|

  • गोविन्द महतो 

जनकपुर : सहिद दुर्गानन्द झालाई शनिबार उनको पैतृक जिल्ला धनुषामा स्मरण गरिएको छ। राजा महेन्द्र नेतृत्वको निर्दलिय सरकारले २०२० माघ १५ गते उनलाई फाँसी दिएको थियो। बलिदानी दिवसका अवसरमा विभिन्‍न स्थानमा उनको संझनामा कार्यक्रम गरियो। दुर्गानन्द झा तिनै व्यक्ति हुन् जसलाई राजा महेन्द्रमाथि बम हानेको अभियोगमा फाँसी दिइएको थियो। 

आफै आत्मसमर्पण गरेका थिए
झाले वि.स. २०१८ साल माघ ९ गते जनकपुरको जानकी मन्दिरमा राजा महेन्द्रमाथि भएको बमकाण्डको अगुवाई गरेका थिए। २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेपछि नेपाल विद्यार्थी संघमा आबद्ध दुर्गानन्द क्रान्तिमा होमिएका थिए।

बम प्रहार गरेपछि भागेर आफन्तहरु हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसेका थिए। उनी त्यसपछि भारतको उभगाँव लागे। यता,नेपालमा बम काण्डको अनुसन्धानको नाममा ५६ जनालाई पक्राउ गरेर प्रशासनले दिनहुँ कुटपिट गरेको थियो।

पक्राउ परेकाहरुलाई निर्मम यातना दिन थालियो। बम प्रहार गरी सीमापारी नेपाली कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाएको सुनेपछि नेपाल फर्कने निर्णय लिए। जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्किएका झाले आफै गिरफ्तारी दिए। 

त्यसपछि दुर्गानन्दलाई प्रहरीले घेरामा लिई जलेश्वर जेलमा राख्यो। भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा ल्याइयो। गिरफतारी दिए लगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो र पञ्चायत सरकारले उनलाई मृत्यूदण्डको सजाय तोकी वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्यायो। 

घरको एक्लो छोरो र नवविवाहित 

१९९९ साल वैशाख १४ (बैशाख शुक्ल एकादशी तिथि) मा सहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो। पं. भोलानाथ झाका तीन भाई छोराहरु मध्ये एकमात्र उत्तराधिकारी दुर्गानन्द झाले बाल्यकालमै बाबु गुमाए। 

आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उमगाँवस्थित दिनदयाल हाई स्कुलमा झाले  शिक्षादीक्षा लिएका थिए। मेट्रिकमा पढ्दा पढदै २०१७ साल विवाह पञ्चमीको दिन काशीदेवी झासित उनको विवाह भएको थियो।

जनकपुर अञ्चलको जटही ग्राम निवासी दुर्गानन्दको विवाह सत्र वर्षको उमेरमा कुम्हरौराकी चौध वर्षीया काशी देवीसित भएको  थियो। एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर उनी लोकतन्त्रको संघर्षमा लागेका थिए। दुर्गानन्द संघर्षमै रहेका बेला उनकी श्रमतीको कोखबाट मृत शिशु जन्मिएपछि घरमा चिन्ता थपिएको थियो। 

सहीद दुर्गानन्दको परिवारमा २०६० साल भाद्रमा वृद्धा आमाको निधन पछि अब एक्लै उनकी अर्धाङ्गनी काशीदेवी झा मात्र बाँचेकी छिन्। सरकार र देशले दुर्गानन्द झाको लागि खास केही नगरे पनि युवा जमातले उनको निः स्वार्थ त्याग र बलिदानालाई बिर्सने छैनन्।

‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नु अघि शहीद दुर्गानन्द झाले आफ्नी प्रिय पत्नी काशी देवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे।

जटही भन्दा करिब ३ किमि टाढा रहेको भारतको उमगाँव हाइस्कूलमा म्याट्रिकमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा बित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एकाध चोटीभन्दा बढी हुन सकेन् । दाम्पत्य जीवन सुरु भएको दस महिना नबित्दै दुर्गानन्दसित काशीलाई सधैंका निम्ति टाढिनुपर्‍यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.