|

काठमाडौं : कसैको हातमा नेपालको झण्डा त कुनैको हातमा डम्फु। हात–हातमा ‘भिजिट नेपाल २०२०’ को प्ले कार्ड। कोही धिमेबाजा बजाउनमा व्यस्त छन्। विद्यार्थी भन्दै थिए, ‘भिजिट नेपाल २०२०’। लाखे नाच हेर्न भ्याइनभ्याई थिए विदेशी पर्यटक पनि।

बुधबार बिहान बौद्धमा देखिएको पर्यटन वर्ष २०२० को प्रभातफेरी कार्यक्रमको यो दृश्यले बौद्धमा आएका विदेशी होस् या आन्तरिक पर्यटक मख्ख देखिन्थे। बौद्ध स्तूप क्षेत्रमा अन्य दिन भन्दा बुधबार फरक-फरक दृश्य देखियो।

बौद्धनाथ क्षेत्र विकास समितिले पर्यटन वर्ष २०२० लाई विभिन्न झाँकीसहित स्वागत गरेको हो। उक्त कार्यक्रममा नवजागृति माध्यामिक विद्यालय बौद्ध, लर्ड बुद्ध स्कूल, तामाङ कल्याण गुठीलगायत संघसंस्थाको उपस्थिति थियो। 

काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राईले बौद्ध गेटमा रातो रिबन काटेर पर्यटन वर्षको उद्घाटन गरेपछि बौद्ध पिपलबोट हुँदै फर्केर टुसाल चोकसम्म र्‍याली निकालेका थिए। त्यसपछि फेरि फर्केर र्‍यालीसगैँ बौद्ध स्तूपलाई परिक्रमा गराइएको थियो।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले सरकारले पर्यटन वर्ष २०२० घोषणा गरेसँगै पर्यटन वर्षको स्वागतका लागि कार्यक्रम आयोजना गरेको बताए। ‘आजबाट नेपालमा पर्यटन वर्ष सुरु भएको छ’, लामाले भने, ‘विदेशी पर्यटक भित्र्याउन बौद्ध क्षेत्र वरिपरि सफा राखेका छौँ।

पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने छ।’ समितिले पर्यटन वर्षको सुभारम्भ गरेपछि सयजना विदेशी पर्यटकलाई बौद्ध स्तूपभित्र निःशुल्क प्रवेश गराएको छ।

सांसद कृष्ण राईले नेपालमा पर्यटन वर्ष सुरु भएको जानकारी गराउँदै नेपालभित्र घुम्न बाँकी रहेका पर्यटकीय गन्तव्यहरूमा सबै पुग्न आम नागरिकलाई आव्हान गरे। उनले भने,‘सरकारले यसवर्ष पर्यटन वर्षको रुपमा घोषणा गरको छ। नेपालमा धेरै पर्यटकीय ठाउँहरू छन्। सबै घुम्नुपर्छ। बौद्ध स्तूपमा पनि धेरै पर्यटक घुम्ने विश्वास लिएको छु।’ 

पर्यटन वर्ष सुरुवात भएसँगै बौद्ध स्तुप सजाइएको छ। गेटमा रातो झिलीमिली बत्ती राखिएको छ। स्तूपलाई फूलमालाले सजाइएको छ।

बौद्ध क्षेत्रमा सप्ताहव्यापी रुपमा पर्यटन वर्ष मनाउदै जाने काठमाडौं  महानगरपालिका  ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले जानकारी दिए। ‘ देशमा तीन तहका सरकार छन्’ उनले भने,‘संस्कृत,पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले पर्यटन वर्ष कसरी मनाउने भन्नेबारे समिति गठन गरेको छ। समितिले जे निर्णय गर्छ। त्यही अनुरुप हामी कार्यक्रम गर्दै जाने छौँ। बौद्धमा सप्ताहव्यापी रुपमा पर्यटन वर्ष मनाउन लागेका छौँ।’

यस्ता छन् बौद्धमा पर्यटन वर्षको कार्यक्रम 

बौद्धनाथ क्षेत्र विकास समितिका अनुसार बिहीबार साँझ ५ बजे सांसद कृष्ण राईको आतिथ्यमा बौद्ध स्तुपमा १० हजार मैनबत्ती बाली दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ। शुक्रबारका दिन सम्पदासम्बन्धी विभिन्न सांस्कृतिक कार्यक्रम गरिने छ। उक्त दिन बौद्धमा करिब दुई घण्टासम्म भेषभूषामा नेवार, तामाङ, लामा समुदायले परम्परागत नाच प्रदर्शन गर्ने छन्।


पर्यटन वर्षभरि बौद्धमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य

विकास समितिका अध्यक्ष लामाले पर्यटन वर्षभरिमा बौद्ध क्षेत्रमा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए। लामाले भने,‘सरकारले नेपालमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यसको ५० प्रतिशत बौद्धमा पर्यटक भित्रिने लक्ष्य राखेका छौँ।’ उनका अनुसार ६ महिनाको अवधिमा बौद्ध स्तूपमा बाह्य दुई लाख पर्यटकले भ्रमण गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.