सुरक्षाको प्रत्याभूति गराउँछौँ : गृहमन्त्री

|

काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ।

महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार गृहमन्त्री थापासमक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेको उनले बताए।

जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरूका उपकरणलाई सुरक्षाको पूर्ण-प्रत्याभूति दिइने आश्वासन दिएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईंले जानकारी दिए। मन्त्री थापाले अज्ञात समूहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्णनियन्त्रण गरिने बताए। साथै उनले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिएको प्रवक्ता चौलागाईंले उल्लेख गरे।

प्रतिनिधिमण्डलले मंगलबार नै विकास समितिका सभापति कल्याणी खड्कालाई समेत निर्माण व्यवसायी र उनीहरूका उपकरणमाथिको सुरक्षा चिन्ताबारे अवगत गराएको छ। जवाफमा खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिइन्।  

अज्ञात समूहले आइतबार मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिकाअन्‍तर्गत आइतबारेमा तीनवटा एस्क्साभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको महासंघले जनाएको छ। महासंघका अनुसार किसानचोक-रमिते-आइतबारे-टाँडी सडकखण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा-भीमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो।

त्यस्तै, झापा जिल्लाको सेतुमारीमा पनि आइतबार अज्ञात समूहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र लोडरमा आगजनी गरेको महासंघले जनाएको छ। त्यस्तै, केही समयअघि बेनी नगरपालिका बगुवखोलानजिक निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका तीनवटा स्काभेटरमा आगजनी गरिएको थियो।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको मध्यपहाडी लोकमार्गअन्‍तर्गत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रालिको स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा पनि केही समयअघि आगजनी हुँदा करिब ४ करोड रुपैयाँ बराबराको क्षति भएको महासंघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.