|

काठमाडौं : वर्गीय पक्षधरताको वकालत गर्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले जातीय शैलीमा 'संगठनात्मक कार्यविधि' अघि बढाउने भएको छ।

पार्टीलाई जातीयकरण गर्ने दीर्घकालीन सोचाइसहित तयार पारिएको कार्यविधि केन्द्रले परिपत्रका रूपमा मातहत निकायमा पठाउन थालेको हो। केन्द्रीय कार्यालयको बैठकमा तीव्र विरोध भए पनि वर्षमान पुन नेतृत्वको कार्यदलले बनाएको 'संगठनात्मक कार्यविधि' लागू गर्न लागिएको छ।

उक्त परिपत्र संगठन विभाग प्रमुख रामबहादुर थापाले मातहत निकायमा पठाएका हुन्। केन्द्रीय कार्यालय बैठकको निर्णयका रूपमा थापाले पुस २७ गतेको मिति राखेर सांगठनिक निकायमा परिपत्र पठाइरहेका छन्।

पार्टीलाई सैद्धान्तिक धरातलबाट बाहिर निकालेर संयुक्त मोर्चाका रूपमा अगाडि सार्न खोजिएको, एनजीओकरण गराउन खोजेको, केही जनजाति नेताले पार्टी कब्जा गर्न दीर्घकालीन सोचाइका साथ कार्यविधि बनाएको भन्दै बैठकमा उक्त कार्यविधिको चर्को आलोचना भएको थियो।

स्रोतका अनुसार पुन नेतृत्वको कार्यदलले बनाएको कार्यविधि बैठकमा पेस भएपछि टोपबहादुर रायमाझी, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, नारायण शर्मालगायत नेताले पार्टीलाई सर्वहारावर्गको अग्रदस्ता बनाउन खोजेको हो कि संयुक्त मोर्चा बनाउन भन्ने प्रश्न राखेका थिए।

उनीहरूको प्रश्नको जबाफ नदिईकन कार्यविधिलाई परिपत्रका रूपमा वितरण गरिएको छ। 'हाम्रो सोचाइ पार्टीलाई समावेशी बनाउने हो तर कार्यविधिले पार्टीलाई एनजीओकरण र जातीयकरण गराउँदैछ', एक वरिष्ठ नेताले अन्नपूर्णसँग भने, 'क्षमता र दक्षताका आधारमा नभएर जनजाति भएका कारणबाट पार्टीको नेतृत्व कब्जा गर्ने नियतमा कार्यविधि आएको छ।'

जनसंख्याका आधारमा पार्टीको केन्द्रीय समितिमा आर्य खस ६१ वा ६२ जना, महिला सयजना, दलित २६ जना, मधेसी दलित नौजना, खस आर्य दलित १७ जना, मुस्लिम आठ वा नौजना, आदिवासी जनजाति ६० वा ६१, थारू १३ जना, मधेसी ३० जना, मधेसी दलितसहित मधेसी ३९ जना रहने गरी कार्यविधि बनाइएको छ।

'कथनी र करनी' फरक देखिएको कार्यविधि अध्ययन गरेका नेताहरू बताउँछन्। अधिकांश वरिष्ठ नेताले कार्यविधि पढ्न पनि पाएका छैनन्। कार्यविधिमा नेपालमा सामन्तवाद, साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्ति पूरा गरी समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य हासिल गर्न आधारभूत रूपमा पार्टीलाई सर्वहारावर्गको अग्रदस्ताको अवधारणामा आधारित राखिएको दाबी गरिएको छ। तर नेताहरू पार्टी अहिले सर्वहारा वर्गको अग्रस्ताका रूपमा रहेको स्वीकार्न तयार छैनन्।

- अन्नपूर्ण पोस्टबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.