|

म्याडोना भन्छिन्, 'प्रेम गर्नु बहादुरी हो।' जोन अपडिक प्रेममा पर्नुलाई जीवन्त हुनु हो भन्छन्। एन लेन्डर जोक गर्दै भन्छन् ,'प्रेम भन्नु आगलागीमा परेको मित्रता हो।'

खैर, म आज अर्कै कुरा गर्ने मुडमा छु।  प्रेमको रङको कुरा!

‍मानिसहरु प्रेम भनेको सुन्दर चित्र हो भन्छन्। कस्तो रङको चित्र? ठ्याक्कै भन्न कोही सक्दैनन्। प्रेमको रङ कस्तो हुन्छ? कसैलाई थाहा छैन। धेरै मानिसहरु हरियो रङले प्रकृति, सन्तुलन, सु-स्वास्थ्य र पृथ्वीभरका मानिसहरुको प्रेमलाई दर्शाउँछ भन्छन्।

तर दुई व्यक्तिबीचको आत्मीयता र प्रेम दर्शाउन रातो रङलाई सर्वव्यापी रुपमा प्रयोग गरिन्छ। रातो गुलाब होस् या रातो पोशाक मानिसहरु प्रेमको, बासनाको या आत्मियताको अर्थ लगाई हाल्छन्। गायक बिल्ली ओसियन आफ्नो सुपरहिट क्लासिक ‘कलर अफ लभ’ मा अमूर्त कुरा गर्छन्, ‘तपाईँ आफ्नो प्रेमीलाई सम्झँदा जुन रङ दिमाखमा आउँछ, त्यही नै हो प्रेमको रङ।’

सुन्दा हो जस्तो लाग्छ तर मेरो अनुभवले भन्छ, प्रेमका थुप्रै रङ छन्।  आउनुस्, मैले देखेका/बुझेका प्रेमका थरीथरी रङबारे पढौँ एकैछिन्।

प्रसङ्ग -१

एकदिन एकाबिहानै गाउँमा हल्ला चल्यो। बिस्ताराबाटै मान्छेहरु गल्याङ गुलुङ बोलेको सुनेर म पनि उठेँ। बाटोमा ४-५ जना जम्मा भएका रहेछन्। ‘थुक्क, बुद्दि हराएकी। यस्ता केटाकेटी छोडेर हेर यो बिजोग!’ पिताम्बर अंकल बोल्दै हुनुहुन्थ्यो। अल्ली पर निरु दिदीको घरमा ८ वर्षजतिको बाबु र ४ वर्षजतिकी सानी नानी ‘ममि हौ’ भन्दै रोइरहेथे। बिहान त्यस्तै ३ बजेतिर आमा उठेर हिँडेदेखि रोइरहेका रे उनीहरु। वीरेन्द्रटारसम्म पछिपछि दौडिँदै पनि गएछन्। तर कसरी पो भेटाउन् बरा!

बिहान नौ बजेतिर भाउजूलाई ‘बाइकमा जब्गादीमा देखेका थियौँ’ भन्नेहरु भेटिए। अर्को दिन ‘बुटवलमा देख्याथेँ मैले त’ भन्नेहरु पनि भेटिए।  जहाँसुकै भेटिएकी भए पनि उहाँ आफ्ना नाबालक छोराछोरी छाडेर अरु कसैसँग जानुभएको थियो। उहाँले नौलो सम्बन्धमा पाइला राख्नुभएको थियो। भाउजूले नयाँ आँट गर्नुभएको थियो।

हामी बच्चै हुँदादेखि सानो होटल गर्नुहुन्थ्यो उहाँहरु, शोभाकान्त दाइभाउजू। ५-१० रुपैयाँ हात पर्यो की हामी केटाकेटी दौडिइहाल्थ्यौँ, उहाँकैमा नमकिन खान। समोसा, चाउमिन, जेरी के नै पो पाइँदैनथ्यो र उहाँको पसलमा। सायद वर्षौँ दु:ख गर्दा पनि खासै पार लाउन नसकेपछि शोभाकान्त दाइ विदेश जानु भएथ्यो, झण्डै दुई महिना अगाडि। अहिले भाउजू अरुसँगै कता जानु भयो कता!

