|
फाइल तस्बिर

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरिएको छ।

बैठकमा विभिन्न १५ वटा समूह बनाएर समूहगत छलफल चलाइएको थियो। समूहहरूको छलफलमा एमसिसीका विषयमा तल्लो तहसम्मका कार्यकर्ताहरूले बुझ्ने गरी पार्टीको आधिकारिक धारणा माग गरिएको हो।

नेकपा केन्द्रीय सदस्य गंगालाल तुलाधरले विज्ञ समूह नै बनाएर एमसिसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको बताए। पार्टीभित्र एमसीसीका विषयमा धारणा राख्दै नेताहरुले महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरूलाई चेतावनीसमेत दिएका छन्।

पार्टीले उपयुक्त समयमा एमसिसीको विषयमा प्रष्ट गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्षसहित केही सदस्यले अध्ययन समूह बनाएर जानुपर्नै धारणा राखेको उनले बताए। ‘हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ। अहिले एमसिसीको विषयले पनि नेकपालाई त्यही ठाउँमा लैजान्छकी भन्ने आशंका भएका छन्। त्यसैले एमसिसी के हो? भन्ने कुरामा स्पष्ट हुनुनपर्छ भन्ने कुरा आएका छन्’, उनले भने।

अर्का केन्द्रीय सदस्य सुरेशकुमार राईले सबै समूहमा एमसिसीका विषयमा तीन प्रकारका धारणा आएको बताए। ‘यो नेपालको हितमा छ समितिबाट पास गरेर सरकारले कार्यान्वयनमा लैजानुपर्छ भन्ने एउटा धारणा। अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो? भन्ने आंशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बसह नराम्रो भएको धारणा आएको छ’, उनले भने।

यस्तै, केन्द्रीय सदस्य शिवनारायण यादवले पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्ने धारणा विशेषगरी आएको उनले बताए। एमसिसीको विषयमा दुई थरी कुरा आएको बताउँदै उनले भने, ‘एउटा विपन्न राष्ट्रलाई अमेरिकाले दिने सहयोग भनेर प्रचार प्रसारमा आएको छ। यो विषयमा पार्टीले उच्चस्तरीय समूह बनाएर वास्तविक कुरा ल्याउनुपर्छ। जनताको हितमा छ भने सहयोग स्वीकार गर्नुपर्ने तर राष्ट्रलाई अहित गर्छ भने लिनु हुन्न भन्ने कुरा आएको छ।’

यस्तै अर्का केन्द्रीय सदस्य कमला रोक्काले एमसीसीका विषयमा पार्टीको धारण एउटै बनाएर जानुपर्ने विषयमा कुरा उठेको बताए। विशेषगरी पार्टीका सबै तहमा न्यूनतम ३३ प्रतिशत महिलाको प्रतिस्पर्धा हुनुपर्ने र प्रत्येक कमिटीमा अध्यक्ष र उपाध्यक्ष हुनेगरी विधान संशोधन गर्ने र दुई पदमध्ये एउटामा महिलाको सहभागिता हुनुपर्ने धारणा आएको उनले बताए।

यसैगरी, दिनानाथ शर्माले आफ्नो समूहभित्र राजनीतिक, संगठनात्मक र विधान संशोधनको जुन गतिमा आएको छ, त्यो सबै राम्रो छ भन्ने निष्कर्ष निस्केको बताए। एमसीसीको विषयमा अझ स्पष्ट पार्न नेता कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने धारणा पनि आफ्नो समूहम उठेको उनले बताए। उनले सीमा विवादका विषय कूटनीतिक, राजनीतिक र जनस्तरबाट  समाधान हुनुपर्ने धारणा आएको बताए।

यसैगरी, रेखा शर्माले दलसम्बन्धि बनेका कानूनहरू राम्ररी कार्यान्वयन हुनुपर्ने र माथिदेखि तलसम्म अध्यक्ष र उपाध्यक्ष राखि एकजना महिलाको हुनुपर्ने धारणा आएको बताएन्। त्यस्तै, पार्टीका हरेक तहमा एक तिहाई महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा पनि आएको उनले बताइन्।

नेकपाको बैठकमा शुक्रबारबाट समूहगत छलफलमा उठेका विषयहरुलाई समूह नेताहरूले प्रस्तुत गरिरहेका छन्। शुक्रबार ४ वटा समूह र प्रदेश अध्यक्षहरुले आफ्नो प्रस्तुति राखेका थिए। बैठक शनिबार पनि जारी रहने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.