|

  • रमेश पराजुली

सिन्धुपाल्चोक : जस्तापाताले बेरेर बनाएको सानो टहारा, बाहिरपट्टी बाख्रा बाँध्ने खोर, एकातिर खाना बनाउने चुलो, छेउमा लडिरहेको पुरानो मसलाको बट्टा अनि रंग नै परिवर्तन भइसकेको मैलो ओछ्यान, यही हो उनको संसार। 

उनी अर्थात सिन्धुपाल्चोक हगामा–५ की ६२ वर्षीया माइली तामाङ। उनको नाममा एक टुक्रा जग्गा पनि छैन, न त आम्दानीको अन्य कुनै स्रोत नै।

उनी आफ्नो श्रीमानकी माइली श्रीमती हुन्। पहिली श्रीमतीले एक छोरा र एक छोरीलाई जन्म दिएपछि अकालमै संसार छाडिन्। त्यसपछि बालबच्चाको हेरचाह गर्नभन्दै उनलाई भित्र्याइयो। उनको कोखबाट पनि एउटी छोरीले जन्म लिइन्। 

सौताका दुईसहित तीन बच्चाको हेरचाह गरिरहेकी माइलीको संसार तब डगमगायो, जब उनका श्रीमानले अर्की श्रीमती भित्र्याए। त्यो क्षणलाई उनी शब्दमा व्यक्त गर्नै सक्दिनन्।

श्रीमान मोजमस्तीमै लागे तर, माइलीलाई भने बालबच्चा हुर्काउने र पढाउने चिन्ता। बिहान बेलुका हातमुख जोर्नै मुस्किल हुने बेला कसरी पढाउनु बालबच्चा ? उनका दुःखका दिन थपिँदै गए।

‘अचानोको चोट खुकुरीलाई के थाहा ?’ गहभरी आँसु बनाउँदै उनी भन्छिन्, ‘त्यस्ता हजारौँ चोटले छियाछिया भएकी छु।’

दिन प्रतिदिन बच्चाहरु बढ्दै थिए। एक गेडो अन्न उब्जाउने जमिन पनि थिएन। ढुंगा बोकेर अनि अरुमाको ज्याला मजदुरी गरेर बालबच्चा हुर्काइन्। 
लागेको थियो, अब त दुःखका दिन गए। तर, दुःले उनलाई कहिलै छाडेन। सौताको छोरो विहे गरेर पैसा कमाउन भन्दै खाडी भासिएको छ, छोरी र बुहारी काठमाडौँमा बस्छन्। सोही कारण बुढेशकालमा पनि उनको दैनिकी उस्तै छ।

आफ्नै कोखबाट जन्मिएकी छोरीको आशा छ उनलाई। छोरीलाई गाउँकै विद्यालयमा जसोतसो १० कक्षासम्म पढाएकी छन्। ‘यसलाई पढाउन र हातमुख जोर्न ढाडमा उठेका ठेला कहाँ भुल्न सक्छु र,’ उनी भन्छिन्, ‘त्यसैले होला आशा लागेको ।’

आफ्नो नाममा जग्गा नहुँदा उनले भूकम्पपीडित राहत पनि पाएकी छैनन्। सरकारले दिएको पहिलो किस्ताको ५० हजार प्रायले लिइसके, तर माइलीको हातमा परेको छैन।

श्रीमानले फेरि अर्की भित्र्याएको खबर उनलाई आएको छ। मलिन अनुहारले फिस्स हाँस्दै माइली भन्छिन्, ‘अहिले फेरि अर्को भित्र्याएका छन् रे !’
तर, उनको दुःखका दिन कहिले जाने हुन्, कुनै पत्तो छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.