|

इरानको अदालतले युक्रेनी यात्रुवाहक विमानमा मिसाइल हान्ने कार्यमा संलग्न सैन्य अधिकारीहरूलाई गिरफ्तार गरिएको जानकारी दिएको छ। सरकारका प्रवक्ता गुलामोसैन इस्माइलीले पनि  छानबीन सुरू भएको पुष्टि गरे।

तेहरानबाट युक्रेनका लागि उडेको यात्रुवाहक जहाजलाई अमेरिकी बमवर्षक ठानेर इरानी सेनाले मिसाइल प्रहार गर्दा १७६ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि इरानको अन्तराष्ट्रिय स्तरमै आलोचना भइरहेको छ। इरान सरकारले आफ्नै नागरिकको विश्वास समेत गुमाएको छ।

उक्त घटनामा मारिनेमा धेरैजसो इरानी र क्यानेडेली नागरिक थिए। इरानले सुरूमा उक्त घटनामा आफ्नो संलग्नता स्वीकार्न आनाकानी गरे पनि, घटनाको तीन दिनपछि 'झुक्किएर मिसाइल हानेको' वक्तव्य दिएको थियो। 

सुलेमानीको हत्याका कारण अमेरिकासँग रुष्ट बनेका इरानी नागरिकहरु घटनामा इरानकै हात रहेको पुष्टि हुनासाथ आफ्नै सरकारविरुद्ध खनिएका छन्। राजधानी तेहरानमा सरकारविरोधी प्रदर्शन जारी छ।

राष्ट्रपति हसन रौहानीले 'विशेष अदालत' ले उक्त छानबिनको नेतृत्व गर्ने जानकारी दिए। टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन रौहानीले सर्वोच्च न्यायालयले गठन गर्न लागेको' विशेष अदालतुमा उच्च तहका न्यायाधीशहरूलाई सामेल गराइने बताए। उनले भने, 'यो कुनै नियमित मुद्दा होइन। घटनाको प्रकृति बिल्कुल फरक छ। सिंगो विश्वले यस अदालतको प्रक्रियालाई नियालिरहेको हुनेछ।'

उनले 'त्यस दुखद् घटना' का लागि व्यक्ति विशेषलाई दोष लगाउन नमिल्ने पनि बताए। 'कोही एकजनाले मात्र ट्रिगर दबायो भन्ने हुँदैन। यसका लागि धेरैजना जिम्मेवार छन्', उनले भने। 'इरानी सेनाले आफ्ना तर्फबाट गल्ती भएको स्वीकार्‍यो। यो पहिलो कदम हो' रोहानीले भने, 'हामी, हाम्रा जनतालाई यस्ता घटना पुन: नदोहोरिने विश्वास दिलाउन चाहन्छौं।'

'सुरूमा किन झुटो बोल्नुभयो?' भनी सोधिएको प्रश्नमा सरकारका प्रवक्ता इस्माइलीलले 'शुक्रबार अबेरसम्म आफूलाई घटनाको वास्तविकता थाहा नभएको' दाबी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.