन गर्दै राईले पर्यटन प्रबर्द्धन तथा पर्यटकीयस्थलको प्रचार गर्ने उद्देश्यले प्रदेश सरकारले सो रकम विनियोजन गरेको बताए। उनले विदेशी पर्यटकको नेपाल मोह बढाउन संघीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष सफल बनाउन तीनै तहको सरकार लागि परेको बताए।

फेष्टिबलमा कृषि तथा घरेलु उत्पादनका सामग्री, स्थानीय अर्गानिक खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित फलफूल, तरकारी साथै हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुरु भएको फेष्टिबलमा भेडेटारबाट सुनसरीको धरानसम्म प्यारागाइडिङ र माउन्टेन वाइकको घोडचडी विशेष आकर्षण रहेका छन्।

फेस्टिवल अवधिभर भेडेटार नजिकै रहेको पाथिभर मन्दिर, नमस्ते झरना साथै ऐतिहासिक साँगुरीगढी टुरप्याकेज तयार गरिएको छ। तमोर नदीको मुलघाटदेखि सुनसरीको चतरासम्म र्‍याफ्टिङ सेवालगायत आसपासको क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्न प्याकेज कार्यक्रम समेत तयार गरिएको होटल एशोसिएसन अफ भेडेटारका पूर्व अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए।

पछिल्लो समय विषेश गरी भारतीय पर्यटकको आकर्षणको केन्द्रको रुपमा भेडेटार विकास हुँदै गरेको छ। यस वर्ष ३० हजार आन्तरिक तथा वाह्रय पर्यटक भित्र्याउने योजनासहित सुरु गरिएको फेष्टिवलमा एक करोड रुपैयाँ बरावरको आर्थिक कारोवार गर्ने योजना रहेको आयोजकले जनाएको छ।

होटल एशोसिएसन भेडेटारले हरेक अंग्रेजी नयाँ वर्षको अवसरमा फुडफेष्टिबलको आयोजना गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.