म दिनभर सोचेको सोच्यै भएँ। आखिर बुढाको माया रहेनछ भने पनि छोराछोरीको मुख हेरेर अरुसँग भाग्न त नसक्नुपर्ने। एक दुई महिना अघिसम्म पतिसँगग ठीकठाक देखिनुभएकी भाउजूले कसरी यस्तो गर्न सक्नुभएको होला? मैले के के हो के के सोचिरहेँ।

ओशो भन्नुहुन्छ, ‘मन नपरेको श्रीमानसँगको संसर्गबाट जन्मिएको सन्तानलाई महिलाले साँचो माया गर्नै सक्दैनन्।’ यसो सोचेँ, भाउजुको केसमा पनि यस्तै पो हो कि! मलाई त्यो दिन प्रेमको रङ गाढा निलो लाग्यो। गहिरो र रहस्यमयी!

प्रसङ्ग - २

मैले थाहा पाएको पहिलो प्रेमसम्बन्ध शान्ति दिदी र विष्णु भिनाजूको हो। सानै भए पनि उहाँहरु खुसुखुसु भेटेको मैले बेला बेला चाल पाउँथे। पछि त पोखरातिरको मन्दिरमा गएर बिहे गर्नुभएछ। दुईचार दिन हल्लाखोरै भयो। पछिपछि उही त हो। गाउँमा आउनुभयो।  नयाँ जिन्दगी शुरु गर्नुभयो। भिनाजुले बोर्डिङ पढाउन थाल्नुभयो। दिदी घरधन्दा हेर्न। १०-१५ मिनेटको घर-माइती गरिरहनुहुन्थ्यो दिदी। माइतीले पनि कुनै चाडमा छोरी ज्वाइँलाई छुटाउनुहुन्नथ्यो। तीजमा सबैभन्दा राम्रो नाँच्ने शान्ति दिदी! हसाँउन-हाँस्न सबैभन्दा जान्ने शान्ति दिदी! हामी सबैकी प्यारी शान्ति दिदी!

वर्षहरु बित्दै गए, उहाँहरुका तीनजना छोरीहरु भए। रामसीताको जस्तै उहाँहरुको जोडी पनि कहिल्यै केही गर्दा छुट्टिएन। तर भावीको लेखा कहाँ सधैँ हामीले सोचेजस्तो हुन्छ र! एक्कासी दिदी बिरामी पर्नुभयो। मिसन हस्पिटल लगे। यहाँ हुदैन भनेछ, भरतपुर लगे। अन्त्यमा उहाँमा लास्ट स्टेजको ब्लड क्यान्सर देखिएछ। घर फर्काएर ल्याए। उहाँ दुब्लाएर लौरी जस्ती हुनुभयो। कपाल झरे, मुस्कान हरायो। बिस्तारामा सुत्दा सुत्दै उहाँ स्वर्गेबास हुनुभयो।

छोरीहरु सानै थिए बरा! भिनाजु एक्लै। दया लाग्दो थियो अवस्था। दिदीलाई त्यस्तो माया गर्ने भिनाजुलाई कसैले अर्को बिहे गरिहाल् भन्न सक्ने कुरै भएन।झण्डै डेढ वर्षपछि उहाँ आफैले खोजेर भैरहवातिर बिहे गर्नुभयो। त्यसको अर्को वर्ष छोरा जन्माउनुभयो। उहाँमा दुई तीन वर्षमै अर्कै चमक आइहाल्यो। मेरो सोच विपरीत उहाँ त पहिले जस्तै खुशी देखिन थाल्नुभयो।

म सोच्थेँ, 'दिदी बितेपछि भिनाजुको जिन्दगीको बत्ती निभ्यो। अब सदा अध्याँरो रहन्छ त्यो जिन्दगी।' तर त्यस्तो नहुँदो रहेछ। मलाई अहिले पनि नयाँ दिदीसँग भिनाजू हिँड्दै गर्दा शान्ति दिदीको बहुतै याद आउँछ। असजिलो पनि लाग्छ। नरमाइलो पनि लाग्छ।

फेरि सोच्छु-नयाँ छाला पलाएपछि पुराना घाउहरु मेटिनु नै त छ। कसो कसो लाग्यो प्रेमको रङ पहेलो हुँदो रहेछ। सूर्यको किरण जस्तै पत्रै पत्रले भरिएको।  एकपछि अर्को रङ मिस्सिएको।

