|

पाल्पा : विविध कार्यक्रमसहित तानसेनमा भ्रमण वर्ष-२०२० को बुधबार शुभारम्भ गरिएको छ। तानसेन नगरपालिकाको मुलगेटमा भिजिट नेपाल–२०२० लेखिएको झण्डा र राष्ट्रिय झण्डोत्तलन गरिएको छ।

यस्तै, तानसेनस्थित बसपार्कमा डिजिटल डिस्प्ले बोर्डको शुभारम्भ भएको छ। नगर प्रमुख अशोक कुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले पर्यटकलाई स्वागत गर्दै झण्डोत्तलन र बोर्डको शुभारम्भ गरेका हुन्।

भ्रमण वर्षको शुभारम्भ गर्दै प्रमुख शाहीले भ्रमण वर्ष-२०२० लाई सफल पार्नको लागि वर्षभरीको कार्यक्रम तय गरेको बताए। डिजिटल डिस्प्ले बोर्डमार्फत तानसेनका ऐतिहासिक पर्यटकीय स्थलको तस्वीरसहित विभिन्न जात्रा महोत्सवका भिडियो वृत्तचित्रसमेत देख्न पाइने छ। जुन हेरि सकेपछि पर्यटक आफूलाई मन परेको ठाउँमा पुग्न सक्नेछन्। 

तानसेनलाई पनि विश्वव्यापी रूपमा पर्यटकीय हिसाबले प्रचारप्रसार गर्नुपर्छ भन्नेमा तानसेन नगरपालिका रहेको नगर प्रमुख शाहीले बताए। ‘तानसेन जाउँ प्रकृति र संस्कृतिसँग रमाउँ’ भन्ने नारासहितको भ्रमण वर्ष-२०२० को लागि कार्यक्रम तय गरेको उनले बताए। ‘आजदेखि कार्यक्रम सञ्चालन भएका छन्’ उनले भने ‘माघ महिनामा सप्ताव्यापी कार्यक्रम सञ्चालन गरिनेछ।’

भ्रमण वर्षका अवसरमा सडक महोत्सव, साँस्कृतिक महोत्सव र खाना महोत्सवसँगै सुन्तला महोत्सवसमेत आयोजना गरेर पर्यटकलाई आकर्षित गरिने उनले बताए।

तानसेनको महत्वलाई उजागर गर्नको निमित्त पाल्पाली समाज पोखरासँग सहकार्य गरेर पोखराको फेवातालमा तानसेनको पर्यटकीय प्रचारप्रसारको लागि डिजिटल डिस्प्ले बोर्ड राख्ने तयारी भइरहेको छ।

यस्तै, सुनौलीको बोर्डर, निकट भविष्यमा सञ्चालन हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित पाल्पा आउने सडक छेउमा तानसेनका पर्यटकीय स्थलको जानकारीसहितका डिजिटल डिस्प्ले बोर्ड राखिने प्रमुख शाहीले बताए।

आन्तरिक तथा वाह्य पयर्टकको लागि रानीमहललाई मुख्य आकर्षकको रूपमा अगाडि बढाउने उनको भनाइ छ। रानीमहलको फोटोलाई नेपाल भरीका प्रतिष्ठित होटलमा राख्ने कार्यक्रम रहेको उनी बताए।

तानसेनको आतिथ्यतालाई ग्रहण गर्न सबै आन्तरिक तथा बाह्य पर्यटकलाई नगरप्रमुख शाहीले अनुरोध गरे। सोही अवसरमा तानसेन नगरपालिकादेखि बसपार्कसम्म सरसफाइसमेत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.