भोटेकोशीमा र्‍याफ्टिङ, जुगल हिमाल र पाँचपोखरी दर्शन

|

विदुर आचार्य

सिन्धुपाल्चोक : राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको पर्यटकीयस्थल हो सिन्धुपाल्चोक। हिमाल, खोला, झरना, गुम्बा, मन्दिर, पदमार्ग र ऐतिहासिक क्षेत्र जिल्लाका पर्यटकीय क्षेत्र हुन्।  प्रदेश-३ को पनि पर्यटकीय सम्भावना बोकेको जिल्लाको रुपमा रहेको छ, सिन्धुपाल्चोक।

सकारले  भ्रमण वर्षको सुरुवात गरेसँगै जिल्लाका अनेकन पर्यटकीय सम्भावना बोकेको कतिपय ठाउँको चर्चा र प्रचारको जरुरत रहेको पर्यटन व्यवसायीहरुको धारणा छ।

भ्रमण वर्ष सफल रहने विश्वास

पर्यटन विकासमा प्रदेश-३  सरकारले पनि विशेष योजना बनाएको छ। भ्रमण वर्षलाई लक्षित गर्दै घोषणा गरिएको सय गन्तव्य स्थानहरुमध्ये कतिपय स्थान सिन्धुपाल्चोकका प्रसिद्ध स्थान रहेका छन्।

केन्द्र र प्रदेश सरकारले छनोट गरेको गन्तव्य स्थलहरु सँगै स्थानीय सरकारको पनि उत्तिकै चासो रहेको पाइन्छ।  सरकारले सिन्धुपाल्चोकका भोटेकोसी र सुनकोसी नदीमा र्‍याफ्टिङ र बन्जी जम्प,  गुम्वा र विहारले प्रसिद्ध हेलम्बु र पाँचपोखरी र प्रसिद्ध तातोपानी धारालाई नयाँ तथा विकास गर्नुपर्ने सूचीमा सूचीकृत गरेको हो। 

जुरे पहिरो र भूकम्पपछि बन्द रहेको नेपाल चीन बीचको तातोपानी नाका विस्तारै सञ्चालन हुनु र पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल रहने विश्वास नेपाल चीन सिमाना जोडिएको भोटेकोशी गाउँपालिकाकी उपप्रमुख दावुटी शेर्पाको छ। खस्केको पर्यटक आवागमनमा विस्तारै वृद्धि भएको शेर्पाको बुझाइ छ।

सरकारले सूचीकृत गरेको स्थान मात्रै नभएर सिन्धुपाल्चोकमा पर्यटकलाई तान्न सक्ने  अधिक रमणीय स्थानहरु छन्। पर्यटनका मुख्य क्षेत्र पहिचान गरी विकासको कार्यक्रम बनाएको ३ नम्बर प्रदेशका पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल बताउँछन्। पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारको योजना विशेष हुने मन्त्री नेपाल बताउँछन्।

पर्यटनको विकास गर्न दोलखा र सिन्धुपाल्चोकको सिमानामा हिल स्टेशन बनाउने, र यो क्षेत्रमा अधिक पूर्वाधार विकासमा लाग्ने उनले जानकारी दिए। मन्त्री नेपालले पर्यटन वर्षसँगै पर्यटन पूर्वाधार विकास कार्यक्रम घोषणा गरिसकेको समेत जानकारी दिए।

स्थानीय तहको प्राथमिकता

पर्यटनको माध्यमबाट आर्थिक स्रोतको वृद्धि गर्न र जिल्लाको पहिचान सर्वत्र गर्न सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहले प्राथमिकताको साथ अगाडि बढाएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ बताउँछन्। स्थानीय  तहहरुले आफ्नो क्षेत्रमा पर्यटकीय पूर्वाधारको विकास र निर्माण सुरु गरिसकेका प्रमुख तामाङको बुझाइ छ।

स्थानीय सरकारले नयाँ गन्तव्यको पहिचान र प्रचारको कामलाई तीव्र रुपमा अगाडि बढाएको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख अमानसिंह तामाङले बताए। गौराती भीमेश्वर, ओखरेनी, च्यो च्यो डाँडा, हर्लङवर्लङ र साँगाचोक गढी यहाँको मुख्य पर्यटकीय केन्द्र हुन्। प्रमुख तामाङले सहज यात्रा र अधिक मनोरञ्जनको लागि चौतारा साँगाचोकगढी घुम्न अनुरोध गरेका छन्।

नेपाल चीन जोड्ने मात्र नभई तातोपानी धारा, राणाकालीन युद्धको ऐतिहासिक दुगुनागढी,  र लिस्तीमाई मन्दिरले भोटेकोशीको पर्यटनलाई मजवुद बनाएको छ। योसँगै साहसिक खेल वञ्जीजम्पले विश्व पर्यटनको ध्यान खिचेको पर्यटन व्यवसायीहरुको बुझाइ छ।

गन्तव्‍यमा जुगल हिमाल

गत वर्ष मात्र आरोहण परीक्षण सफल भएको राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको हिमशृंखला जुगल हिमाल पनि जिल्लाको प्रमुख गन्तव्य क्षेत्रमा पर्दछ। आरोहणको पर्खाइमा बसेको जुगलमा पर्यटकीय पूर्वाधार निर्माण र विकासमा बृहत काम भइरहेको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन्। हिमाली क्षेत्रको स्वर्गीय अनुभूतिको लागि जुगल वेसक्याम्प, ने पेमासाल, डल्लेपोखरी र पदयात्रामा निस्कन पालिका प्रमुख श्रेष्ठको निम्तासमेत छ।  

