बर्दिबास (महोत्तरी) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भ्रष्टाचारी जोसुकैमाथि पनि कारबाही हुनुपर्ने धारणा राखेका छन्।
बर्दिबासमा आयोजित आधारशिलाको १७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खनालले यस्तो धारणा राखेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘नेकपाकै नेता किन नहोस्, भ्रष्टाचार गरेको छ भने कारबाही हुनुपर्छ।’ उनले भ्रष्टाचारमा संलग्न देखिएमा आफ्नै पार्टीका नेतामाथि मुद्दा चलाउदा पनि केही फरक नपर्ने स्पष्ट पारे।
उनले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राम्रो काम गरिरहेको बताए। उनले अख्तियारले निष्पक्ष रूपमा काम गरिरहेको समेत बताए। भ्रष्टाचारमा नेकपा, कांग्रेस, राजपा वा अन्य कुनै पार्टीको किन नहोस् सबैमाथि कारबाही हुनुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारीलाई कारबाही नभएसम्म मुलुक र समाज रुपान्तरण नहुने पनि बताए।
यस्तै, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा प्रकरणमा कांग्रेसले आफ्नो नेतालाई जोगाएको भनेर दिएको अभिव्यक्ति ठीक नभएको बताए। उनले अख्तियारले जग्गा प्रकरणमा मुद्दा दर्ता गराएको विषयमा सरकारको कुनै 'कनेक्सन' नरहेको स्पष्ट पारे।
‘अख्तियार स्वतन्त्र र निष्पक्ष हुनुपर्छ’, उनले भने, ‘स्वतन्त्र र निष्पक्ष रुपमा काम पनि गरिरहेको छ। सरकारले हस्तक्षेप गर्यो भने अख्तियारको के काम? नेकपा नेताको पनि संलग्नता छ भने अख्तियारले थप छानविन गरोस् हामी प्रोत्साहित गर्छौ' उनले थपे।
यता, नेकपा नेता तथा प्रदेश २ का सांसद शत्रुघन महतोले अख्तियारले बल्ल ठूला माछामाथि मुद्दा चलाएको भन्दै यो मुद्दा अख्तियारका लागि परीक्षा भएको बताएका छन्।
अख्तियारले ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरू उन्मुक्ति पाउने शंका गर्दै उनले भने, ‘मुद्दा त दर्ता भयो। तर, देखावटी हो कि कारबाही हुन्छ हेर्न बाँकी छ।’ उनले देशमा भ्रष्टाचार न्यूनीकरण गर्न पनि नसकिने तर घटाउन सकिने बताए।
‘चुनावका बेला बहुमत दिनुस् भनिरहेका थियौँ’, उनले भने, ‘तर बहुमत पाएपछि समाजवाद र समृद्धि भन्दा पनि भ्रष्टाचार तिर उन्मुख भइरहेका छौँ।’ उनले सरकार अहिलेकै अवस्थामा अगाडि बढ्यो भने समाजवादका आधारहरु निर्माण गर्न नसकिने समेत बताएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।