|

बारा : नेपाल सरकारले सन् २०२० को अवसरमा निजगढमा पहिलो पटक हुन लागेको राइड टु निजगढको तयारी पूरा भएको छ।

नेपाल भ्रमण वर्षको २०२० को शुभारम्भको स्वागतमा पर्यटकीय गन्तब्यको पहिचान र प्रवर्द्धन भन्ने नारासहित बधबार बाराको निजगढमा राइड टु निजगढ कार्यक्रम हुन लागेको हो। 

निजगढ नगरपालिकाको मुख्य सहयोग, भ्रमण वर्ष जिल्ला समन्वय समिति बारा, होटल तथा पर्यटन व्यवसायि संघ निजगढ इकाईको सहयोगमा निजगढमा क्रियाशील विभिन्न संघ, संस्था सहभागी भ्रमण वर्ष शुभारम्भ मुल समारोह समितिको आयोजनामा राइड हुन लागेको हो। 

आयोजकले मंगलबार निजगढ बैंन्क्यूटस्थित सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रम तयारी बारेमा जानकारी गराएको हो। भ्रमण वर्ष जिल्ला समन्वय समिति बाराका सदस्य महेश्वर अधिकारीले राइडमा ६० वटा साइकल, २ सय वटा मोटरसाइकल र ५ वटा सफारी गाडीमा करिब ३ सय बढी सहभागी हुने जानकारी दिए।

राइड निजगढ ८ स्थित निजगढ–काठमाडौं फास्ट ट्रयाकबाट विहान १० बजे सुरु भई पूर्वपश्चिम राजमार्ग हुँदै सिगौंल, सडकटोल–बागदेव हुँदै शहीद हिरालाल पार्क, मोहरी–लाल हुँदै शक्ति खोला, शक्ति झरनामा पुगेर रतपुरीमा समापन गर्ने योजना रहेको भ्रमण वर्ष जिल्ला समन्वय समिति बाराका सदस्य ज्ञानेन्द्रप्रसाद चौलागाईले जानकारी दिए। राइडले निजगढको १३ वटै वडामा करिब ७० किलोमिटर यात्रा पूरा गर्ने छ।

निजगढ बजार क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गमा राइडरलाई पञ्चेबाजा, झाँकी, स्काउट र एनसिसीसहितले स्वागत गर्ने कार्यक्रम रहेको जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ निजगढका प्रथम उपाध्यक्ष रामकृष्ण घिमिरेले जानकारी दिए। साइकल राइडलाई प्रदान गरिने ज्याकेट निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवी लामिछानेले साइकिलिङ संघ बाराका अध्यक्ष रामशरण सुवेदीलाई हस्तान्तरण गरेका छन्।

मुल समारोह समितिको बैठकले कार्यक्रमको तयारीका लागि विभिन्न उपसमिति गठन गरेर कार्य विभाजन गरी गरिएको तयारी पूरा भएको भ्रमण वर्ष जिल्ला समन्वय समिति बाराका सदस्य केशव ढोडारीले जानकारी दिए। उनले विभिन्न वडामा सरसफाई र स्वागतद्वार निर्माण गरिएको जानकारी दिए।

पत्रकार सम्मेलनमा निजगढ नगरपालिकाका प्रमुख खनालले निजगढ प्रदेश २ कै पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताए। उनले पर्यटकीय क्षेत्रको प्रचारका लागि राइड महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। त्यस्तै निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछाने खनालले पर्यटकीय गन्तब्यको पहिचान गरी त्यसलाई प्रचार प्रसार गर्न नयाँ मोडलमा भ्रमण वर्ष मनाउन लागिएको बताइन्। उनले पर्यटन विकासमा जनसहभागिता महत्वपूर्ण हुने भएकाले सबैको साझा प्रयासबाट निजगढको पर्यटन विकास गर्नुपर्ने बताइन्।

कार्यक्रममा वडा अध्यक्ष जीतबहादुर तामाङ, कुशबहादुर थापा, प्रेमबहादुर रुम्बा, सुरेश घलान, कार्यपालिका सदस्य पवन विक, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका केन्द्रिय सञ्चालक दिलबहादुर लामा, सहकारी सञ्जाल निजगढका अध्यक्ष भोलाप्रसाद गौतम, सहकारीकर्मी अम्बिकाप्रसाद चौलागाई, थानेश्वर सापकोटा, सीता खड्का, धनमाया लामा, वनकर्मी रविराज दंगाल, सामुदायिक विद्यालय महासंघ प्रदेश २ का ईन्चार्ज केदारप्रसाद गौतम, युथ अफ निजगढका अध्यक्ष गंगामाया श्रेष्ठ, माकुरा नेपालका अध्यक्ष काशीराज राउत, होटल तथा पर्यटन व्यवसाय संघ निजगढ इकाई अध्यक्ष प्रभात सिग्देल, नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य जीतलाल श्रेष्ठ, पर्यटन पत्रकार संघ प्रदेश २ का महासचिव बसन्त खतिवडाको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.