प्रसङ्ग -३

हाम्रो गाउँमा मगर जातिको एक परिवारको मात्रै बसोबास थियो। हामी सबै उहाँलाई ‘कपासे बुवा’ भन्थ्यौँ। भुतपूर्व भारतीय सेनामा कार्यरत उहाँ आफ्ना छोरा र श्रीमतीसँग बस्नुहुन्थ्यो। पछि छोरो पनि भारतीय सेनामै भर्ती लाग्यो। त्यसको एक दुई सालमा छोराको बिहे भयो। अनि बाबुआमालाई छाडेर छोराबुहारी छुट्टिए। घरमा बाँकी रहे बुढाबुढी मात्रै । दुवैजना मद्यपानका भुक्तभोगी। छोराबुहारी छुट्टिएको एकदुई वर्षमै श्रीमतीको मृत्यु भयो र कपासे बुवा एक्लै पर्नुभयो। दुई वर्षसम्म एक्लै भौतारिनुभयो।

अन्ततः एकदिन गाउँमा खुसीको खबर सुन्न पाइयो। कपासे बुवाले ७५ वर्षको उमेरमा दोस्रो बिहे गर्नुभएछ। उहाँकी नयाँ श्रीमती अन्दाजी ४०-४५ की हुनुहुन्थ्यो। राम्री पनि उस्तै राम्री। अनि त बुढाबुढी जहाँ गए पनि सँगै। जे गर्दा पनि सँगै। यत्तिकैमा कपासे बुवा बिरामी पर्न थाले। औषधि गर्न तानसेन, बुटवल, पोखरा सबै ठाउँमा पुगे। बुढ्यौलीको रोग के निको हुन्थ्यो! बुढा बिस्तारै हिँडडुल गर्नै नसक्ने भए।

एकदुई महिनापछि त दिसा-पिसाब पनि बिस्तारामै। यस्तै गरेर बुढा करिब ६ महिना थलिए। यो समय जति सब ध्यान गरे जसरी नयाँ श्रीमतीले एक मिनेट बुढाको साथ छाडिनन्। दिसा-पिसाब केही फोहोर मानिनन्।  हाँसी खुसी बुढाको स्याहार अहोरात्र गरिरहिन् र एकदिन बुढालाई संसारबाट बिदा गरिन्।

म कहिलेकाहीँ कपासे बुवाको तिनै नयाँ श्रीमतीलाई सम्झन्छु। उनले कपासे बुढाप्रति कर्तव्य मात्र निवार्ह गरिन् या उनीहरुबीच साँचो प्रेम नै थियो?

मलाई उहाँहरु सम्झिँदा प्रेमको रङ सेतो लाग्छ। कपासे बुवाको सेता कपाल जस्तै। निस्वार्थ र निश्चल।

प्रसङ्ग – ४

सङ्गीता बहिनी भर्खरै ११ को जाँच दिएर बसेकी थिई। मैले एक्कासि उसले ‘भागेर बिहे गरी रे’ भन्ने सुनेँ। फेरि अर्को दिन ‘माइतीले फिर्ता ल्याए रे’ भन्ने सुनेँ। घरमा फोन गरेर बुझ्दा- जातभात नमिल्ने हुँदा माइतीले जबरजस्ती ल्याएका रे। केटो बच्चैदेखि एउटै क्लासमा पढ्ने साथी रहेछ। ‘कलिलै छन् ठीकै गरेछन्’ भन्ने लाग्यो मलाई पनि। ‘उसैसँग बिहे गरेपनि ब्याचलर पढेपछि गरे भइहाल्यो नि’ भन्ने लागेको थियो मलाई।

तर, फेरि ६ महिनापछि भागेर उनीहरु पोखरा पुगेछन्। यसपटक माइतीको बाआमाको मात्रै जोर चलेनछ। पुलिस नै लगाएर छोरीलाई घर फिर्ता ल्याएछन्। तर रोचक कुरा त यस पटक त ल्याएको तेस्रो दिनमै उनीहरु फेरी भागेर कहाँ गए कहाँ! अहिलेसम्म अत्तोपत्तो छैन।

