अर्थतन्त्रमा योगदान बढाउने प्रयास

|

काठमाडौं :  संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रालय भ्रमण वर्ष २०२० को आरम्भसँगै भ्रमण दशक सन् २०२०-२०३० को अभियान पनि सुरु गर्दै छ। बुधबार भ्रमण वर्ष २०२०को औपचारिक उद्घाटनसँगै सरकारले भ्रमण दशका लागि पनि योजना बनाउने जनाएको छ। 

बुधबार काठमाडौं सहित सातै प्रदेशका मुख्य शहरमा भ्रमण वर्ष उद्‍घाटन गरिएको छ। यस वर्ष सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्य निर्धारण गरेको छ। तर पर्यटन क्षेत्रमा दीर्घकालीन पूर्वधार विकासको काम भने हुन नसकेको अवस्थामा पर्यटन दशक मनाउने अभियनामा मन्त्रालय देखिएको हो। 

'आगामी आर्थिक वर्षको बजेट बाट नै हामीले भ्रमण दशकको लागि पनि कार्यक्रम बनाउने छौँ' संस्कृति पर्यटन तथा नागरिक उड्‍यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भने। 

पर्यटन मन्त्रालयले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान न्युन देखिएको अवस्थामा कम्तिमा १० प्रतिशत पुर्‍याउन १० वर्षे अभियान चलाउनु जनाएको हो।'भ्रमण वर्ष २०२० एउटा अभियान हो। तर, यो एक वर्षको अभियानले पुग्दैन। एक दशकसम्म हामीले यसको लाभ लिन सक्छौँ। सन् २०२० आधार वर्ष हुनसक्छ' पर्यटन मन्त्री योगेश भट्टराई भन्छन्, 'अहिले पर्यटनको जिडिपीमा योगदान ३ प्रतिशत छ, यो योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ।'

उनले हरेक वर्ष पर्यटन क्षेत्रमा नयाँ दुई लाख रोजगारी सिर्जना गर्ने गरी पर्यटन क्षेत्रको आधार तय गर्ने बताए। 'प्रत्येक वर्ष पर्यटन क्षेत्रमा दुई लाख नयाँ रोजगारी, खर्च क्षमता ८० डलर पुर्‍याउने लक्ष्य राखिएको छ। अहिले खर्च क्षमता ४० डलर रहेको छ।' मन्त्री भट्टराईले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.