|

प्रकृति, भूगोल र समाज बुझ्ने माध्यमहरुमा पुस्तक अध्ययन, मान्छेसँगको अन्तर्क्रिया र यात्रा प्रमुख मानिन्छन्। यीमध्ये यात्रा सबैभन्दा सशक्त माध्यम लाग्छ मलाई। केही वर्ष पहिले इलाम बसाईको बेला पूर्वी गाउँ माइमझुवाको महोत्सवको अवसर पारी हामी श्रीमान् श्रीमती र तीन भाइबहिनीको टोली सबेरै गन्तव्यतर्फ रवाना भयौँ।

माइपोखरीसम्म रुटको गाडीमा चढेर पुगियो अनि ठोट्नेको पात टोक्दै र बाटोमा फाट्टफुट्ट देखिने गुराँसको फूल खाँदै हामी देउराली हुँदै अगाडि बढ्यौँ। बाटैबाट देखिने विख्यात टोड्के झरनालाई क्यामराले जुमिङ गर्दै एकछिन थकाइ मारियो। गुराँसे गाला र खाइलाग्दो शरीर भएका एक हुल युवती महोत्सव स्थलबाट फर्किंदै गर्दा माइमझुवाको फेमेगुरुनेर भेटिए। “बुधबारे बजार पुग्न कति समय लाग्छ हो, बैनीहरु?” सुदीप भाइले प्रश्नले छेके उनीहरुलाई। “यही हिँडाइ हो भने अरु अढाई घण्टा लाग्छ” भन्दै हामीलाई पछाडि पारे तिनीहरुले। हामी पनि पानी ओइरिएर जंगलबीच मुसो कुटाइमा परिने डरले पाइला चाल्यौँ छिटोछिटो।

माइमझुवा गाविस छिरेलगत्तै सल्लाका हरिया पातहरु तथा बाँसका कप्टेराहरुमा रंगरोगन गरी बनाइएका स्वागतद्वार ठाउँ ठाउँमा राखिएका देखिए। स्थानीय प्रविधिको यो अनुपम प्रयोग सह्रानीय लाग्यो। साह्रै लोभ्याउने खालका यी स्वागतद्वारले हामीलाई हात फैलाएर ग्रिन कार्पेट वेलकम गरे झैँ लाग्यो। नागबेली बाटो छिचोल्दै इलाम सदरमुकामवासीले पिउने पानीको मूललाई टाढैबाट नियाल्दै त्यसैको फेदी गिताङ पुग्यौँ। बाटोछेवैको आकर्षक शंखेढुंगाको दर्शन गरेर हामी कादुरी एग्रिकल्चरल एड एसोसिएसन, ब्रिटिस गोर्खाज्, नेपालको सहयोगमा निर्मित झोलुङ्गे पुल तर्दै बुधबारे बजार पुग्यौँ। बजार पुगेर स्थानीयसँग गफिँदा पो बुझियो, यो भेगमा कादुरी नामको संस्थाको सहयोगमा बाटोघाटो लगायत धेरै विकासका काम भएका रहेछन्। यो क्षेत्रमा खपत हुने बिजुली पनि यहींका खोलाबाट यही एसोसिएसनको सहयोगमा बनाइएका रहेछन् । त्यसैले त यो क्षेत्र लोडसेडिङमुक्त रहेछ।

एकतमासको हिँडाइले होला, भोक निकै लागेको थियो र बजारमा चिया नास्ता खाएर मात्र हाम्रा पाइला नजिकैको महोत्सव स्थलतर्फ सोझिए। महोत्सवको दोश्रो दिन चल्दै रहेछ त्यहाँ। महोत्सव आयोजक समितिका अध्यक्ष तुलाराम गुरुङको अनुरोधमा हामी पनि मञ्चमा आसिन भयौँ। सँगै आतिथ्यता दिइरहेथे हामीलाई, इलामको पर्यटन प्रवर्द्धनमा सक्रिय विष्णु काफ्लेले। स्थानीय कलाकारको नृत्य, गायन तथा प्रहसन चलिरहेको थियो। मुसलधारे वर्षामा पनि डेग नचली स्थानीयवासी मग्न थिए कार्यक्रमको आनन्द लिन। सामान्य मन्तव्यवाजी र कलाकारको गीत नृत्यको प्रस्तुतिपछि हामी सबै मैदानमा ओर्लेर कार्यक्रमका सहभागीसँग साकेलाको तालमा जानी नजानी शरीर मर्काउन थाल्यौँ। यतिखेरसम्म पानी निकै कम भइसकेको थियो। साकेलामा सहभागी भएको पहिलो चोटी नै थियो मेरो। बेलुकी स्थानीय बैनी कुमारी गुरुङको घरमा बस्ने व्यवस्था भयो। नजीकैको होटलमा खानपीन गरी केहीबेर दोहोरी जमाएर हामी आआफ्नो शयनकक्षमा पस्यौँ।

