|
फोटो : ध्रुबकुमार पाइजा, प्रदीप पाइजा

म्याग्दी : २०६८ सालमा नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरी आइसफल पदमार्ग आठ वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको रुईसे डाँडादेखि धवलागिरी आइसफलसम्मको पदमार्गको नक्साङ्कन र पूर्वाधार निर्माण हुन नसक्दा पदमार्ग सञ्चालनमा आउन नसकेको हो।

म्याग्दी हुँदै मुस्ताङ जोड्ने नयाँ बैकल्पिक पदमार्गको रुपमा हेरिएको रुइसे हुँदै आइसफलपदमार्गलाई रघुगंगा गाउँपालिकाले समेत पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेको छ।

नेपाल पर्यटन वर्ष २०२० चलिरहेको अवस्थामा पर्यटकहरुका लागि अत्यन्त रोमाञ्चक ठानिएको यो पदमार्ग संचालनमा नआउँदा म्याग्दी र मुस्ताङवासीले खल्लो महशुस गरेका छन्। स्थानीयहुँदै संघीय सरकारले समेत पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेपनि औपचारीक रुपमा यो पदमार्ग सञ्चालनमा आउन सकेको छैन्। यस पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुईसे, भेडिओढार क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बढेपनि त्यहाँदेखि अघिको आइसफल पदमार्गमा पर्यटक भित्रिन सकेका छैनन्। 

पदमार्गको सबै क्षेत्रमा पूर्वाधार निर्माण हुन नसकेको र नक्साङ्कन समेत तयार नभएकाले पदमार्ग सञ्चालनमा आउन नसकेको पदमार्ग व्यवस्थापन समितिका अध्यक्ष ध्रुवकुमार पाइजाले जानकारी दिए। ‘टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रिय च्याप्टर’ टान, तत्कालिन जिल्ला विकास समिति म्याग्दीको अगुवाईमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धौलागिरी आइसफल पदमार्गको अध्ययन गरिएको थियो। पदमार्गको सम्भाव्यता अध्ययन भएको दशक पुग्न लाग्दा समेत यस पदमार्गलाई सञ्चालनमा ल्याउन नसक्दा स्थानीय निराश बनेका म्याग्दीका पत्रकार कमल खत्रीले बताए। 

बजेट अभाव

पर्यटन मन्त्रालय, पर्यटन कार्यालय पोखरालगायतबाट विनियोजन भएको बजेटबाट भगवतीको रुइसेक्षेत्र, पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण भएको छ। 

उच्च हिमाली क्षेत्र र बस्तीदेखि टाढा रहेकाले जंगलमै बास बसेर पदमार्गलगायतका पूर्वाधार बनाउनुपर्ने बाध्यता रहको र प्रयाप्त बजेट विनियोजन नहुँदा पदमार्ग निर्माण कार्यले पूर्णता पाउन नसकेको स्थानीयको भनाइ छ। यस पदममार्ग हुँदै कुईनेमंगले र चिमखोलातर्फको भूभागमा पर्ने धौलागिरी हिमालको आधार शिविरमा पुग्नको लागि निर्माण गरिएको पदमार्ग गत वर्ष रघुगंगा नदीमा आएको बाढीले बगाएको छ।

यस वर्ष आइसफल पदमार्गमा पूर्वाधार बनाउन गाउँपालिका र संघीय सरकारबाट समेत विनियोजन भएको बजेटबाट पदमार्ग बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए। उनकाअनुसार, संघीय सरकारबाट प्राप्त २५ लाख बजेटबाट चिमखोला र कुईनेमंगले क्षेत्रमा र गाउँपालिकाबाट विनियोजन भएको १० लाख बजेटबाट रुइसे हुँदै मुटुकाटे क्षेत्रमा पदमार्ग निर्माण गर्ने तयारी गरिएको छ।

