|

काठमाडौं : यस वर्षको 'इन्जा स्रष्टा सम्मान' वरिष्ठ साहित्यकार चूणामणि रेग्मी र इन्जा सामुदायिक पत्रकारिता पुरस्कारबाट बाजुरामा कार्यरत पत्रकार प्रकाश सिंह र अछाममा कार्यरत पत्रकार मेनुका ढुंगानालाई संयुक्त रूपमा प्रदान गरिएको छ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित एक हजार अमेरिकी डलर राशिको पुरस्कार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्तान्तरण गरेका हुन्।

प्रदेशमा रहेर पनि देशभक्तिको भावना राखी सामाजिक काममा सक्रिय रही काम गर्दा नेपाली जनतालाई प्रेरणा प्राप्त हुने कार्यक्रमका प्रमुख अतिथि पोखरेलले बताए। उनले भने,' इन्जाका सम्पूर्ण पदाधिकारीलाई सदा सत्कर्म गर्नलाई प्रेरणा मिलोस। असल विचार र असल भावना जागृत होस।'

राम्रो कामको थालनी गर्नु मात्र नभई यसले निरन्तरता पाएर नेपाली जनतालाई र नेतृत्वलाई उत्साह मिल्ने बताउँदै देश विकास गर्न र समाजलाई सभ्य बनाउनलाई पत्रकारिता जगतको अहम भूमिका हुने उनले बताए।

इन्जा सदस्य बढाउने संस्था नरहेको, प्रोजेक्ट बेसमा रहेमा काम गर्ने यस संस्थाको उद्देश्य रहेको इन्जाका संस्थापक अध्यक्ष गुणराज लुइँटेलले बताए। समाज र राष्ट्रको लागि योगदान पुर्‍याउने हेतुले प्रदेशमा बसेर संस्थाको स्थापना गरिएको उनले जानकारी दिए। 

इन्जाले पत्रकारको क्षमता अभिवृद्बिको लागि विभिन्‍न कार्यक्रम गर्दै आएको र गर्दै जाने लुइँटेलले बताए। नेपालको ग्रामिण भेगमा रहेर पत्रकारिता गरिरहेकालाई तालिमका लागि पनि काम गर्ने उनको भनाइ छ। 

ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंहको हिमाल साप्ताहिकमा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षक समाचारका लागि पुरस्कार प्रदान गरिएको हो। उनीहरुले पाँचपाँच सय डलर बराबरको रकम सहित सम्मानपत्र प्राप्त गरेका छन् ।

पुरस्कार छनौट समितिका संयोजक बरिष्ठ पत्रकार तीर्थ कोइरालाले रहेको छनौट समितिमा पत्रकार टंक पन्त र किशोर सापकोटा रहेका थिए। छनोट समितिले  दुवै समाचारले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय गरेको थियो। सन् २०१९ मा प्रकाशित ३ सय ५१ वटा समाचार तथा फिचर प्रतिस्पर्धामा सामेल थिए।

यसैगरी, १ हजार अमेरिकी डलर राशिको यस वर्षको इन्जा स्रष्टा सम्मान वरिष्ठ साहित्यकार चूडामणि रेग्मी (चुमरे) लाई प्रदान गरिएको छ। नेपाली झर्रोवादी आन्दोलनका अगुवा ८४ वर्षीय रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’का रूपमा स्थापित छन्।

इन्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेसास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई सम्मानित गर्ने निर्णय गरेको थियो। सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट लगायतले पनि मन्तव्य दिएका थिए ।

त्यसैगरी, उपचारार्थ अस्पताल भर्ना भएका पत्रकार कमल पौडेलको परिवारलाई इन्जाको सक्रियतामा संकलन गरिएको करिब १८ लाख रूपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। विश्वका सबै महादेशमा शाखा बिस्तार गरिरहेको यो संस्थाले आइतबार मार्च १ तारिख दोस्रो बार्षिकोत्सव पनि मनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.