मेलम्चीको चर्चा

बहुप्रतिक्षत मेलम्ची खानेपानीसँगै काठमाण्डौ जोडिएको मेलम्ची पर्यटकीय दृष्टिले उत्तिकै सम्‍भावनाको क्षेत्र हो। गत वर्ष देशैभरीका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागी भई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको पहिलो जलवायु सम्मेलनस्थल गुफाडाँडा यही नगरमा पर्छ। इलामको झल्को मेट्ने भोटेचौर चिया बगान, चमेरे गुफा, धौलेपोखरी र हिमालको दृश्यावलोकन मेलम्चीको पहिचान रहेको छ।

प्रसिद्ध हेलम्‍बु

हिमालको मनोरम दृष्य, वोद्ध धर्मको गुरु रेम्पोचेको तपोभूमि, मेलम्ची खानेपानीको मुहान, रेडपाण्डा, हिमचितुवालगायत विभिन्न हिमाली जनावर र चराचुरुङ्गी, स्याउ र वनस्पतिहरुको लागि हेलम्बु प्रख्यात नै छ। विभिन्न जातजातिको समिश्रण सिन्धुपाल्चोकको हेलम्बुमा ह्योल्मो जातिको उद्गमस्थल मानिने तार्केघ्याङ, गुरु रिन्पोछेको गुफा, चिरी गुम्बा, मेलम्ची घ्याङ, महादेव पाइला, आमायांग्री छन्।

तिब्बती महायोगी मिलारेपा र अति प्राचीन गुम्बामा हुने महत्त्वपूर्ण पूजामा आउने पर्यटक प्रशस्त छन्। यो राजधानी नजिकैको पुरानो ट्रेकिङ रुट पनि  हो।  पर्यटकीय गन्तव्यको रूपमा चिनिएको हेलम्बु गाउँपालिकाको अम्बाथान पनि पर्यटकीय रुपमा महत्वपूर्ण छ।

तातोपानी नाका

तातोपानी नाका अन्तरगत चाइना व्‍यापारको ट्रान्जित प्वाईन्ट, कफेश्वर महाँदेव, एसियाकै सवैभन्दा ठूलो ॐ पार्क, क्षेमादेवी मन्दिर वाह्रविसे नगरपालिकाको गहना हुन्। ४०६० मिटरको उचाइमा रहेको विश्वको नवौ स्थानमा पर्ने पाँचपोखरी, हवेली पनि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा पर्दछ।

सामुदायिक वनको उद्गमस्थल, सुनकोशी तथा भोटेकोशी र्‍याफ्टिङ, नागिचौर, सेल्ताप, कुवापानी, वलेफी दोभान,  लाङटाङ राष्ट्रिय निकुाज, भोटेकोसी, झ्याँडिखोला हाँडीखोला काङलाङको छहरा, तातोपानी झरना, भैरवकुण्ड, पातले गुफा, रानीपोखरी, पात्ले पानी, फुस्रे  ताम्चे वृक्षारोपणपछि तयार भएको अति सुन्दर जंगल, लट्टेश्वर महादेव चोकटी, पिस्करको बीचमा रहेको महभीर झरना, जलजले महभीर झरना, टेकानपुरको कालिका मन्दिर लिस्तीको लिस्तीमाई मन्दिर

दुतीको खाडादेवीमाई मन्दिर, तौथलीको त्रिपुरा सुन्दरीमाई गणेशस्थान भिमेश्वर नातेश्वर साथै प्यारछोवा बुढाबुढी तथा टकसीचा भ्यू प्वाइन्ट, नुवाकोटको सिमाना कुटुमसाङ नयाँपानी, खरिढुङ्गा, मुडे, नौलिङ्गेश्वरजस्ता अन्य प्रसिद्ध धार्मिक तथा प्राकृतिक रुपमा पर्यटकीय गन्तव्य फस्टाउँदै छन्।

नयाँ गन्तव्यको रुपमा सिन्धुपाल्चोकको तौथली हो।  पर्यटन प्रवर्द्धनको लागि गाउँपालिकाले पहल गरीरहेको त्रिपुरासुन्दरी गाउँपालिकका अध्यक्ष भुपेन्द्र श्रेष्ठ बताउँछन्।

दशैँको महानवमीमा विशेष किसिमको दही जात्रा लिङ्गो जात्रा तथा बलिपूजा गर्ने चलन  त्रिपुरासुन्दरी मन्दिरमा छ। विशेष गरी हिमाली क्षेत्रका वनजंगल र जंगलभित्र रहेका विभिन्न पशुपक्षी नजिकैबाट नियाल्न सकिने हिमश्रृंखला, खोलानाला, छहरा, गुफा  पर्यटकहरुका लागि उपयुक्त वातावरण छ।

रसुवाको लाङटाङ र सिन्धुपाल्चोकको प्राकृतिक, ऐतिहासिक तथा धार्मिकस्थलको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको प्रचुर सम्भावना छ। पदयात्राका लागि तेस्रो ठूलो गन्तव्यको रुपमा मानिने पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्र गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्यावलोकनका लागि चर्चित मानिन्छ।

ह्योल्मो  कला संस्कृति, निकुञ्ज क्षेत्रका जैविक विविधता, सिमसार क्षेत्रमा सूचीकृत गोसाइँकुण्ड पर्यटकका लागि प्रमुख आकर्षण बनेका छन्। धार्मिक, पर्यटकीय, ऐतिहासिकसँगै कला, साहित्य, भूगोल पनि पर्यटनका लागि सिन्धुपाल्चोक महत्वपूर्ण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.