हिमाल र जंगली जनावर अवलोकन गर्न पाइने ठाउँ

धौलागिरी र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमालहरुलाई नजीकबाट अवलोकन गर्न सकिने यस पदमार्गमा डाँफे, मुनाल, कालिज, कस्तुरी, झारल, नाउर, घोरल, थार, रतुवा, हिमचितुवालगायतका जंगली पशुपंक्षी र तीनको बासस्थानलाई समेत प्रत्येक्ष अवलोकन गर्न पाउनु यस पदमार्गमा थप आकर्षणको रुपमा रहेका छन्। 
यस क्षेत्रलाई पर्यटकिय गन्तव्यको विकास गर्न सकेमा म्याग्दी र मुस्ताङको अर्थतन्त्रमा ठुलो फाइदा पुग्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ।

मुस्ताङ जाने पदयात्रीका लागि बैकल्पिक रुट

बेनी–जोमसोमरुटका प्रचलित पदमार्ग सडक विस्तारसँगै मासिएपछि यो रुट हुँदै मुस्ताङ पदयात्रा गर्ने पर्यटकहरुले रोमाञ्चक अनुभूति गर्न पाउने छन्। 
म्याग्दी र मुस्ताङलाई पदमार्ग बाटै जोड्नका लागि बैकल्पिक मार्गको रुपमा धौलागिरी आइसफल पदमार्गको पहिचान र अध्ययन गरिएको हो। 
यस पदमार्गले म्याग्दीको पिप्ले, भगवती, बेगखोला, चिमखोला, कुईनेमंगले, दोबालगायतको ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ।

पदयात्रीका लागि दुई विकल्प

आइसफलबाट मुस्ताङको लेते जाने र अर्कोतर्फ म्याग्दीको फेदी, छरी हुँदै चिमखोला भएर फर्कन सकिने दुई विकल्प समेत रहेको छ।  कुमारी पदमार्गको रुपमा रहेको यस पदमार्गलाई साहशी पदयात्राको लागि विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले जानकारी दिए। 

उनका अनुसार, पहिचान गरि अध्ययन गरिएको यस पदमार्ग अग्ला डाँडा र घना जंगल क्षेत्रमा पर्ने, बस्तीदेखि टाढा रहेको, सडक सञ्जालले कहिल्यैपनि नछुने भएकाले यसले पर्यटन विकासमा दिर्घकालिन सकरात्मक प्रभाब पार्ने सम्भावना रहेको छ।

चित्ताकर्षक तालहरु 

धौलागिरी आइसफल पदमार्गबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न पाउनु यहाँको प्रमुख बिशेषता रहेपनि यस पदमार्ग अन्र्तगत रहेका चित्ताकर्षक तालहरु पनि पर्यटकको थप आकर्षणको रुपमा रहेका छन्। 

यस पदमार्गले समेटीएको चिमखोला क्षेत्रमा पर्ने कालिबराह, लाटीबराह, निली बराह, सेती बराह र पहेँलीबराह ताल पर्यटकीय सम्भानायुक्त रहेका छन्। उच्च हिमाली भेगमा रहेका यी तालहरुको रंग समेत फरक–फरक रहेका छन्। यहाँ रहेका तालमा पुग्न चिमखोलाबाट दुई दिनको पदयात्रा गर्नुपर्छ। पदमार्ग अन्तर्गत सोवाङधुरी, लोस, गौराखर्क हुँदै लाटी बराह ताल पुग्न सकिन्छ भने चिमखोलाबाट छरी, फेदी हुँदै समेत यस तालमा पुग्न सकिन्छ।

 यस तालमा धौलागिरी र अन्नपूर्ण हिमालको छायाँ समेत देख्न सकिन्छ। पहाडको टुप्पोमा रहेको यस ताल र त्यहाँबाट देखि दृष्यले जो कसैको मन फुरुङ्ग हुने चिमखोलाका स्थानीय युवा प्रदिप पाईजाले बताए। ‘यात्राको थकान प्राकृतिक सुन्दरताले मेटाईदिन्छ, यहाँ आईपुगेपछि ताल, हिमाल र अनौठो हिमाली भुगोललाई छाडेर कसैलाई फर्कन मन लाग्दैन’उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.