समाज

कोसीटप्पु आरक्षमा ६५ प्रतिशत चरा घटे

फोटो सौजन्य : सञ्‍जीव आचार्य
माघ ४, २०७६

    सुनसरी : कुनै बेला सगरमाथाभन्दा माथिबाट उडेर आउने (बार हेडेड गुज) खोयाहाँस पूर्वी भागको मुख्य बास बस्ने ठाउँ कोसीटप्पु हुने गर्थ्यो। सयौंको झुण्डमा देखिने खोयाहाँस आजकाल कोसीटप्पुमा निकै कम देखिन्छन्। 

    चाँदीजस्तो सेतो तर फुस्रो रङको हुने खोयाहाँसको आकार घरपालुवा राजहाँस जत्रै हुन्छ। टाउको तथा घाँटीको एक तिहाइ भाग सेतो, टाउकोमा दुई वटा कालो धर्सा र आँखा कालो भएको यस प्रजातिको पंक्षीको संख्या कोसीमा बर्सेनि घट्दै गएको छ।

    सन् २०१९ मा भएको चरा गणनामा १२ सयको हाराहारीमा देखिएको खोयाहाँस यस वर्ष भने ५२ वटा मात्र देखिए। सगरमाथामाथिबाट आउने खोयाहाँस मात्र होइन प्रेमिल जोडीको रूपमा चिनिने रडी सेल्डक अर्थात् चखेवाको संख्या पनि घट्दो छ। 

    गतवर्ष कोसी टप्पु वन्यजन्तु आरक्षभित्र मात्र २३ सय २१ को संख्यामा देखिएको चखेवा यस वर्ष पूर्वी क्षेत्रमा १ हजार ४४१ वटा मात्र देखिए। दुर्लभ चरा पनि सहजै देखिने कोसीटप्पु मा पछिल्लो समय सहजै देखिने चराको संख्यामा भारी गिरावट देखिन्छ।

    २५ पुसदेखि सुरु भएको पाँच दिने पंक्षी गणनामा कोसीमा जल पंक्षीको संख्या घट्दो पाइएको हो। बराहक्षेत्रस्थित कोसी नदीको पुलबाट सुरु भएको गणनामा गएका वर्षहरूमा जस्तो ठूलो समूहमा चरा बसेका देखिएनन्।

    ‘सयौँको संख्यामा देखिने पानीहाँस अहिले साना-साना झुण्डमा मात्र देखिए’, चरा गणनाका संयोजक तथा हिमाली प्रकृतिका पंक्षी अध्येता सञ्जीव आचार्यले भने, ‘ठूलो संख्यामा चरा देखिने आरक्षको भित्री इलाकामा चराको संख्या गत वर्षभन्दा ६५ प्रतिशतले घटेको छ।’

    संरक्षित आरक्षमै छैन चरा

    संरक्षित क्षेत्र अर्थात् कोसीटप्पु वन्यजन्तु आरक्षभित्रै पानी चराको संख्या निकै कम देखिएको छ। संरक्षित क्षेत्रमा राज्यले ठूलो लगानी गरे पनि आरक्षको ’कोर’ क्षेत्रमै यस पटक चराको संख्यामा ६५ प्रतिशतले गिरावट आएको हो। पछिल्लो २०१९ को गणनामा ५० प्रजातिका ६ हजार ९५९ को संख्यामा आरक्षभित्रका सिमसार क्षेत्रहरूमा पानी चरा देखिएको थिए। यो पटक भने ४० प्रजातिका २ हजार ४४४ वटा मात्र पानी चरा आरक्षभित्र देखिएका हुन्।

    १७५ वर्ग किलोमिटरको आरक्षको क्षेत्रफलमध्ये मुख्य ६० वर्ग किमी चराको वासस्थान हो। चीन, मंगोलिया, तिब्बत, साइबेरिया र उत्तरी क्षेत्रदेखि जाडो छल्न आउने पानी चराहरू गर्मीमा भने फर्किन्छन्। तर आरक्षमा भैँसी गोठाला र मछुवाराहरूको अतिक्रमणबाट चराको संख्या घट्न थाले पनि आरक्ष प्रशासन मौन छ।

    कोसीको भँगालो बीचमा बनेको आरक्ष प्राविधिक कर्मचारी र नेपाली सेनाको सुरक्षामा हुन्छ। आरक्षबाट नै स्वीकृति लिएर माछा मार्न छिर्नेले समेत बिष प्रयोग गरेर चरा समेत मार्ने गरेको कोसी पंक्षी समाजका अध्यक्ष अनिस तिम्सिनाले बताए।

