|

ललितपुर : लमजुङका शिक्षासेवी तिलकनाथ शर्मा अधिकारीको सम्झनामा स्मृतिग्रन्थ विमोचन गरिएको छ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा अग्रज पत्रकार भैरब रिसाललगायत विशिष्ठ अतिथिहरुले स्मृतिग्रन्थ विमोचन गरेका हुन्। स्मृतिग्रन्थमा शिक्षासेवी तिलकनाथबारे १२८ जनाका संस्मरणहरु समावेश गरिएको छ। 

स्मृतिग्रन्थ विमोचन कार्यक्रममा शान्ति माध्यमिक विद्यालय कुन्छा लमजुङका पूर्व प्रधानाध्यापक शुभनाथ मिश्रले तिलकनाथ शर्मा आफ्नो आदर्श भएको बताउँदै उनी विद्यालयको प्रधानाध्यापक वा शिक्षकमा सिमित नभएर हरेक विद्यार्थीको रेखदेख गर्ने अभिभावक पनि रहेको बताए।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा तिलकनाथका विद्यार्थी चन्द्रकान्त पौडेलले हरेक विद्यार्थीको घर र डेरामा पुगेर सुखदुःखको समेत ख्याल गर्ने र कहिल्यै खरो र रुखो व्यवहार नगर्ने शिक्षकका रुपमा स्मरण गरे।

यसैगरी अर्का विद्यार्थी तथा पूर्वमन्त्री अमरराज कैनीले एउटा शिक्षकको स्मृति ग्रन्थ निकालिनु आफैंमा गौरबको बिषय भएको बताउदै यसले अरु शिक्षकलाई पनि आदर्श शिक्षक बन्न प्रेरणा मिल्ने बताए। उनले तिलकनाथलाई सम्झदै भने, सरकारले दिने स्रोत पढ्ने पढाउने भावना र जाँगर कम भएको बेलामा विद्यालयका लागि सबै कुरा जुटाएर शिक्षाका लागि जति योगदान गर्नु भयो, त्यसले नै त्यो पिछडिएको लमजुङ आजको लमजुङ बनेको हो।  

कार्यक्रममा तिलकनाथका पूर्व विद्यार्थीहरु नन्दप्रसाद श्रेष्ठ, सूर्यकान्त पौडेल, सत्यनारायण खनाल, खेमराज शर्मा, बमबहादुर जिताली, छोरी सावित्री शर्मा र परिवारका सदस्य शशिकान्त अधिकारीले पनि तिलकनाथबारे धारणा राखेका थिए। 

वि.सं. १९८७ मा लमजुङमा जन्मेका तिलकनाथले २०१३ सालदेखि शिक्षण पेशामा लागेर ३६ बर्षमा जिल्लामा कुशल शिक्षासेवीका रुपमा आफूलाई स्थापित गर्न सफल भएका थिए। लमजुङको शैक्षिक विकासमा उल्लेख्य योगदान दिएका तिलकनाथको वि.सं. २०७० सालमा ८४ बर्षको उमेरमा निधन भएको थियो। 

उनले अवकास प्राप्त जीवनमा पनि लमजुङमा आफूले पहिले काम गरेका विद्यालय मात्र नभई अन्य विद्यालयको विकासमा समेत सक्रिय भएर काम गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.