|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ब्याण्डबाजा बजाएर खेद्‍ने मधेसकेन्द्रित दलका नेताहरुको चेतावनीकाबीच एमाले मधेस ओर्लिने भएको छ। यसक्रममा पाँच लाखभन्दा बढी जनतालाई सडकमा उतार्ने लक्ष्यसहित एमालेले मधेसकेन्द्रित अभियान सुरु गर्न लागेको छ।

मेचीदेखि महाकालीसम्म तराई-मधेसको भू-भागमा चल्ने यस अभियानको रणनीति बनाउने जिम्मा सचिवालयले पाएको छ। आगामी निर्वाचनमा एमालेलाई बहुमतसहितको पहिलो पार्टी बनाउने उद्देश्यसमेत रहेको यस अभियानलाई सफल एमालेका २० जनवर्गीय संगठन कम्मर कसेर लागेका छन्।

संविधान संशोधनको विरोधका कारण मधेसमा एमालेको आलोचना हुने गरेको बताइन्छ। यसबीचमा गरिएको परिक्षणसभाबाट राम्रै प्रभाव परेको बुझेका नेताहरु मधेसकेन्द्रित अभियान सुरु गर्न हौसिएका छन्। प्रदेश नम्बर २ अन्तर्गत पर्ने सप्तरीमा आयोजना गरिएको बन्द प्रशिक्षणमा मधेशी समुदायको बाक्लो उपस्थिति थियो। त्यसलगत्तै एमालेले परिक्षणका रुपमा सुनसरीमा आमसभा आयोजना गर्‍यो। त्यसमा देखिएको उत्साहजनक सहभागिताले एमाले नेताहरुको मनोबल बढाएको हो।

यसले एमालेलाई मधेस छिर्न समस्या छैन भन्ने प्रमाणित भएको नेताहरुको बुझाई छ। 'एमाले अहिले मधेस अभियानको तयारीमा छ। केही समयअघि मात्रै हामीले तराइमा सभा सम्पन्‍न गरिसकेका छौँ,' एमाले सचिव योगेश भट्टराई भन्छन्, 'अभियानको प्रारम्भिक चरणको तयारी अहिले भइरहेको छ। फागुन २१ गतेबाट अभियान सुरु हुन्छ।'

यो अभियान सोचेअनुसार नै सफल हुने उनको विश्वास छ। 'मधेसमामात्र होइन नेपालका जुनसुकै भू-भागमा कार्यक्रम गर्न एमालेलाई कुनै समस्या छैन,' उनी भन्छन्, 'मधेसकेन्द्रित अभियानलाई पनि हामी सफलतापूर्वक सम्पन्न गर्छौँ।'

अभियानलाई दुई चरणमा गरेर सम्पन्न गर्ने एमालेको तयारी छ। पहिलो चरणमा मेचीदेखि महाकालीसम्मको पूर्वपश्चिम महेन्द्र राजमार्गमा अभियान सञ्चालन हुनेछ। त्यसपछि हुलाकी मार्ग भएर 'शक्ति प्रदर्शन' गर्ने एमाले तयारी छ।

संविधान कार्यान्वयनका लागि जनदबाव सिर्जना गर्ने, सामाजिक सद्‍भाव र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने र संगठन विस्तार गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको अभियान तराई-मधेसबाट हुलाकी मार्ग हुँदै मध्यपहाडी लोकमार्गसम्म पुग्ने एमाले सचिव प्रदिप ज्ञवाली बताउँछन्।

'प्रदेशको बैठकले आ-आफ्नो क्षेत्रमा पर्ने सभाहरुको तयारी गर्नेछन्। त्यसमा केन्द्रबाट कुन नेता कसरी जाने भन्‍ने सचिवालयले तय गर्नेछ,' ज्ञवालीले भने, 'केन्द्रबाट गर्नुपर्ने तयारीहरु अहिले तीव्र बनाइएको छ।'

अभियान रिले नियममा

पहिलो चरणको अभियान सञ्चालन गर्दा रिले नियमअनुसार प्रदर्शन गरिने एमालेले जनाएको छ। झापा जिल्लाले मोरङलाई र मोरङले सुनसरीलाई सहयोग गर्नेछन्। यस्तैगरी अघि बढ्ने अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ। प्रदर्शनको नेतृत्व अध्यक्ष केपीशर्मा ओलीसहितका शीर्ष नेताहरुले गर्नेछन्।

दोस्रो चरणको शक्ति प्रदर्शन हुलाकी राजमार्गमा केन्द्रित हुनेछ। यस अभियानमा पनि पहिलो चरणकै अभ्यासअनुसार शक्ति प्रदर्शन गरिनेछ। यसले मधेसमा एमाले सकियो भन्नेहरुलाई गतिलो जवाफ दिने उसको विश्वास छ।

मोर्चा र जनवर्गीय संगठन देशभर परिचालित

फागुन २१ गतेबाट सुरु हुने मेची-महाकाली राष्ट्रिय अभियान सफल पार्न एमाले मोर्चा विभागले मोर्चा र जनवर्गीय संगठनबीचमा जिम्मेवारी बाँडफाँडसमेत गरिसकेको छ। जसअनुसार झापामा अनेरास्ववियु, मोरङ र सुनसरीमा जिफण्ट, सप्तरीमा पेशागत महासंघ नेपाल, सिराहामा भूमिहीन सुकुम्बासी संगठन, धनुषामा लोकतान्त्रिक मधेसी संगठन, सर्लाहीमा अनेमसंघ, रौतहटमा बुद्धिजीवी परिषद्, बारा र पर्सामा खेलकुद महासंघ तथा मकवानपुरमा उद्योग व्यवसायी महासंघ परिचालित हुनेछन्।

यसैगरी चितवनमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नवलपुरमा जनसाँस्कृतिक  महासंघ, परासी र रूपन्देहीमा युवासंघ नेपाल, कपिलबस्तुमा मुस्लिम इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संगठन, दाङमा प्रेस चौतारी नेपाल, बाँके र बर्दियामा  किसान महासंघ, भुपु सैनिक तथा प्रहरी संगठन, कैलालीमा मुक्ति समाज नेपाल, कञ्चनपुरमा पीपीएलए र सुर्खेतमा मानवअधिकार एलाइन्स परिचालित हुने एमालेले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.