|

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई ८,८४८ मिटर रहेको प्रमाणित तथ्याङ्क छ। हामीले पढ्दै, सुन्दै आएको यही हो। तर, अहिले आएर भारतले पुन: यसको उचाई नाप्ने इच्छा देखाएको सार्वजनिक भएको छ।

संसारमा यस्ता धेरै पर्वतमाला तथा हिमश्रृङ्खला छन्, जसको उचाई आधुनिक मापनमा पहिलेकोभन्दा फरक देखिएको छ। अहिले जिपीएस सिस्टमबाट उचाई नाप्ने गरिएको छ। पहिले यस्तो प्रविधि थिएन। जिपीएस सिस्टम प्रयोग गरी गरिएको मापनबाट आएको नतिजा वास्तविक हुने मानिन्छ।

कसरी नापिन्छ उचाई ?

हालै ब्रिटेनको सबैभन्दा अग्लो हिमाल 'बेन नेभिस'को उचाई नापियो। जसमा पहिलेको भन्दा एक मिटर फरक नतिजा आयो। १९४९ मा नाप्दा यसको उचाई १,३४४ मिटर थियो। अहिलेको मापनले १,३४४.५२७ मिटर रहेको देखायो। जसलाई शून्यान्त गरी १३४५ मिटर मानियो।

यस हिमालको उचाई नाप्न ब्रिटिश अनुसन्धानकर्ता मार्क ग्रीव्सले स्याटेलाइट तथा जिपीएस सिस्टमको प्रयोग गरे। मापनका लागि बेन नेभिसको चुचुरोमा जिपीएस ट्रयाकर राखियो। यसको सिधा सम्पर्क अन्तरिक्षमा चक्कर लगाइरहेको 'नेभिगेशन स्याटेलाइट'सँग थियो। जसले अलग-अलग कोणबाट नाप्ने काम गर्‍यो।

करिब २ घण्टा लगाएर गरिएको यस मापनमा १२ वटा स्याटेलाइट प्रयोग गरिएको थियो। यसक्रममा स्याटेलाइटबाट करिब ५ लाखबाइट्स डेटा पृथ्वीमा रहेको स्याटेलाइट कन्ट्रोल सिस्टममा पठाइएको थियो। २० हजार किलोमिटर दूरीबाट सिग्नल पठाउन सक्ने स्याटेलाइटले यसको हरेक कोणलाई निकै गम्भीरतापूर्वक नाप्यो, ताकि वास्तविक उचाइ पत्ता लागोस्।

स्याटेलाइबाट प्राप्त सिग्नलबाट थ्रीडी मोडल बनाइयो। यसैबाट बेन नेभिसको वास्तविक उचाई पत्ता लागेको हो।

हवाईजहाजबाट पनि नापिन्छ उचाई

संसारमा यस्ता धेरै हिमश्रृङ्खला तथा पहाडहरु छन्, जसको वास्तविक उचाई कसैलाई थाहा छैन। ब्रिटेनमा नै कैयन यस्ता पहाड छन्, जसको उचाई हवाईजहाजबाट नापिएको छ। हवाईजहाजबाट पहाडको उचाइ नाप्ने विधिलाई 'फोटोग्रामेट्री' भनिन्छ।

यसमा जहाजबाट लिइएको तस्बिरलाई थ्रीडी मोडल बनाइन्छ। जसको मद्दतले उचाइ नापिन्छ। यद्यपी यसरी गरिएको मापनको आँकडा जिपीएस सिस्टमबाट प्राप्तजस्तो वास्तविक भने हुँदैन।

कतै असफलता पनि ...

गत सेप्टेम्बरमा म्यानमारको काकुबोराजीको मापनका क्रममा यति धेरै समस्या आए कि जसले मिसन नै असफल बन्न पुग्यो। मापनका लागि खटिएका अनुसन्धानकर्ताहरु बीचमै काम रोकेर फर्किए।

यस्तै दक्षिण अमेरिकाको एण्डिज श्रृङ्खलाअन्तर्गतका पहाडहरुको वास्तविक नाप अझै लिन सकिएको छैन। उदाहरणका लागि सेरो पाराडोन्स। यसको उचाई ४ हजार ९ सयदेखि ५ हजार मिटरको बीचमा रहेको बताइन्छ। मतलब यसको वास्तविक उचाई कसैलाई थाहा छैन।

एसियामै पर्ने उलुघ मुटाग हिमाल। १९८५ मा गरिएको मापनमा यसको उचाई ७ हजार ७ सय २३ मिटर रहेको पाइएको थियो। तर, हालै चीन र अमेरिकाले संयुक्तरुपमा मापन गर्दा जम्मा ६ हजार ९ सय ७३ मिटर पाइयो।

यसैगरी काङ्ग ग्रीको उचाईमा पनि विवाद छ। तिब्बतमा अवस्थित यस शिखरमा आजसम्म कोही चढेको छैन। दस्तावेजहरुमा यसको उचाइ ७ हजार २ सय मिटरको हाराहारीमा रहेको उल्लेख छ।

यहाँसम्म कि संसारकै सर्वोच्च शिखर सगरमाथाको उचाईका विषयमा पनि विवाद छ। नेपालले सगरमाथामा जमेको हिउँलाई पनि नाप्नु पर्ने बताउँदै आएको छ, जबकी चीनले ८,८४८ भन्दा पनि ४ मिटर कम उचाई रहेको मान्छ।

यस्ता अग्ला हिमाल तथा पहाडहरुको उचाई नाप्नु निकै जोखिमयुक्त काम हो।

- बीबीसी हिन्दीको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.