|

म्याग्दी : हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडक मार्ग बेनी–जोमसोम सडकमा यात्रा गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने विचार गर्नुहोस्, फागुन १० गतेदेखि चैत १५ गतेसम्म घुमाउने तालदेखि बेगखोलासम्म दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको घुमाउने तालदेखि बेगखोलासम्मको सडक स्तरोन्नति तथा विस्तार कार्यका लागि दैनिक ८ घण्टा बन्द गरेर कामलाई तिब्रता दिइने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दल, स्थानीय तह र बेनी–जोमसोम सडक आयोजना तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरुको बैठकले यस्तो निर्णय गरेको हो।

फागुन १० देखि चैत १५ गतेसम्मका लागि बेनी जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्मको सडकमा दैनिक आठ घण्टा सवारी रोकेर सडक स्तरोन्नति गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि दिउँसो १२ बजेसम्म र दिउँसो २.३० देखि ६.३० बजेसम्म सवारी रोकेर सडक निर्माणको काम गर्ने निर्णय भएको हो। सडक निर्माणलाई सहज र गति दिनका लागि ठेकेदार कम्पनीले स्थानीय प्रशासनलाई सवारी सञ्चालनको समयतालिका बनाउन अनुरोध गरेको थियो ।

घुमाउने तालदेखि बेगखोला खण्डको सडक बन्द हुँदा त्यसको विकल्पको रुपमा रहेको घुमाउनेताल–पिप्ले–रानीपौवा–माझखर्कको वैकल्पिक सडक मर्मत गरी हलुका सवारी सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ। २०६५ मंसिरमा सक्ने लक्ष्य रहेको आयोजनाको हालसम्म करिब साठी प्रतिशत मात्र भौतिक प्रगति छ। बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक ११ मिटर फराकिलो र कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.