|

काठमाडौं : सरकारले विद्यालयमा आयोजना हुने वार्षिक उत्सव, अभिभावक भेला, सांस्कृतिक कार्यक्रमलगायत कुनै पनि कर्याक्रममा विदेशी गीत पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। शिक्षा विभागले निर्देशनविपरीत विदेशी गीत संगीत प्रस्तुत गरे कारवाही गर्ने चेतावनी दिएको छ। 

यसअघि दिएको निर्देशन पालना नभएको भन्दै विभागले सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयमा पत्राचार गरेको छ। विभागका महानिर्देशक बाबुराम पौडेलले नेपाली कला र संस्कृतिको विकास र प्रवर्धन गर्न कुनै पनि सांस्कृतिक, अभिभावक दिवस र वार्षिक भेलामा विदेशी गीत संगीत प्रयोग नगर्न निर्देशन दिएको जानकारी दिए। 

विभागले गरेको परिपत्रमा नेपाली लोकसंस्कृति र राष्ट्रियता झल्किने गीत, संगीत र नृत्यहरूमात्र समावेश गराउन निर्देशन दिइएको छ। अन्य भाषाको गीतले विद्यालयमा सांस्कृतिक विकृति बढेको भन्दै सरकारले पूर्णरूपमा रोक लगाएको हो। यस्तै शुक्रवार पढाइ सकिएपछि विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा लगाउनसमेत विभागले निर्देशन दिएको छ। अधिकांश सरकारी विद्यालयले अतिरिक्त क्रियाकलापमा ध्यान दिन छोडेको भन्दै विभागले यस्तो निर्देशन दिएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.