|

बुटवल : कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा नवौं संस्करणको सूचना तथा सञ्चार प्रविधि मेला (क्यान इन्फोटेक) माघ १७ गतेदेखि बुटवलमा हुने भएको छ। बुटवलको गोलपार्कस्थित बुटवल बहुमुखी क्याम्पस प्राङ्गणमा हुने मेला २१ गतेसम्म चल्ने छ।

मेलामा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीका एक सय १० बढी स्टल रहने पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको छ। स्टलको बुकिङसमेत खुला भइसकेको छ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेली कम्युनिकेशनस, बैंक, आइसीटी कलेज, शैक्षिक परामर्श केन्द्र, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र विभिन्न नयाँ प्रविधिको प्रयोग गरेर स्थानीय विद्यार्थीले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित स्टल रहने क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतमले बताए। नेपाली सूचना प्रविधि क्षेत्रको विकासमा सहयोग पुर्‍याउने र सूचना प्रविधि क्षेत्रका व्यवसायीलाई व्यापारिक सम्भावनाको पहिचानका लागि मेला सहयोगी हुने अध्यक्ष गौतमले बताए।

पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले मेलाले अवलोकनकर्तालाई एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ आविस्कार र उपकरणको अवलोकन र खरिद गर्न पाउने तथा सरकारले ल्याएको डिजिटल नेपाल फ्रेमवर्क र नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्‍याउने दावी गरे।

अवलोकनका लागि सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ तोकिएको छ। आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टम रहके कुरा जनाएको छ। मोबाइलमा प्रभुपे एप्स डाउनलोड गरि टिक ‘जेनेरेट’  गर्न सकिने छ। मेलामा पत्रकार, अपाङ, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिक र बुटवल बहुमुखी क्याम्पसका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको महासंघका सहसचिव एवं प्रचार संयोजक सुरेश भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.