भोलिपल्ट सबेरै गाडी रिजर्भ गरी छिन्टापूलाई लक्ष्य गरी हामी बुधबारे बजारबाट निस्क्यौँ। गोरुवालेसम्म गाडीको यात्रापछि छिन्टापूको पैदल यात्रा सुरु भयो। गोरुवालेको उत्तरमा पाँचथर जिल्ला पर्दो रहेछ। त्यहाँबाट भारतको बोर्डर पनि नजिकै रहेछ। “गोरुवाले नाम कसरी रहन गयो?” भन्ने मेरो प्रश्नमा एक स्थानीय वृद्धले बेलीविस्तार लाउँदै भन्नुभयो, “यो भेगको चारपट्टिबाट दार्जिलिङ, सिक्किममा गोरु छिराउने ठाउँ हो यो। यसैले यो ठाउँलाई गोरुवाले भनिएको हो।” बाटोमा भेटिने बाँसका किलाका लस्करले पनि गाईगोरुलाई बोर्डर कटाउने क्रममा रातमा राखिएको पुष्टि हुन्छ ठाउँ ठाउँमा। जडीबुटीको समेत भण्डारै रहेछ यो भेग। चिराइतोको खेती गरी साधारण किसानले पनि राम्रै आयआर्जन गरिरहेको बुझियो। पोखरी नै पोखरीको गाविसको रुपमा चिनिएको माइमझुवाका बाटो छेउछाउका फुस्रेपोखरी, भूतपोखरी आदिलाई क्यामरामा कैद गर्दै हामी हुँइकियौँ हाम्रो लक्ष्यतर्फ।

फेदीदेखि नै गुराँससँग खेल्दै र फोटो खिच्दै अगाडि बढियो। केहीदिन अघिको असिनापानी र निख्रदो बसन्तले होला, फेदीतिर मुर्झाएका गुराँस मात्र दृष्टिगोचर भए। जति माथि चढ्दै गयो, त्यति बाक्लै फुलेका र विविध प्रजातिका गुराँस भेटिन्थे। विभिन्न रङ र प्रजातिका गुराँस नियाल्दै माथि उक्लँदा शरीर थाके पनि मन भने फुरुङ्ग थियो। गुराँसको साम्राज्यलाई चिर्दै ठाउँ ठाउँमा चाँपका फूलहरुले पनि आफ्नो उपस्थिति देखाएको पाइयो। घना जंगलबीच फराकिलो चरिचरन क्षेत्र देखियो जहाँ गाई, बाख्रा चरिरहेको भेटियो। त्यहीं नजिकैको तालपोखरीमा केहीबेर सुस्ताएर फोटो सेसन गरी फेरि चढियो हामी उकालो। गुराँसको राजधानीको रुपमा ख्यातिनामा तेह्रथुमको तिनजुरे मिल्केडाँडावारे नपुगे पनि प्रशस्तै सुनेको थिएँ मैले। तर छिन्टापू आरोहणपछि प्रचारप्रसार बढाउने हो भने यो क्षेत्र पनि कम नहोला जस्तो लाग्यो। छिन्टापूको शिरमा पुगेर वरपर हेर्दा बिछट्टै रमाइलो अनुभव गरियो। डाँडामाथि डाँडा खप्टेको मनोरम दृष्य सिनेमा छायाङ्कनको राम्रो स्थलको रुपमा समेत विकास गर्न सकिने देखिन्छ। पूरै खुलेको मौसम थिएन त्यस दिन, त्यसैले छिमेकी भारतका विभिन्न ठाउँको मनोरम दृष्य आँखामा सजाउनबाट भने वञ्चित रह्यौँ हामी।

