विप्रेषणलाई उत्पादन मूलक क्षेत्रमा खर्च गर्न सहयोग पुग्ने अपेक्षा

|

काठमाडौं :  विप्रेषण प्राप्त रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना अनुसार नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र खुल्ला गरेको छ। उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले गत साता सार्वजनिक गरेको 'समृद्ध नेपालको लागि दिगो आर्थिक विकासको तत्कालीन कार्ययोजना' अनुसार राष्ट्र बैंकले ऋणपत्र जारी गरेको छ।

अर्थमन्त्री महराले आगामी फागुन मसान्तसम्ममा १ अर्ब रुपैयाँँ बराबरको ऋणपत्र जारी गर्न गर्ने लक्ष्य लिएकोमा सोमबार राष्ट्र बैंकले ५० करोड रुपैयाँँ बराबरको रकमको लागि ऋण पत्र जारी गरेको हो।

यसरी बचत गर्दा दाहोरो फाइदा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनी बताउँछन्। 'बचत कर्ताले आकर्षक व्याजमा पैसा जम्मा गर्न सक्ने र त्यो पैसा सरकारले उत्पादन मूलक क्षेत्रमा खर्च गर्न पाउनुका साथै बचत कर्ताले एकमुष्ट पैसा लैजादा उत्पादन मूलक क्षेत्रमानै खर्द्व हुने सम्भावना बढ्छ' पंगेनीले थाहाखबरसँग भने।

के हुन् विशेषता

पाँच वर्षे अर्थात २०७८ सम्मको बचत पत्रमा व्याजकर लाग्ने गरी वार्षिक १० प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ। त्यस्तै छ/छ महिनामा व्याज भुक्तानीको सुविधा प्राप्त गरीने नेपाल राष्ट्र बैंकले जारी गरेको सूचनामा खुलाइएको छ। त्यस्तै पाँच वर्ष भित्रमा सावा व्याज भुक्तानी गरिने सुविधा दिइएको छ। त्यस्तै बचतकर्ताले चाहेको समयमा बचत पत्र बिक्री गर्न वा धितो राखी ऋण निकाल्न सक्ने सुविधा पनि दिइएको छ।

१३ एजेण्टबाट किन्न सकिने

बचतपत्र बिक्री गर्नको लागि नेपाल राष्ट्र बैंकले १३ वित्तीय संस्थालाई अनुमति दिएको छ। जसअनुसार सिटिजन्स बैंक, एनएमबी बैंक, नबिल बैंक, माछापुच्‍छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंकले अनुमति पाएका छन्। त्यस्तै प्रभु मनी ट्रान्सफर्मर, सिटी एक्सप्रेस मनी ट्रान्सफर्मर, आईएमई र सेवा रेमिटलाई पनि राष्ट्र बैंकले अनुमति दिएको छ।

राष्ट्र बैंकले अनुमति दिएका १३ एजेण्टबाट नेपाल भित्र र नेपाल बाहिरबाट बचतपत्र खरिद गर्न सक्ने छन्। वैदेशिक रोजगारीमा रहेका वा मुलुकबाहिरको रोगजारीबाट फर्केका ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा परिवारका सदस्यले बचतपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ। बचत कर्ताले २०७३ माग १७ गतेदेखि २०७३ फागुन १७ गते सम्म ऋण पत्र किन्न सक्ने छन्।  

फागुन मशान्तभित्र थप ५० करोडको बचत पत्र

राष्ट्र बैंकले फागुन मसान्त भित्र थप ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगरा बचतपत्र खुल्ला गर्ने भएको छ। अर्थमन्त्री महराले एक यो अवधिभित्र एक अर्ब रुपैयाँँको ऋणपत्र निश्कासन गर्ने लक्ष लिएकोमा सोमबारदेखि फागुन १७ सम्म ५० करोड र त्यसपछि पुन ५० करोड रुपैयाँ निश्‍कासन गर्ने तयारी राष्ट्र बैंकको छ।

सोमबारदेखि एक महिनाको लागि ५० करोड रुपैयाँको बचतपत्र निश्‍कासन गरियो, फागुन मसान्त सम्ममा थप ५० करोडको ऋणपत्र जारी गरिनेछ' नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनिले थाहाखबरसँग भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.