|

कञ्चनपुर : कञ्चनपुर उद्योग बाणिज्य संघले फागुनमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना गर्ने भएको छ।

उद्योग बाणिज्य संघले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै फागुन ७ देखि १७ गतेसम्म महोत्सव आयोजना गर्ने जनाएको हो। कृषि, पर्यटन, व्यापार, संस्कृति प्रवर्द्धनका लागि विगतदेखि आयोजना गर्दै आएको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिएको उद्योग बाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल बताए।

‘उद्योग बाणिज्य संघले २०५७ सालमा पहिलो पटक महोत्सवको आयोजना गरेको थियो,’ उनले भने,‘त्यसपछि प्रत्येक वर्ष शिवरात्रीको अवसर पारेर मेलाको आयोजना गर्दै आएका छौं।’ उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सवमा सरकारले मनाइरहेको पर्यटन वर्ष २०२० र स्थानीय सरकारले पर्यटन वर्षलाई सफल बनाउनका लागि अवलम्बन गरेका सम्पूर्ण नीतिलाई अंगीकार गरिने अध्यक्ष मल्ल बताए।

‘यो मेला भीमदत्त नगरपालिकाको विशेष सहकार्यमा आयोजना गर्दैछौं,’ उनले भने,‘देशवासीको ध्यान सुदूरपश्चिम तथा यस जिल्लातर्फ केन्द्रित गराउन समेत यो मेला आयोजना गरिदैँछ।’

कञ्चनपुर जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको प्रचार-प्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको उनको भनाई छ। उनले अनुसार स्थानीय उत्पादन र सेवाको विकास तथा बजार विस्तार, निकासी योग्य वस्तुको पहिचान, घरेलु, साना तथा मझौला उद्योगले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धनमा टेवा पुर्‍याउने, कृषि क्षेत्रमा आधुनिक एवं नयाँ प्रविधिका उपकरणबारे जानकारी गराउने मेलाको उद्देश्य रहेको पनि बताए।

उद्योग बाणिज्य संघले आयोजना गर्ने मेलामा लघु उद्यम, अटो, कृषि प्रदर्शनी, गार्मेन्टका उत्पादन, जुत्ता-चप्पल, बैकल्पिक ऊर्जा, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार, सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, शिक्षा क्षेत्रका सेवाको प्रदर्शनीसमेत गरिने बताइएको छ। 

संघका अध्यक्ष जंग बहादुर मल्लको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.