    कोसीमा आउने जल चरामध्ये अधिकांश अन्न मात्रै खान आउने चरा नदीको आसपासका खेतमा अन्न खान पाइए मात्रै आउँछन्। तर पछिल्लो समय खेतीयोग्य जमिनको प्लटिङले पनि चराको आहारा कम हुन थालेकाले संख्याको आधारमा कोसी टप्पुमा चराको संख्या कम हुँदै गएको छ।

    कोसी टप्पुमा गणना थालिएको ३० वर्षमा चराको संख्या भने बर्सेनि घटिरहेको छ। ३० वर्षदेखि पुस महिनामा कोसी टप्पुमा चरा गणना हुँदै आएको छ।चराविद्हरूका अनुसार साइबेरियादेखि उडेर आउने चराको वासस्थानमा मानव अतिक्रमण बढेकाले कोसीमा चराको संख्या घट्दै गएको छ।

    बर्जु ताल, चराको नयाँ वासस्थान

    राज्यले ठूलो लगानी गरेको कोसीटप्पुभन्दा सुनसरीमै रहेको बर्जु ताल क्षेत्र जलचराको पछिल्लो वासस्थानको रूपमा देखिँदै गएको छ। पुस अन्तिममा सक्किएको जलपंक्षी गणनामा कोसीटप्पु वन्यजन्तु आरक्षभित्र भन्दा बर्जुताल क्षेत्रमा चराको संख्या बढी देखिएको हो।

    चरा गणनाको क्रममा ६१ प्रजातिका १६ हजार १२ चरा देखिएका थिए। तीमध्ये बर्जु तालमा मात्रै ३६  प्रजातिका ९ हजारभन्दा बढी संख्यामा जलपंक्षी थिए। जसमा १७ प्रजातिका हाँस थिए। कोसीको ठूलो सिमसार क्षेत्र छाडेर चराहरू बर्जुमा आउने गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ। चिसो छल्न जनवरीदेखि नेपाल आएका चरा दुई महिनापछि फर्किन्छन्।

    चरा अध्येता आचार्यका अनुसार नेपालको सन्दर्भमा चराका लागि दोस्रो महत्त्वपूर्ण ताल बर्जु देखिन थालेको छ। नेपालको पहिलो चराको लागि महत्त्वपूर्ण ताल कपिलवस्तुको जगदीसपुरलाई चिनिन्छ। ‘कोसी टप्पुका कतिपय चरा बर्जुमा सरेका छन्,’ गणना टोलीका संयोजक आचार्यले भने, ‘ठूलो जलाशय भएको ठाउँ बर्जु ताल भएकाले गर्दा चराको मुख्य आकर्षणको केन्द्र बन्न थालेको छ।’

    गतवर्ष सिलसिले यसपटक तिलहरी चरा र मण्डारिन हाँस

    २०१९ को गणनाको  ३१ वर्षपछि जलपंक्षी ठूलो सिलसिले हाँस फेला परेको थियो। गणना गर्ने क्रममा ३१ वर्षपछि सुनसरीको बर्जु तालमा ठूलो सिलसिले हाँस फेला परेको थियो। गत वर्षको गणनामा ठूलो सिलसिले हाँस देखिएर गणकमा आएको खुसी यो पटक भने तिलहरी चरा र मण्डारिन हाँसले ल्याएको छ।

    फुस्रो खरानी रङको तिलहरी चरा अर्थात् आइबिसबिल यो पटकको आकर्षण रह्यो। घाँटीमा महिलाले तिलहरी लगाएझैँ कालो रङले घेरिएको यो चरा रातो लामो चुच्चो र रातै खुट्टाले अरूभन्दा फरक देखिन्छ। त्यसैले पनि यसको नाम तिलहरी चरा भन्ने गरिन्छ।

    सन् २००९ मा कोशीमा भेटिएको तिलहरी १० वर्ष पछाडि पुन कोशीमा देखिएको हो।

    कोशीमा भेटिएको तिलहरी चरासहित बर्जु तालमा मण्डारिन हाँस समेत गणनाको क्रममा भेटिएको थियो। सन् १९९० मा नेपालमा पहिलो पटक मण्डारिन हाँस रेकर्ड भएको थियो, बर्जु तालमा यो पहिलो पटक रेकर्ड भएको हो।

कृष्ण बहाब भट्टराई

भट्टराई थाहाखबरका सुनसरी संवाददाता हुन् । इमेल : bahab9817@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]