भारत जान पनि अब अनुमति लिनु पर्ने

|

काठमाडौं : वैदेशिक रोजगारीमा ज्यान गुमाउने परिवारको लागि दिइने रकम सरकारले वृद्धि गरेको छ। म्यादी जीवन बिमा मार्फत दिइने रकम र कल्याणकारी कोष मार्फत दिइने रकम सरकारले बढाएको हो। 

माघ १५ गतेदेखि कार्यान्वयन हुने गरी सरकारले ल्याएको नयाँ व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले २० लाख रुपैयाँसम्म जीवन बिमा पाउने भएका छन्।

मंगलबार परराष्ट्र मन्त्री र श्रम तथा रोजगार मन्त्रीलाई साथमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमा वृद्धिको घोषणा गरेका हुन्। नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि भएसँगै जोखिम समेत बढेको अवस्था जीवन बिमा लगायतका सुविधा बढाइएको हो' पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने।

कामदारको स्वास्थ्य बिमातर्फ सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बिमा, आयको नोक्सानी लगायतका सुविधाहरुका अतिरिक्त मिर्गौला फेल, क्यान्सर जस्ता विभिन्न १५ प्रकारका घातक रोग बापत थप ५ लाख बिमाङ्क बराबरको बिमा हुने व्यवस्था सरकारले गरेको छ। यो व्यवस्था पछि कामदारले सम्बन्धित बिमा कम्पनीबाट २० लाखसम्म बिमा रकम पाउन सक्नेछन्। जस अनुसार जीवन बिमा बापत १० लाख, बिमितको आयको नोक्सानी बापत २ लाख, किरिया खर्च बापत १ लाख, औषधी उपचार खर्च बापत १ लाखसम्म, शव ल्याउने खर्च बापत १ लाख, घातक रोग बापत ५ लाख रकम प्राप्त हुने छ। यस अघि १५ लाख रुपैयाँसम्मको जीवन बिमाको व्यवस्था गरिएको थियो।

नयाँ  सुविधा अनुसार तीन महिनाभित्र मानसिक रोगलाई समेत घातक रोगको सूचीभित्र समावेश गरी क्षतिपूर्ति दिलाउने प्रतिवद्धता प्रधानमन्त्री प्रचण्डले जनाए। यसका लागि गृहकार्य गर्न प्रधानमन्त्रीले बिमा समितिलाई निर्देशन दिएका छन्।

त्यस्तै  वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम बापत वैदेशिक रोजगारीमा जाँदा मृत्यु हुनेका परिवारलाई दिइने रकम पनि बढाउने तयारी सरकारले गरेको छ। अहिले दिइँदै आएको रकममा थप ४ लाख वृद्धि गरी ७ लाख पुर्‍याउन लागिएको प्रधानमन्त्री प्रचण्डले बताए। यसका लागि  वैदेशिक रोजगार नियमावली २०६४ संशोधनको प्रक्रियामा रहेको प्रधानमन्त्रीले जानकारी दिए।

नियमावली संशोधनसँगै रोजगारीको क्रममा जीवन गुमाउने वा दुर्घटनामा परी उपचार गर्न नेपाली कामदारलाई दिइने आर्थिक सहायतामा ७ लाख पुग्दा वैदेशिक रोजगारीमा जानेका परिवारले वैदेशिक रोजगारीको क्रममा मृत्यू भएमा २७ लाख रुपैयाँ पाउने भएका छन्।

त्यस्तै घातक रोग लागेको तर मृत्यु नभएको,  शारीरिक रुपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा किरिया खर्च र शव ल्याउने खर्च बाहेक बिमाबाट १३ लाखसम्म, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट ३ लाख र घातक रोगबापत ५ लाख गरी कूल १८ लाखसम्म दिने व्यवस्था समेत सरकारले गरेको छ।

भारत जानेले पनि उपयोग गर्न पाउने

सरकारले कामको खोजीमा भारत जाने नेपाली कामदारलाई पनि म्यादी जीवन बिमा गराउने भएको छ। जस अनुसार तेस्रो मुलुकमा जाने कामदार सरह भारत जाने कामदारलाई पनि घातक रोगबापत ५ लाख रुपैयाँ उपलब्ध गराउने छ।

आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको यो कार्यक्रमको लागि भारत जाने नेपाली कामदारले समेत वैदेशिक रोजगारीको अनुमति लिनु पर्ने व्यवस्था सरकारले गर्न लागेको छ।

सरकारले गरेको व्यवस्था अनुसार भारत जाने नागरिकलाई १४ लाख राहत क्षतिपूर्तिको व्यवस्था हुनेछ। जस अनुसार घातक रोग बापत ५ लाख, जीवन बिमा बापत ७ लाख ५० हजार र बोर्डबाट अधिकतम् १ लाख ५० हजार रुपैयाँ प्रदान हुने छ।

भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशाशन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने अनुमति पत्र अनिवार्य रुपमा बनाउनु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.