प्रदेश ५ मा बर्दियाको ठाकुद्वाराबाट भ्रमण वर्षको भव्य शुभारम्भ

|

बर्दिया : नेपाल भ्रमण बर्ष २०२० को बर्दियाको ठाकुरद्वाराबाट शुभारम्भ गरिएको छ। प्रदेश-५ सरकारले 'घुम्न जाउँ बर्दिया' भन्ने नारा राखेर बर्दियाको ठाकुरद्वाराबाट भ्रमण वर्षको शुभारम्भ गरिएको हो। प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले एक भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेका हुन्।

राष्ट्रिय तथा स्थानीय कलाकारको विविध साँस्कृतिक कार्यक्रमसहित भव्यताका साथ घुम्न जाउँ बर्दिया, नेपाल भ्रमण वर्ष शुभारम्भ भएको जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष, तथा जिल्ला स्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजक शंकर थारूले बताए।

प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने तथा बर्दियाको विकासमा थप टेवा पुग्ने पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरीले बताए।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले नेपाल भ्रमण वर्ष बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट शुभारम्भ गरेकोमा र कार्यक्रम सफल पार्न सहयोग गर्न सबैलाई धन्यवाद दिए।

बर्दियाको ठाकुरद्वारामा प्रदेश-५ सरकारले नेपाल भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट गरेसँगै यस क्षेत्रको मौलिकता र पर्यापर्यटनको प्रचारप्रसारमा अझ सहयोग पुग्ने अपेक्षा गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यता तथा प्रदेश-५ का पर्यटन मन्त्री लिला गिरीको अध्यक्षतामा विविध सांस्कृतिक तथा सन्देशमूलक जानकारीसहित नेपाल भ्रमण वर्ष २०२० तथा घुम्न जाउँ बर्दियाको बुधबार बर्दिया राष्ट्रिय निकुञ्जनजिक ठाकुरद्वारामा औपचारिक शुभारम्भ गरिएको हो। 

ठाकुरद्वारा मन्दिर परिसरमा नेपाल भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, सहकारीकर्मी, वडा तथा नगरवासीको ठूलो संख्यामा उपस्थिति रहेको थियो। १० हजार बढीको सहभागिता भएपछि सुरक्षाकर्मीलाई केहीबेर माहौल सम्हाल्न हम्मेहम्मे परेको थियो।

प्रकृतिसँग पर्यटकलाई जोड्ने भ्रमण वर्षको उद्देश्य

प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रकृतिसँग पर्यटकलाई जोड्नका लागि नेपाल भ्रमण वर्ष २०२० शुरु गरेको बताएका छन्।

बर्दियाको पर्यटकिय क्षेत्र ठाकुरबाबा नगरपालिका ९ स्थित ठाकुरद्वारामा प्रदेश-५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको घुम्न जाउँ बर्दिया, नेपाल भ्रमण वर्ष २०२० प्रदेश नम्बर ५ को भ्रमण वर्ष शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रकृतिसंग पर्यटन जोडनु पर्ने बताएका हुन्।

'प्रदेश सम्पन्न हुने भनेकै पर्यटनको विकासले हो', उनले भने, 'बर्दियाका स्थानीयले प्रदेश सरकारलाई साथ र सहयोग गरेमा प्रदेशको विकास र बर्दियाको विकास ढिलो नहुने देखिएको छ।'

बर्दिया थारू संस्कृतिको धरोहर

मुख्यमन्त्री पोखरेलले बर्दिया प्रकृति र संस्कृतिले भरिपूर्ण समुदाय रहेकोले प्रदेश-५ ले पर्यटकीय क्षेत्रको मुख्य क्षेत्रका रूपमा लिन सकिने बताएका छन्। बर्दिया जिल्ला थारू संस्कृतिको धरोहर रहेकाले कला संकृति र प्रकृति संरक्षित रहेको उनले बताए।

उनले प्रदेश-५ को पयर्टन कृषिलाई आधुनिकीकरण गरेर कृषिजन्य वस्तुको उत्पादनको वृद्धि गरेर जनताको जीवनयापन माथि उठाउनका लागि कार्यक्रमहरू संचालन गरिहेको बताए।

'जबसम्म बर्दियाका जनताको विकास हुँदैन, तबसम्म पर्यटन क्षेत्रको विकास हुन सक्ने भएकाले जनताको जीवनस्तर उठाउनको लागि योजना बनाएर काम गरिरहेको छौँ' उनले भने।

उनले नेपालको संवृद्धि पर्यटन र कृषिमा भएकाले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्ने, कृषि उत्पादनलाई बृद्धि गर्ने योजनाका साथ प्रदेश सरकार अघि बढेको बताउँदै अहिले सडक सञ्जाललाई पनि प्राथमिकतामा राखेको बताए।

सात वटै प्रदेश सरकारले प्रदेश राजधानीबाट भ्रमण वर्षको शुभारम्भ गरिरहेका बेला प्रदेश-५ सरकारले भने प्रदेशको प्रवेशद्वारमा रहेको बर्दिया जिल्लाबाट भ्रमण वर्षको शुभारम्भ गरेर बर्दियाको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने काम गरेको छ।

बर्दियाको विकासमा प्रदेशको ध्यान केन्द्रित

बर्दियाको विकासमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको मुख्यमन्त्री पोखरेलले बताए। बर्दिया राष्ट्रिय निुकञ्जलाई अन्तराष्ट्रिय पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने सोचका साथ अघि बढेको बताउँदै उनले बर्दियाका स्थानीयले यहाँको संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्न आग्रह गरे।

भेरी-बबई डाईभरसनका माध्यामबाट बर्दियाको जमीनलाई बाह्रै महिना सिँचित गरेर प्रदेशको हरित क्रान्तिका क्षेत्रका रूपमा विकास गर्ने प्रदेश सरकारले लक्ष्य लिएको उनले बताए।

अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त बर्दिया राष्ट्रिय निकुञ्ज अवस्थित जिल्ला भएकाले बर्दियालाई कृषि र पर्यटनसँग जोडेर सम्रग प्रदेशको विकास गर्न सकिने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.