|

चितवन : चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जारी धनधान्याचल महोत्सवमा शनिबार एकै दिन १५ करोड संकलन भएको छ। यसअघि शुक्रबार एकैदिन ९ करोड, बिहीबार एकैदिन ५ करोड संकलन भएको थियो। 

हरेक दिन सहयोग रकम जुट्ने क्रम बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद विजय सुवेदीले बताए। हरेक दिन विभिन्न संघसंस्था तथा व्यक्तिले महोत्सवस्थलमै पुगेर सहयोग हस्तान्तरण गरिरहेका छन्। 

शनिबार वागमती प्रदेशका तर्फबाट रंगशालालाई १० करोड दिएको छ। मुख्यमन्त्री आफैँ रंगशालामा पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्। उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए। 

बालकुमारी कलेज १२ लाख, इच्छाकामना गाउँपालिकाले ११ लाख ११ हजार, सप्तगण्डकी क्याम्पसले ६ लाख १ हजार र तारापुञ्ज सहकारी तीन लाख सहयोग गरेको महोत्सव मूल आयोजक समितिका सह कोषाध्यक्ष नवराज सापकोटाले बताए।

चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणाधीन रंगशाला परिसरमा धनधान्याचल महोत्सव १९ गतेदेखि जारी छ। ५० करोड सहयोग रकम जुटाउने उद्देश्यका साथ जारी महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुने छ। रंगशाला निर्माणका लागि ३ अर्ब लाग्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.