काठमाडौं : धेरै लाभ हुने व्यवसायका रुपमा हेरिने सुनचाँदी व्यवसायमा धेरै समस्या रहेका सरोकारवाला बताउँछन्। व्यवसायीहरुले राज्य पक्षबाटै प्राताडित हुनुपरेको गुनासो गरेका छन्।
शनिवार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको तेस्रो साधारण सभामा बोल्दै अध्यक्ष गणेशप्रसाद लकान्द्रीले व्यवसायीले बिनागल्ती झुटो मुद्दा खेप्नुपरेको बताए।
यसैगरी कच्चा पदार्थको अभाव, नेपाल राष्ट्र बैंकको सूचिमा सुनचाँदी व्यवसायीको नाम उल्लेख नहुने लगायतले अझै कष्ट खेप्नुपरेको उनले बताए।
'स्थापनाकालदेखि नै व्यवसायीहरुका समस्या र तिनको सहज समाधानका लागि क्रियाशील रहँदै आएको मञ्चले व्यवसायमा आवश्यक कच्चा पदार्थको सहज उपलब्धताको अभाव झेल्नु परेको छ', उनले भने।
सुनचाँदी गहना निर्माण गर्ने पेशा पुख्यौली पेशा भएकाले यसको पुस्तादर, पुस्ता हस्तान्तरण पनि महत्वपूर्ण पाटो भएको उनले बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो क्षेत्र तथा सरकारको तर्फबाट हुने कानुनी कुरा तथा आवश्यक वातावरण सुधार्न प्रतिवद्ध रहेको प्रष्ट पारे।
कार्यक्रममा मञ्चको आर्थिक वर्ष २०७५/०७६ को कार्य प्रगतिबारे जानकारी गराइयो। २०७३ साल जेठ २९ गते गणेशप्रसाद लकान्द्रीको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति गठन भएर यो संस्था क्रियाशील छ।
मञ्चले छोटो अवधिमा उल्लेखनीय काम गरेको बताइएको छ। समस्यामा पिल्सिँदै आएका व्यवसायीलाई आइपर्ने समस्याको मिलेर समाधान गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ।
व्यवसायीहरुको समस्यालाई संस्थागत र समाधान गर्ने उद्धेश्यसहित मञ्च अगाडि बढेको हो। २०७५ साल साउन २ गते नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट सदस्यता लिई व्यवसायिक हितमा मञ्च क्रियाशीलता बढाएको छ।
संस्थाले मञ्चमा सदस्यहरुको संख्या वृद्धि गर्ने उद्धेश्यसहित शाखा विस्तार कार्यलाई निरन्तरता दिँदै आइरहेको छ। पछिल्लो एक वर्षमा मञ्चमा नयाँ सदस्यहरुको संख्या झण्डै १ सय ५० पुगेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।