|

सल्यान : सल्यानमा यस वर्ष गत वर्षको तुलनामा मह उत्पादन घटेको छ। मह उत्पादन घटेपछि राम्रो प्रतिफल नपाएको भन्दै किसानहरू चिन्तित बनेका छन्।

जिल्लाको कालीमाटी गाउँपालिका साथै अन्य गाउँपालिकाका किसानले व्यवसायिक मौरीपालन गर्दै आएका छन्। जिल्लामा करीब १ हजार ५ सय ३० भन्दा बढी मौरीका घार रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। यस वर्ष झन्डै १२ मेट्रिकटन मात्र मह उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए। विगतको वर्षभन्दा ७ मेट्रिकटन मह कम उत्पादन भएको छ।

गत वर्ष जिल्लामा १ करोड ५० लाख रुपैयाँभन्दा बढी १९ मेट्रिकटन मह उत्पादन भएको थियो। विगतको तुलनामा यस वर्ष मह उत्पादन निकै कम भएको  बस्नेतको भनाइ छ।

मौसमी परिवर्तनका कारण मह उत्पादन कम भएको हुनसक्ने  कार्यालयका निमित्त प्रमुख महेश आर्चायले बताए। उनले भने, ‘सल्यान मौरीपालनका लागि राम्रो सम्भावना भएको क्षेत्र हो तर यस वर्ष मह उत्पादन घटेको छ।’

यस वर्ष कार्यालयले कालीमाटी गाउँपालिकामा रहेका २ ओटा मौरीपालन पकेट क्षेत्रलाई ब्लकको रूपमा विकास गर्न लागेको आचार्यले बताए। यसका लागि ३९ लाखभन्दा बढी रुपैयाँ विनियोजन भएको उनको भनाइ छ। यस्तै, जिल्लामा मौरी स्रोत केन्द्र सञ्चालन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए।

मह उत्पादन घटेपछि किसान भने चिन्तित बनेका छन्। कालीमाटी गाउँपालिका-२ झिँगानेका लोकेन्द्र वलीले गत वर्ष करीब १४ क्विन्टल मह उत्पादन गरेका थिए। तर यस वर्ष भने झन्डै तीन क्विन्टल मात्रै मह उत्पादन भएको छ। गत वर्ष करीब १० लाख रुपैयाँ आम्दानी गरेका उनी यस वर्ष मौरीको मह उत्पादन कम भएपछि आम्दानी घटेको बताए।

मौरीले मह लगाउने समयमा चिसो ह्वात्तै बढेको र पानी पनि परेकाले मह उत्पादन कम भएको किसानको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.