मतदान केन्द्र वरिपरी सामाजिक सञ्जाल पनि प्रतिबन्ध

|

जनकपुरधाम : राष्ट्रियसभाको चार सदस्यका लागि प्रदेश २ मा बिहीबार निर्वाचन हुँदैछ। नेकपासँग राजपा र नेपाली कांग्रेससँग समाजवादी पार्टीले गठबन्धन गरी उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन्।

मधेस आन्दोलनदेखि नेकपासँग चिढिएका राजपाले गठबन्धन गरेपछि धेरै नेता असन्तुष्ट छन्। त्यसैले क्रस भोटिङ हुने सम्भावना देखेर नेकपा-राजपा गठबन्धनका शीर्ष नेता र उम्मेदवार सशंकित देखिन्छन्।

राजपाले गठबन्धनका उम्मेदवारलाई जिताउन ह्वीप नै जारी गरेको छ। तर पनि क्रसभोटिङ नहुनेमा विश्वस्त छैन। प्रशिक्षणका नाममा राजपाले आफ्ना मतदाता (प्रदेश साँसद र स्थानीय तहका प्रमुख-उपप्रमुख) लाई बर्दिबासमा मंगलबारदेखि नै राखेका छन्। त्यहाँ राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र महन्थ ठाकुर बसेका छन्।

स्रोतका अनुसार मतदातालाई कसैसँग सम्पर्कसमेत गर्न दिएका छैन। मतको हिसाबले पछाडि देखिएका कांग्रेस-समाजवादी पाटीका गठबन्धनका नेताहरूले प्रलोभनमा पार्न सक्ने भनेर राजपाले आफ्ना मतदातालाई कतै जान नदिएको एक नेताले बताए। नेता महतोले भने, ‘शंका लागेका मतदाता नेतृत्वको कडा निगरानीमा छन्।’

प्रशिक्षण नाममा बर्दिबासका राखेका मतदातालाई मतदानका लागि बिहीबार सीधा जनकपुरधाम ल्याउने राजपाको योजना छ। मतदाताका लागि बर्दिबासका विभिन्न होटल तीन दिनका लागि राजपाले ‘बुक’ गराएको छ। राजपाको तर्फबाट अल्पसंख्यक समूहअन्तर्गत शेखर प्रसाद सिंह र अन्य समूहअन्तर्गत मृगेन्द्रकुमार सिंह यादव उम्मेदवार छन्।

राजपासँग गठबन्धन बनाएका नेकपाले महिला समूहअन्तर्गत तुलसा कुमारी दाहाल र दलित समूहअन्तर्गत राधेश्याम पासवान उम्मेदवार बनाएका छन्।

क्रस भोटिङ गराउने रणनीतिमा कांग्रेस-समाजवादी

प्रदेश सांसद १०७ र स्थानीय तहका प्रमुख-उपप्रमुख २७२ गरी कुल ३७९ मतदाताले प्रदेश २ मा राष्ट्रिय सभाको मतदाता छन्। ती मध्ये कांग्रेससँग १९ सांसद र ८१ जनप्रतिधि गरी कूल १ सय मतदाता छन्। समाजवादीसँग प्रदेश सांसद ३० र जनप्रतिनिधि ५२ गरी कूल ८२ मतदाता छन्। राष्ट्रिय सभामा चारै उम्मेदवारलाई जिताउन नेकपा–राजपा गठबन्धनका ६ प्रदेश साँसद वा १६ जनप्रनिधि तान्नुपर्छ। त्यसैले क्रस भोटिङ गराउने रणनीति बनाएका छन्।

कांग्रेस–समाजवादी गठबन्धन। यदि क्रसभोटिङ भएन भने नेकपा-राजपा गठबन्धनका चारै उम्मेदवार जित्छन्। संघीयता विरोधी दलसँग राजपाले गठबन्धन गरेको भन्दै उनका मतदाता तान्न काँग्रेस उपसभापति विमलेन्द्र निधिदेखि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबसम्म केहीदिन अघिदेखि नै प्रदेश २ मा सक्रिय छन्। 

कांग्रेस उपसभापति निधिले भने, ‘थोरै मतले हामी पछाडि छौं। तर त्यसले खासै असर पर्ने छैन। किनकि राजनीतिमा २ र २ लाई जोड्दा ५ पनि हुन्छ।’ कांग्रेस-समाजवादीका नेताहरू भने क्रस भोटिङ हुनेमा ढुक्क छन्।

समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश विद्रोहीले संघीयता विरोधी र मधेस विरोधी नेकपासँग राजपाले गठबन्धन गरेकाले क्रसभोटिङ हुने सम्भावना बलियो रहेको बताए। उनले भने, ‘राजपा-नेकपा गठबन्धनको मतदाता प्रलोभनमा पारेर तान्ने योजना छैन। तर एजेण्डाको हिसावले क्रसभोटिङ गराउने प्रयास नगरेको पनि होइन्।’ कांग्रेस–राजपाका चारै उम्मेदवार जित्ने उनको दावी छ।

कांग्रेस-समाजवादी प्रशिक्षणमा व्यस्त

बुधबार जनकपुरको मारवाडी सेवा सदनमा कांग्रेस-समाजवादी पार्टी गठबन्धनले आफ्ना मतदातालाई भेला गरेका छन्। अन्य दलको मतदाता तान्ने प्रयास गर्न र मतदान गर्ने तरिका विषयमा उनीहरू छलफल गरिरहेको बताइएको छ। समाजवादी पार्टीका उपेन्द्र यादव उपस्थितिमा भइरहेको छलफल रातिसम्म चल्नेछ। 

कांग्रेस-समाजवाजवादी पार्टीको गठबन्धन २/२ सिट बाँडेर भएको छ। कांग्रेसले महिला समूहतर्फ नगिना यादव र अल्पसंख्यक समूहतर्फ भोला पञ्जियारलाई उम्मेदवार बनाएको छ। समाजवादी पार्टीले दलित समूह तर्फबाट रामपृत पासवान र अन्य समूह तर्फबाट अनिरुद्रकुमार सिंहलाई चुनावी मैदानमा उतारेका छन्। 

चुनावको तयारी पूरा

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको छ। जनकपुरको महेन्द्र नारायण स्मृति सदनमा मतदानका लागि आवश्यक तयारी गर्न कर्मचारी खटिसकेका छन्। आजै साँझसम्ममा मतदानस्थल तयार पार्ने योजना कर्मचारीको छ। मतदानका लागि निर्वाचन कार्यालयले करिब २५ कर्मचारी खटाएका छन्। सोही संख्यामा सुरक्षाकर्मी पनि परिचालित हुने बताइएको छ।

राष्ट्रिय सभा निर्वाचन प्रदेश २ का निर्वाचन अधिकृत तथा न्यायाधीश राजुकुमार खतिवडाले मतदान स्थलमा खटिने सबै कर्मचारीलाई नियुक्ति दिएर परिचालन गरिसकेको जानकारी दिए। उनका अनुसार मतदान गराउन आवश्यक सामग्री बुझेर कर्मचारी खटिसकेका छन्। भोलि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सकेलगत्तै मतगणना सुरु हुने अधिकृत खतिवडाको भनाई छ।

मतदान केन्द्र वरिपरि सामाजिक सञ्जाल पनि प्रतिबन्ध

मतदान केन्द्र वरिपरि सामाजिक सञ्चाल र सर्ट मेसेजमा पनि प्रतिबन्ध लगाएको छ। निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरी निर्वाचन सुरु भएपछि सम्पन्न नभएसम्म निर्वाचनको वातावरण विथोल्ने कार्य नगर्न सूचना जारी गरेको हो।

सूचनामा साउण्ड सिस्टम, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज गर्न, जुलुस प्रदर्शन गर्न वा प्रतिकुल असर पर्ने कुनै पनि कार्य गर्नमा प्रतिबन्ध लगाएको उल्लेख छ। सूचनाको प्रतिकुल असर पार्ने खालको गतिविधि गर्नेलाई निर्वाचन (कसुर र सजाय) ऐन २०७३ को दफा १९ बमोजिम ५० हजार गरिवाना हुन सक्ने चेतावनी दिएको छ।

पूर्वमा सडक (पोखरी), पश्चिममा तिरहुतिया गाछी, उत्तरमा सडक (जिल्ला प्रहरी कार्यालय धनुषा) र दक्षिणमा सडक (दुर्गा मन्दिर जाने सडक) लाई मतदान केन्द्रको चार किल्ला तोकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.