|

काठमाडौं : आफैँमाथि छानबिन हुनुपर्ने माग गर्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलासहित फिल्म 'छक्का पञ्जा' निर्माण समूहले प्रहरीमा निवेदन दिएको छ। नवलपरासी स्थायी घर भई काठमाडौं सिनामंगल बस्दै आएका कृष्ण सुवेदीले 'छक्का पञ्जा' पाइरेसीमा संलग्न भएको आरोपमा प्रहरीबाट सफाइ पाएपछि गत पुस २८ गते 'रहस्यमय सुसाइड नोट' लेख्दै आत्महत्या गरेका थिए। 

प्रहरीमा निवेदन दिँदै गर्दा दीपकले के भने ?

फिल्मले सय दिन मनाएपछि हामीले फिल्म उत्रन्छ भन्ने सोचेका थियौँ। तर, फिल्म प्रदर्शनको सय दिन नाघ्दा पनि केही हलमा चलिरहेकै थियो। हलमा दर्शकको चाप यथावत देखेपछि फिल्मले एक सय ५० दिन मनाउने भो, यो पनि रेकर्ड नै हुनेभो भन्ने सोचिरहेका थियौँ। तर, फिल्म चलेको एक सय २१औँ दिनमा बिहानै अमेरिकाबाट एक शुभचिन्तकको फोन आयो। उहाँले 'छक्का पञ्जा' त अनलाइनमा आइसक्यो, तपाईंलाई थाहा छ कि छैन भनेर सोध्नुभो।

मैले, 'होइन होला, वडा नम्बर ६ लाई केहीले छक्का पञ्जा भनेर राखेका छन्, तपाईंले त्यही हेर्नुभो होला' भन्ने जवाफ दिएँ। तर उहाँले छक्का पञ्जा नै हो भनेर दाबी गरेपछि मैले शुभचिन्तकलाई विदा गरेर हाइलाइट्स नेपालका ओम गुरुङलाई फोन गरेर जानकारी गराएँ। उहाँले म बुझ्छु भनेर भन्नुभो।

केहीबेरमै पाइरेसी भएको फिल्म हामीले हात पार्‍यौँ। कृष्ण सुवेदीले गुगल ड्राइभमा फिल्म शेयर गरेका थिए। हामीले प्रमाणसहित अपराध अनुसन्धान शाखामा कृष्ण सुवेदीको नाममा उजुरी हाल्यौँ। भोलिपल्ट नै उनलाई समात्यो। 

प्रहरीसँगको केरकारमा उनले आफूले अञ्जानमा फिल्म गुगल ड्राइभमा हालेको बताएका थिए। हामीले कृष्ण सुवेदीको पासवर्ड लिएर हेर्दा उनले दुई जनालाई फिल्म शेयर गरेको र एक सय २४ जनाले फिल्म हेरेको देखियो।

प्रहरीले फिल्म कसरी हात पर्‍यो भनेर सोध्दा उनले आफूलाई साथीले दिएको बताए। प्रहरीले कृष्णको अर्को साथीलाई समायो । उनलाई पनि प्रहरीले त्यही प्रश्न दोहोर्‍यायो । उनले फेरि अर्को साथीको नाम लिए। प्रहरीले उनलाई पनि समायो । यो साथीलाई पनि प्रहरीले फिल्म कसरी पायौ भनेपछि उसले सजल भट्टराईको नाम लियो। जो सोही फिल्मका कलाकार आरपी भट्टराईका छोरा थिए।

सजलले आफूसँगै घरमा बस्ने साथीलाई फिल्म हेर्न दिएका रहेछन्। फिल्म लिक हुनुमा आफ्नै टिम सदस्यका छोराको हात देखेपछि हामीले अपराध अनुसन्धान शाखामा चारैजनालाई राखेर आइन्दा यस्तो काममा नलाग्न सम्झायौँ। प्रहरीले के गर्ने भनेर सोधेका थिए। फिल्म वयापारिक प्रयोजनका लागि प्रयोग नगरेको हुनाले छाडिदिउँ भन्यौँ।

त्यसपछि सुवेदीको आत्महत्याको प्रसंग उल्लेख गर्दै दीपकले भने, 'केही अनलाइनमा दीपक- दीपाको कारण युवकले आत्महत्या गरेको हेडलाइनसहित समाचार आए। सामाजिक सञ्जालमा पनि हामीलाई तथानाम गाली गर्दै स्टाटस पोस्ट हुनथाल्यो। नखाएको विषको पीडा पलपल खप्दै बसिरह्यौँ।

हामीलाई समाचार लेखेकोमा कुनै गुनासो छैन। तर, समाचारमा लगातार हामीलाई भिलेनको रुपमा प्रस्तुत गरियो । समाचारमा दुईतर्फी कुरा आएन, गुनासो यसमा हो।

अनि घटनालाई राजनीतिक रंग दिन खोजेकोमा पनि हामीलाई अनौठो लागेको छ। केही सञ्चारमाध्यममा नवलपरासीमा हामीलाई बन्देज लगाउने र हाम्रा प्रशारणमा रोक लगाउने खबरसमेत सुनिए। हामी कलाकार साना-साना घटनामा त आँसु आउँछन् भने यहाँ त एउटा होनहार युवकको ज्यान गएको छ। हामीले बाँचेर पनि मरिरहेको अनुभूति गरिरहेका छौँ। 

सत्य-तथ्य छानविन होस्। हामीले धम्क्याएका रहेछौँ भने प्रहरीले प्रमाण पुर्‍याओस् भनेर निवेदन दिएका छौँ, दीपकले शनिबार महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दर्ता गराएपछि पत्रकारसामु भने।

- नागरिक दैनिकबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.