पक्राउ पर्नेसँग दूतावासको नक्कली परिचयपत्र भेटियो

|
फाइल तस्बिर

काठमाडौं : अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका-९ घरभई काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो। खडकाले दीपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचयपत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाइको छ।

प्रहरीले पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो। खडकाले अहिलेसम्म १० जनाभन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म ठगी गरेको पाइएको छ। पीडितले विभिन्न प्रलोभन देखाएर आफूहरूबाट पटकपटक पैसा लिएको बताएका छन्।

खडकाले सुरुमा फोन गर्ने र अर्कै व्यक्तिको नाउँ लिदै नम्बर लिएको बताउने गरेको पीडितले बताएका छन्। काठमाडौंको बानियाँटारमा बस्दै आएका भीमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकन राजदूतावासको आइडी कार्ड देखाएर राजदूतावासमा काम गर्ने मान्छे हुँ भनेर बताएको र राजद्रतावासमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटो समेत देखाएकोले आफूहरूले विश्वास गरेको बताए।

उनले धरानमा रहेका आफ्ना बहिनी ज्वाइलाई समेत भेटेर अमेरिका लैजाने भन्दै ठगी गरेको बताए। त्यस्तै काठमाडौंमा महाराजगंजको पुलिसबिट अगाडि रहेको कफी हाउसमा बोलाएर कुरा गर्ने र पैसा लिएको बताए।

खडकाले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरूलाई लोभ देखाई प्रलोभनमा पारेको पीडितहरूले बताएका छन्। खड्काले बैंक र आइएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकोले नगद नै बुझाएको उनीहरूको भनाइ छ।

खडकाले पटक पटक शंका लाग्नेगरी कुरा गरेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने वेलामा खडकाको फोटो खिचेको आधारमा आफूहरूले प्रहरीमा उजुरी दिएको समेत उनीहरूले बताए। खडकाले अहिलेसम्म १० जनाभन्दा बढीलाई ठगी गरेको पाइएको छ।

त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरूले बताएका छन्। प्रहरीले भने खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.