|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले फ्रेन्डस क्लबलाई ३–० ले पराजित गरेसँगै लिगमा शीर्ष ६ मा रहने टिमको तय भएको छ।

अन्तिम चरणको खेलमा बिहीबार बिहान पुलिसले फ्रेन्डसमाथि एकपक्षीय नतिजा निकाल्यो। जहाँ पुलिसका जुमानु राईले लिगकै दोस्रो ह्याट्रिक समेत सम्‍भव बनाए।
शीर्ष ६ मा पुग्नका लागि पुलिसलाई बिहीबारको खेल कुनै पनि मूल्यमा जित्नुपर्ने दबाब थियो।

जहाँ पुलिस सफल रह्यो। प्रशिक्षक अनन्त थापाले लिग अघिको पुलिस र लिगका दौरानको पुलिस धेरै अर्थमा फरक रहेको बताए। उनले लिगका दौरान टिम ‘कम्प्याक्ट’ भएको भन्दै अब टिमले विस्तारै प्रगति गर्दै अघि बढ्ने बताए। शीर्ष ६ मा स्थान बनाउन जित्नुपर्ने दबाबको खेलमा नतिजा निकाल्दै शीर्ष ६ मा पुग्नु पुलिसका लागि सफलता भएको दाबी उनको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि पुलिसले दोस्रो हाफमा अग्रता लियो। जारी लिगकै पहिलो गोल गर्ने क्रममा सब्सटिच्युट जुमानु राईले ४९ औं मिनेटमा पहिलो गोल गरेका थिए। पुलिसको अग्रता दोब्बर बनाउँदा पनि राईले नै ५६ औं मिनेटमा व्‍यक्तिगत दोस्रो गोल गरे। राईले ह्याट्रिक पूरा गर्ने क्रममा ८५ औं मिनेटमा तेस्रो गोल सम्‍भव बनाएका थिए।

पुलिस विजेता बनेसँगै शीर्ष ६ मा पुग्ने टिमको तय भयो। जसमा उपाधि दोबेदार आर्मी, मच्छिन्द्र, मनाङ, थ्रीस्टार जावलाखेल र पुलिसले शीर्ष ६ मा स्थान बनाउन सफल भए। जारी लिगमा सरस्वती क्लब भने रेलिगेशनमा परिसकेको छ। अब विजेता टिमको टुंगो शनिबार हुने मच्छिन्द्र र आर्मी बिचको खेलले तय गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.