|

काठमाडौं : कामपाले सडक फुटपाथको फोहोर हटाउने प्रतिबद्धता जनाए पनि काम नगरेको पाइएको छ। लाजिम्पाट सडक आसपासका फुटपाथ सडकमा साँझ नपर्दै फोहोर थुप्रिने गरेको भेटिएपछि थाहाखबरले पहिलोपटक समाचार प्रकाशित गरेको थियो।

महानगर–३ का वडा अध्यक्ष दीपक केसीले एकसाताभित्र साँझमा फुटपाथमा फोहोर नरहने प्रतिबद्बता व्यक्त गरेका थिए। तर, अझैसम्म पनि त्यस क्षेत्रमा साँझ नपर्दै फुटपाथमा फोहोर थुप्रिने गरेको छ। साँझ नपर्दै राष्ट्रपति कार्यालय आसपासमा फुटपाथ ढाकिने गरी फोहोर फालिएको हुन्छ।

सडक फुटपाथमा फालिएको फोहोरका कारण हिँड्न असहज हुने गरेको पैदल यात्रीहरूको भनाइ छ। न्युज २४ टिभीको कार्यालयअगाडि राखेको फोहोरले बाटोमा हिँड्न अप्ठयारो भएको पैदलयात्री  श्याम सिंहले बताए। उनले भने,'सधैं यहाँ ७ बजेदेखि सडक फुटपाथमा फोहोर फालिएको हुन्छ जसले गर्दा पैदल हिँड्नेहरूलाई असुविधा हुने गरेको छ।' फुटपाथ हिँडनको लागि भए पनि साँझ नपर्दै फोहोरले फुटपाथ कब्जा गर्ने गरेको उनी बताउँछन्।

होटल र स्थानीयले फोहोर फाल्ने गरेको स्थानीय व्यापारी बताउँछन्। महानगरपालिकाले फोहोर राख्‍नका लागि कन्टेर राख्‍नुपर्ने उनीहरूको भनाइ छ।

पहिचान गरेर कारबाही गर्छौं : वडा अध्यक्ष केसी

सडक फुटपाथमा फोहोर फाल्‍नेहरूलाई पहिचान गरेर कारबाही गरिने वडा अध्यक्ष केसीले बताए।

फोहोर फाल्‍न नरोकिएको सन्दर्भमा थाहा खबरको जिज्ञाशामा अध्यक्ष केसीले त्यस क्षेत्रका नागरिकलाई निर्देशन दिइसकिएको र अटेर गर्नेलाई कारबही गरिने उनले बताए। यस क्षेत्रको फोहोर व्यवस्थापनका लागि आफूहरू दीर्घकालीन समाधानको खोजीमा रहेको पनि उनले सुनाए।

'दीर्घकालीन समाधानको लागि त्यस ठाउँमा कन्टेनर राख्ने योजनामा छौँ, 'उनले भने,' तर, महानगरको प्राविधिक कारणले कन्टेनर राख्‍न सकिएको छैन।' यस विषयमा कुरा गर्न महानगरपालिकाका वातावरण व्यवस्था विभागसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.