|

गोरखा : ‘सरकारले दिने अनुदान वास्तविक किसानले हैन क्षणिक फाइदा लिन बनेका नक्कली किसानले पाइरहेका छन्’, गोरखा नगरपालिका-१ का कृषक कमलबहादुर बानियाँले एक अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापासँग गुनासो गर्दै भने, ‘त्यसैले, गरिखाने कि ठगिखाने किसान भन्ने कुरा छुट्याउनु पर्‍यो। मन्त्री ज्यू!’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले स्थानीय निकायमा कार्यरत प्राविधिक कर्मचारीको समन्वय बैठक एवं साना मोडल फार्म सञ्चालक कृषकसँगको अन्तक्रिया कार्यक्रममा किसानले अनुदान लिने सवालमा र कृषि उत्पादन बिक्री गर्दासम्म बिचौलियाका कारण समस्या भएको उनले गुनासो गरेका हुन्।

‘किसानले दु:ख गरेर उब्जाएको बाली बिचौलियाले तोकेको मूल्यमा बिक्री गर्नुपर्छ। त्यसैले हामले फाईदा लिन सकेका छैनौँ’, सिरानचोक ४ का सन्तबहादुर विश्वकर्माले सोही कार्यक्रममा मन्त्री थापालाई अनुरोध गर्दै भने, ‘बजारसम्म किसानको पहुँच छैन । त्यसैले खेती हामी किसानले भन्दा ढुवानी गरेर बजारसम्म पुर्‍याउनेहरूले दोब्बर लाभ लिन्छन्। हामी किसानलाई सहज रुपमा बजार ब्यस्थापन गरिदिनु पर्‍यो।’

विश्वकर्माले थपे, ‘मैले ऋण खोजेर ल्याएको पैसाले खोर बनाएर बाख्रा पालिरहेको छु। अनुदान लिन फेरि नयाँ खोर बनाउनुपर्ने नियम छ। खोर हुँदाहुँदै अर्को किन बनाउने मन्त्री ज्यू? यो नियम ठीक हो र?’

किसानको गुनासो सुनेपछि मन्त्री लेखबहादुर थापाले भने, ‘अनुदान लिनकै लागि किसान बनेकाहरुकै करण सच्चा किसान ठगिएको कुरा सत्य हो। अबका दिनमा स्थलगत अध्ययन गरेर मात्रै अनुदान दिने गर्नेछौँ र एउटै फर्म वा व्यक्तिलाई पटक-पटक अनुदान दिँदैनौँ।’ कोल्ड स्टोर निर्माण, हाट बजार व्यवस्थापन प्रदेश सरकारको मुख्य योजना रहेकाले बिचौलियाले फाईदा लिने क्षेत्र घटाउने मन्त्री थापाले बताए।

‘बिचौलियाकै कारण किसानले कृषि उत्पादनबाट लाभ लिन नसकेको कुरा यथार्थ हो’, उनले किसानलाई आश्वासन दिँदै भने, ‘हामी कसरी हुन्छ, किसानका समस्यालाई सम्बोधन गरेर समाधानका उपाय खोजिरहेका छौँ।’ स्थानीय तहले कम्तिमा बजेटको १५ प्रतिशत कृषिमा छुट्याउँदा कृषि उत्पादन बढाउन र युवालाई गाउँमै स्वरोजगार बनाउन सकिने उनले बताए।

कार्यक्रममा स्थानीय तहमा कार्यरत प्राविधिकले सेवा सुविधा थोरै भएको, जागिरको अन्यौलता रहेको गुनासो गरेका थिए। कर्मचारीसँगको बैठकसँगै साना मोडल फार्म सञ्चालक कृषकसँग मन्त्रीसहित कार्यालय प्रमुख र कर्मचारीले अन्तक्रियामा गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.