|

  • पेमा लामा

धुलिखेल : सडक डिभिजन कार्यालय भक्तपुरले काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट र भुम्लुटार गाविसमा पर्ने पुल आसपासका घर तथा टहराहरु भत्काएको छ। सडक निर्माणको मापदण्ड भित्र अनाधिकृत रुपमा सडक मिचेर बनाएको घर तथा टहराहरुलाई हटाउने काम अन्तर्गत त्यहाँका घर तथा टहरा भत्काइएको डिभिजन कार्यालयले जानकारी दियो।

सडक डिभिजन कार्यालयले यसअघि नै ३५ दिने सार्वजनिक सूचना जारी गरेर सडक मिचेर बनाएका घर तथा टहरा धनीहरुलाई आफ्नो सामान सार्न सुचित गरेको थियो। सुचना अनुसार स्थानीय प्रशासनले बुधबारबाट नै माईकिङ्ग गरी जानकारी दिएको थियो।

बिहीबार यस क्षेत्रमा सडक मिचेर बनाएका भौतिक संरचनाहरु भत्काइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख शिव प्रसाद सिमखडाले जानकारी दिए।  'सडक विभागले गर्ने काम अन्तर्गत त्यहाँस्थित सडक मिचेर बनाएका भौतिक संरचनाहरुलाई भत्काउनु पर्ने देखिएकोले हामीले नियम भित्र रहेर हटाउने काममा सहयोग गरेका हौं,' जिल्ला प्रकाशसन कार्यालयका प्रमुख सिमखडाले भने।

उनका अनुसार सडक डिभिजन कार्यालय भक्तपुरले गरेको काममा स्थानीय प्रशासनले सहयोग गरिरहेको छ। स्थानीय राजकुमार शाहका अनुसार सडक छेउका घरहरु भत्काउने क्रममा सामान ओर्सानका लागि सडक डिभिजनले गाडीको समेत व्यवस्था गरी सहयोग गरिरहेको छ। 'हटाउने काम त ठीकै हो, तर कमसेकम त्यसको मुआब्जा दिनुपर्ने स्थानीयले माग गरिरहेका छन्,' शाहले भने।

राज्यलाई जग्गाको कर तिरिरहेको अवस्थामा भत्काउँदा क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ। शाहका अनुसार घर भत्काउने क्रममा आफ्नो घर परेको भन्दै लक्ष्मी श्रेष्ठले क्षतिपूर्तिको माग गर्दै पुनरावेदन अदालत पाटनमा बुधवार रिट हालेकी छिन्।

सडक डिभिजन कार्यालयका ईञ्जिनियर सुदर्शन कार्कीका अनुसार यस आसपासका सडकको दायाँ–बायाँ २५ मिटरभित्र रहेको घरहरुलाई पनि हटाउने तयारी छ

अरनिको राजमार्ग अन्तर्गत पर्ने पाँचखाल–१ खावादेखि दोलालघाटसम्मको सडक छेउछाउमा सडक मिचेर बनाएका घर तथा टहराहरु छिटै भत्काउने तयारी भैरहेको इञ्जिनियर कार्कीले जानकारी दिए। यस क्रममा सडक आसपासका २५ मिटर दायाँ–बायाँमा रहेका घर तथा टहराहरु भत्काउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.