प्रहरी संघको मातहतमा हुँदा मुकदर्शक बन्यौँ

|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले तल्लो तहदेखि माथिसम्मको सेटिङमा क्रसर माफियाले दिलीप महतोको हत्या गरेको बताएका छन्।

जनकपुरमा 'जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य' विषयक अन्तरक्रियामा मुख्यमन्त्री राउत दिलीपको हत्या भएकोमा आक्रोशित हुँदै भने, ‘क्रसर माफियालाई कहाँबाट आयो यति धेरै पावर? क्रसर माफियाअगाडि राज्य नै निरीह बनेको छ। तल्लो तहदेखि माथिसम्मको सेटिङ छ।’

उनले प्रहरी प्रशासनकै मिलोमतोमा नदीखोला खोला उत्खनन र चुरे दोहन नरोकिएको पनि बताए। मुख्यमन्त्री राउतले हत्याको घटनालाई दुर्घटनामा परिणत गर्ने चलखेल आफूले रोकेको दावी पनि गरे।

‘दोहन रोक्न खोज्दा दिनदहाडै दिलीपको हत्या भयो। तर, दुर्घटनामा परिणत गर्ने प्रयास भयो। तर, त्यो प्रयास असफल पारिदिएँ' उनले भने,  'अहिले हत्यासम्बन्धी मुद्दा चलाएको छ।’ दुर्घटनामा बीमाले पाँच लाख रुपैयाँ दिने गरेकाले सो बराबरको रकम मन्त्रिपरिषद्को निर्णयबाट उपलब्ध गराएको उनको भनाइ छ।

चिसो मौषममा हिटर चलाएर तातो कोठामा सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोक्न नसकिने पनि बताए। उनले जलवायु परिवर्तन रोक्न फिल्डमै काम गर्नुपर्ने र कानून कार्यान्वयण गराउने ताकत हुनुपर्ने बताए। उनले आफ्नो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभागोष्ठीमा केलाउने प्रवृति अन्त हुनुपर्ने बताए।

उनले चुरे दोहन र वन विनास रोक्न राज्यले चासो नदेखाउने तर जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दूर्भाग्यपूर्ण रहेको धारणा राखे। ‘विज्ञलाई बोलाएर माम भाषणले पनि केहि हुँदैन। जलवायु परिवर्तन रोक्न विज्ञहरूले पनि यर्थात सल्लाह सरकारलाई दिनुपर्छ’ उनले भने, 'चुरे दोहन र खोला उत्खनन नरोकिए देश नै बाँच्न सक्दैन।'

‘दिनदहाडै बालुवा क्रसर माफियाले चुरे दोहन गर्छन्, वन विनास भइरहेको छ’, मुख्यमन्त्री राउतले भने, ‘रोक्ने प्रयास गर्नेको दिनदहाडै हत्या हुँदैछ। हामी मुकदर्शक भएका छौँ। किनकि संघीय सरकारको मातहतमा प्रहरी प्रशासन छ।’

उनले मधेसमै बाढीको वितण्डा, चिसोको कहर र उब्जाउ जग्गा खण्डहर बन्न लागेको भन्दै प्रकृतिमाथि भइरहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरिरहेको बताए। उनले प्रकृतिमाथिको दोहन नरोकिए ठूलो समस्या निम्तिने र मानव जातिको नै विनास हुने चेतावनीसमेत दिए। प्रकृतिको विनास रोक्न राज्यले चासो देखाउन र सेटिङ ध्वस्त पार्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.