जर्मनी २-० ले स्तब्ध

|
Photo : twitter.com/UEFAEURO

काठमाडौं : विश्वविजेता जर्मनीलाई २–० ले पराजित गर्दै आयोजक फ्रान्स युरोकप २०१६ को उपाधिनजिक पुगेको छ। शुक्रवार बिहानै सम्पन्न दुई युरोपियन जाइन्टहरुको निकै प्रतिष्पर्धात्मक खेलमा फ्रान्सले बाजी मारेको हो। उसका लागि दुवै गोल युवा स्ट्राइकर एन्टोनी ग्रिजम्यानले गरेका हुन्। 

खेलको शुरुवातमानै आयोजकलाई अग्रता दिलाउने राम्रो अवसरबाट ग्रिजम्यान चुकेका थिए। मतौडीको सटिक पासमा उनको दायाँको खुट्टाको “स्लाइट टच”लाई जर्मनीका गोल रक्षक म्यानुअल न्योरले जोगाएका थिए।

खेलको १४ औँ मिनेटमा जर्मनीले फ्रान्सको डिबक्स भित्र हुलमुलबाट श्रृजना गरेको गोलको अवसरलाई फ्रान्सका डिफेन्डर र गोलरक्षकले विफल तुल्याउँदै आयोजकको संकट टारेका थिए। 

२६ औँ मिनेटमा जर्मनीका कप्तान स्वाइन्स्टाईगरले डिबक्स भन्दा केही बाहिरबाट प्रहार गरेको पावरफुल सटलाई फ्रान्सका गोलकिपर हुगो लोरिसले मुस्किलले फ्लिक गर्दै बाहिर पठाएका थिए। 

खेलको ४२ औँ मिनेटमा फ्रान्सका ओलिभर जिरुड वान भर्सेस वानको अवस्थामा केही ढिलो हुँदा आयोजकलाई अग्रता दिलाउने सुन्दर अवसर गुमाएका थिए। 

पहिलो हाफ भरी निकै दबाबमा खेलेको फ्रान्सले अन्त्यतिर सुनौलो अवसर पायो। कर्नरबाट आएको बललाई जर्मनीका कप्तान वास्टिन स्वाइन्स्टाईगरले डिबक्स भित्र हातले छुँदा फ्रान्सले पेनाल्टीको अवसर पायो। जस्लाई यस प्रतियोगिताका उच्च गोलकर्ता एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गर्दा आयोजकले १–० सँगै पहिलो हाफको अन्त्य गर्‍यो। 

दोस्रो हाफमा दुवै पक्षबाट उल्लेखनीय आक्रमण नभइरहेको समयमा ७२ औँ मिनेटमा फ्रान्सले अग्रता दोब्बर बनायो। यस पटक जर्मनीका डिफेन्डरले आफ्नो डिबक्स भित्र अनावश्यक गल्ति गर्दै बल क्लियर नगर्दा पुनः एन्टोनी ग्रिजम्यानले आफ्नो र टीमको लागि दोस्रो गोल गर्न सफल भए। 

बल पोजिसन ६८–३२ ले आफ्नो पक्षमा पारेपनि फ्रान्सको जब्बर डिफेन्सलाईन तोड्न जर्मनीलाई निकै कठिन भइरहेको समयमा २ गोलको अग्रतापछि फ्रान्सले आफ्नो डिफेन्स झनै मजवुत बनायो। जस्ले गर्दा त्यसपछिको जर्मनीका प्रत्येक प्रयासहरू विफल भयो र खेल फ्रान्सले २–० ले जित्यो।

योसँगै फ्रान्सले ठूला प्रतियोगिताहरुमा जर्मनी हाबी हुने रेकर्डको अन्त्य मात्र गरेन आफ्नो घरमा खेलेको प्रत्येक खेलमा पाएको सफलताको इतिहासलाई पनि दोहोर्‍याएको छ। खेल अवधिभर विश्व विजेता जर्मनीले दबदबा कायम गरेको भएपनि पाएको थोरै मौकाको सदुपायोग गर्दै फ्रान्सले पोर्चुगलसँगको भेट पक्का गरेको हो। 

अब उपाधिको लागि जुलाई ११ मा पेरिसको स्टेड डे फ्रान्समा फ्रान्स र पोर्चुगल आमनेसामने हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.