|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानुनमा सुधार गरिएको बताए।

सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगिक कानुनलाई सहज बनाउँदै गएको बताए। उनले लगानीकर्ताको सहजताका लागि एकद्वार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको समेत बताए।

नेपालको अर्थमन्त्रमा सुधार हुँदै गएकाले पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गरे। उनले सरकारले कर प्रणालीलाई समेत पारदर्शी बनाएको र व्यवसायमा अप्ठेरो परेको अवस्थामा अर्थमन्त्रालयले प्रत्येक वर्ष बजेटमार्फत करका विषयमा सुधार गर्दै जाने पनि बताए। उनले निजी क्षेत्रका समस्यालाई सरकारले विस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधा दिँदै आएको समेत बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको कस्ट अफ डुइङ बिजनेस अझै पनि उच्च रहेको बताए। यातायात खर्च बढी हुनु, करका दर उच्च हुनु, दक्ष जनशक्तिको अभावलगायतका कारणले नेपालको कस्टआफ डुइङ बिजनेस अझै पनि उच्च रहको तर्क उनको थियो। उनले करको दायरा र दर बढाउँदै जाँदा साना उद्योगलाई समस्या परेको समेत बताए।

विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठी दुईदिनसम्म चल्ने छ। कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौती र सम्भावनाका विषयमा विस्तृत छलफल हुने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.