रंगीचंगी गुराँसका फूल जम्मा गर्दै र “बान्टे” नामक स्थानीय फल बटुल्दै ३२०० मिटर उचाइको छिन्टापूको शिखरबाट झर्दाको आनन्द बेग्लै थियो। माइमजुवाबाट हामीसँगै यात्रामा थपिएका अर्का स्थानीय कमल राईको पहलमा छिन्टापूबाट फर्कदा प्लास्टिक लगायत अन्य फोहोरमैला टिप्दै र संकलन गर्दै हामी तल ओर्लियौँ। विगतमा एभरेस्ट आरोहणबाट फर्कंदाका पर्वतारोहीको सरसफाइ कार्य सम्झँदै हामी पनि अद्भूत खुसी हुँदै फर्क्यौँ यो सत्कार्यमा हात बढाइरहँदा। गोरुवाले आइपुगेर गाडी के चढियो, मुसलधारे पानी ओइरिन थाल्यो। “हामी धेरै लक्की रहेछौँ, छिन्टापू उक्लँदा र झर्दा बिल्कुल पानी परेन, हगि?” सहयात्री तथा मेरी जीवनसाथी ज्योत्स्नाजीको टिप्पणी। सबैले एकै स्वरमा सम्मति जनायौँ। ठाडै झरेको घुमाउरो बाटो, त्यसमा रातोमाटो। के चाहियो र गाडीलाई ! नियन्त्रण गुमाए झैं भए गुरुभाइ निमा शेर्पा घरीघरी। त्यस्तैमा डराएकी बैनी मेरिनाको कहालिएको आवाज कानमा ठोक्कियो, “म त हिँडेर जान्छु, चढ्दिन गाडीमा।”

नभन्दै त्यो ठाउँमा त गाडी “भीरको चिण्डो, उँधो न उँभो” झैँ भयो। अत्तालिँदै हामी सबै गाडीबाट उत्रियौँ र ग्याजग्याज हिलोमा टेक्दै गाडी ठेलठाल पारी निकालियो। पछि सजिलो बाटो भेटेपछि “बल्ल बाँचियो” भन्दै लामो सुस्केरा छोडिन् अर्की सहयात्री रिना बैनीले। यसरी वर्षासँग लुकामारी खेल्दै महोत्सवको मज्जा लिँदै हामी झरीबीच राति अबेर इलाम फर्कियौँ, निमा भाइको सुमधुर म्युजिकल कलेक्सनमा लठ्ठ पर्दै।

नियमित रुटको गाडी नभेटिने माइमझुवा पुग्न भने टाढा, तर पुगिसकेपछि रमाइलो लाग्ने ठाउँ रहेछ। “माइमझुवा टोड्के झर्ना छिन्टापू सन्दकपुर लाली गुराँस पर्यटन महोत्सव” नाम दिइएको यस तीन दिने महोत्सवमा बन्दको कारण बाहिरी जिल्लाबाट आउने अपेक्षा गरिएका भ्रमणकारीको संख्या निकै कम भएकोमा आयोजकको दुःखेसो सुनियो। यस बाहेक पछिल्ला दुई दिन अनपेक्षित वर्षाले समेत महोत्सवलाई बिथालेको थियो। यो क्षेत्रमा चैतको मध्यसम्ममा महोत्सव आयोजना भएमा लालीगुराँसले भरिभराउ हुने हुँदा हामी जस्ता आन्तरिक पर्यटकको मनोरथ समेत पूरा हुने थियो। ठूलो धनराशि खर्च गरी राष्ट्रिय कलाकारलाई ल्याउने पद्धति विपरित स्थानीयलाई नै सहभागी गराई उनीहरुको हौसला बढाउने आयोजक समिति प्रशस्त धन्यवादको हकदार बनेको छ।

विशेषगरी विभिन्न चराचुरुङ्गी, जनावरको आवाजको हुबहु नक्कल गर्ने र मुर्चुङ्गा तथा अन्य मौलिक वाद्ययन्त्र बजाउने स्थानीय कलाकार कृष्ण बस्नेतको प्रस्तुति स्तुत्य थियो। दूरदराजमा रहेका यस्ता मूर्धन्य प्रतिभालाई कहिले समेट्ने हुन् “खोजी प्रतिभा”को जस्ता राष्ट्रिय कार्यक्रमहरुले। कार्यक्रम परिसरको बजारमा चाउचाउ, बिस्कुट, फ्रुटी जस्ता फास्ट फुडभन्दा तात्तातो सेलरोटी, आलुको सब्जी आदि स्थानीय परिकार बिक्री भइरहेको देख्दा साँच्चै सार्थक लाग्यो महोत्सव। समितिले आगन्तुकको रेकर्ड राख्ने क्रममा महोत्सवबापत सामान्य प्रवेश शूःल्क राखेको भए आर्जनको एउटा राम्रो श्रोत बन्ने थियो। आगन्तुकले स्थानीय उत्पादनलाई चिनोको रुपमा किनेर लग्ने व्यवस्था भएमा स्थानीयवासीले अलिक फाइदा लिन सकिने देखिन्थ्यो आउँदा दिनमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.