अहिले आमा बा भन्दैछन्, 'घर आइदिए हामी सहर्ष स्वीकार्ने थियौँ। टीका लगाएरै पठाइदिने थियौँ। मुख मात्र देख्न पाए पनि हुन्थ्यो झैँ भा'को छ।'

आखिर प्रेमलाई छेक्न खोजेर कहाँ सकिन्थ्यो र! प्रेमलाई रोक्न खोजेर कहाँ सकिन्थ्यो। प्रेम त नदि हो बगेरै छाड्छ। यो प्रेम सम्बन्ध सम्झँदा मलाई प्रेमको रङ हरियो जस्तो लाग्छ। पालुवाको रङ। पलाईराख्ने। आखिर प्रेम न हो। ढङ्गाबिचको पिपलजस्तो।

प्रसङ्ग – ५

म सानो हुँदा उहाँलाई चिन्दिनथेँ। तर उहाँ हाम्रै घरको बाटो हुँदै क्याम्पस हिँड्नु हुन्थ्यो। उहाँ नेवार हो भन्ने चाहिँ मैले अनुहार हेरेरै अनुमान गरेको थिएँ। पछि उहाँ मेरो नाता पर्ने एकजना दिदीको मिल्ने साथी हुनुभयो। उहाँ अर्थात् अम्बिका दिदी। दिदीमार्फत मैले पनि उहाँसँग नजिकिने मौका पाएँ। उहाँले मलाई बेलाबेला बेझाँड बजारमा लगेर समोसा तरकारी खुवाउनुहुन्थ्यो। भेट हुदाँ केही न केही खाने कुरा ल्याइदिनुहुन्थ्यो।

मैले थाहा पाउँदादेखि नै महेश दाइसँग उहाँको प्रेम थियो। महेश दाइ परे बाहुन! ट्विस्ट आउला भन्ने त पहिल्यै थाहा थियो मलाई। दिदीको उमेर पुगेसँगै घरमा बिहेका एकपछि अर्को कुरा आउन थाले। दिदीले सबै प्रस्ताव अस्विकार गर्नुभयो  र महेश दाइसँगको आफ्नो सम्बन्धबारे बताउनुभयो। दिदीको परिवारले खासै नराम्रो मानेन तर महेश दाइको तर्फबाट पनि प्रेम हो भन्ने कुरामा आश्वस्त हुन खोज्यो। जब महेश दाइले आफ्नो घरमा कुरा गर्नुभयो, परिवारले मान्ने कुरै थिएन। कति नै कर गर्दा पनि परिवारले मानेन। उहाँहरु दुवैजना भागेर बिहे गर्ने पक्षमा हुनुहुन्थेन। 

अन्ततः दुबैले बिहे नै नगर्ने निर्णय गर्नुभयो। अहिले दिदी उतै गाउँमा पढाएर बस्नुहुन्छ। महेश दाइ कोरिया हुनुहुन्छ। अहिले पनि उहाँहरुबीच उस्तै प्रेम छ। दिनहुँ च्याट, कल भइरहन्छ। कहिलेकाहीँ म दिदीलाई जिस्काउँछु, 'भर्खर ३७ कि त हुनुभयो, केही बिग्रेको छैन। बिहे गर्नुस् दिदी, बिहे। १० वर्ष कान्छो भाइले यहाँ बिहे गरेर छोराछोरी खेलाउन थालिसक्यो।’

उहाँ मर्ने गरी हाँस्नुहुन्छ। मानौँ उहाँलाई केही हतारो नै छैन। पछुतो नै छैन। मानौँ प्रेमको अर्को नाम भनेकै कुर्नू हो। अम्बिका दिदी भन्नुहुन्छ,‘प्रेमको रङ रातो हुन्छ भाइ। रगतको जस्तै। त्यसैले शरीरमा रगत रहेसम्म प्रेम गर्न छाड्नु हुँदैन।’ 

यो पढिसकेपछि मेरी श्रीमती भन्छिन्,'प्रेमको रङ त खासमा खैरो हुँदो रहेछ। सेतो र कालो मिसिएको। न सेतो मात्र, न कालो मात्र। '

ए बरु, तपाईँ भन्नुस् न- प्रेमको रङ कस्तो हुन्छ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.