|

काठमाडौं : डा. गोविन्द केसीको अनसन विरुद्धमा त्रिवि शिक्षण अस्पतालमा नै डाक्टरहरुले अर्को अनसनको तयारी गरेका छन्। विभिन्न अस्पतालमा काम गर्ने ३० जना डाक्टरहरुले शिक्षण अस्पतालमा नै अनसन बस्न ठाउँ उपलब्ध गराइदिन अस्पतालका निर्देशक दीपक महरालाई मागपत्र बुझाएका छन्।

'विभिन्न माग राखेर हामीले पनि अनसन बस्नुपर्ने देखिएकाले शिक्षण अस्पतालाई ठाउँ उपलब्ध गराउन माग गरेका छौं', अनसन बस्ने तयारीमा रहेका प्रस्तावित मनमोहन मेडिकल कलेजका डा. रामकुमार अधिकारीले भने, 'यहाँ गोविन्द केसीले सँधै अनसन बस्न पाउने हामीले किन नपाउने भनेर टिचिङमा नै ठाउँ मागेका हौँ।'

उनीहरुले गोविन्द केसी पटक पटक अनसन बस्दा त्रिवि शिक्षण अस्पताललाई करोडौं रुपैयाँ घाटा भएकाले त्यसको असुल गर्नुपर्ने माग राखेका छन। 'केसी अनसन बसेको २ दिनदेखि टिचिङ अस्पतालकै स्लाइन र औषधीहरु निःशुल्क प्रयोग हुँदै आएको छ, उनी महिनामा २/३ लाख तलब खान्छन् तर महिनामा एउटा पनि अपरेशन गर्दैनन् त्यसैले शिक्षण अस्पताललाई भएको घाटा असुल उपर गर्नुपर्छ', अधिकारीले भने।

शिक्षण अस्पताललाई धरासायी बनाउने र विरामी र विद्यार्थी विदेश पठाउने गिरोहको उक्साहटमा डा. केसी अनसन बस्न लागेको उनले आरोप लगाए। डाक्टरहरुले प्रत्येक प्रदेशमा मेडिकल कलेज खोल्नुपर्ने, मेडिकल शिक्षा र विदेशमा उपचारका लागि देशबाट वर्षेनी अर्बौं रुपैयाँ विदेश गएकाले देशभित्रै मेडिकल शिक्षा पढ्न पाउने ग्यारेन्टी गर्नुपर्ने लगायतका ५ बुँदे माग राखेर अनसन बस्न लागेको जानकारी गराएका छन्।

मेडिकल शिक्षा सुधारका विभिन्न माग राखेर आउँदो आइतबारदेखि अनसन बस्न लागेका डा. केसीले मेडिकल शिक्षामा हस्तक्षेप गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग पनि अघि सारेका छन्। 

डाक्टरहरुको मागपत्र बुझ्दै त्रिवि शिक्षण अस्पतालका निर्देशक दीपक महराले अस्पतालभित्र कसैलाई पनि अनसन बस्न नदिने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.