|

जनकपुरधाम : नेपाल भ्रमण वर्ष सुरु भएको बेला भारत सरकारका संस्कृति तथा पर्यटनमन्त्री प्रहलाद सिंह पटेल बिहीबार जनकपुरधाम आएर जानकी मन्दिरमा पूजापाठ गरेका छन्।

मन्त्री पेटल कडा सुरक्षाबीच जानकी मन्दिरमा पूजापाठ गरेका हुन्। उनले मन्दिरमा प्रसादसमेत ग्रहण गरेका थिए। मन्दिरको परिक्रमा गर्नुका साथै अखण्ड कीर्तन भइरहेको ठाउँमा पुगेर बाजासमेत बजाएका थिए।

जानकी मन्दिर प्रवेश गरेलगत्तै मन्त्री पटेललाई भव्य स्वागत गरिएको थियो। उनको स्वागतमा पण्डितहरूले मन्त्रोच्चारण गरेका थिए। मन्त्री पटेललाई प्रदेश-२ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादव, जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोषण दास र सर्वसाधारणले फूलमालाले स्वागत गरे।

पूजापाठ सकेपछि मन्त्री पेटललाई महन्थ दासले मिथिलाको पाग, फूलमाला र दोसल्ला ओढाएर स्वागत गरे। उनले प्रसादस्वरूप मन्त्री पेटललाई ‘लस्सी’ पनि खुवाए। मन्त्री पटेलको साथमा पत्नी र छोरी पनि थिइन्। उनीहरूलाई पनि महन्थ दासले फूलमाला, चुन्दरी र पाग लगाएर स्वागत गरेका थिए।

मन्त्री पटेलले माता जानकीको दर्शन गर्ने सौभाग्य प्राप्त भएपछि आनन्द महसुस भएको बताए। उनले सदियौँदेखि भारत र नेपालको धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेको र यसलाई मजबुत बनाउनुपर्ने बताए।

उनले प्रधानमन्त्री मोदीले जनकपुरधाम विकासका लागि घोषणा गरेको रकम लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पनि सम्बन्धित निकायसँग आग्रह गरे। उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेपछि भारत सरकारले रकम पठाउँछ। हामी सहयोग गर्न तयार छौँ।’

मन्त्री पटेलका लागि जानकी मन्दिरले रातो कार्पेट ओछ्याएको थियो। उनको सुरक्षार्थ ठूलो संख्यामा सुरक्षाकर्मी र नेपाली सेनासमेत मन्दिर परिसरमा परिचालन भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.