|

सिन्धुपाल्चोक : जिल्लामा साउनदेखि माघसम्म ४० जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्ने ४० जना मध्ये २४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने १६ जनाले बिष सेवन गरेर आत्महत्या गरेका छन्।

सिन्धुपाल्चोकमा आर्थिक वर्ष २०७१\७२ मा ५८ जना र आर्थिक वर्ष २०७२\७३ मा ७० जनाले आत्महत्या गरेको तंथ्याकमा छ। यसपटक सुरुवाती ७ महिनाभित्रै आत्महत्या गर्नेको संख्या ४० पुगेको प्रहरीले जानकारी दिएको छ।आत्महत्या गर्नेमा पुरुषभन्दा महिला धेरै छन्।

मंगलबार सदरमुकाम चौतारामा अष्टेलियन एडको सहयोगमा बहुसांस्‍कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले सञ्चारकर्मी र प्रहरीसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रहरीले यो तंथ्याङ्क सार्वजनिक गरेको हो। वर्षेनी आत्महत्या गर्नेको संख्या बढ्दै जानु चिन्ताको विषय अन्तरक्रियाका सहभागीहरुले बताएका छन्।

सिन्धुपाल्चोक जिल्लामा मात्र नभएर देशभर नै आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको नशा तथा मनोरोग विशेषज्ञ कमल गौतमले जानकारी दिए।  नेपालमा आर्थिक बर्ष २०७२\७३ को तंथ्याक हेर्दा एक वर्षमा ४ हजार ६ सय ६७ जनाले आत्महत्या गरेको समेत जानकारी दिए। विश्वमा एक वर्षमा १० लाख व्यक्तिले आत्महत्या गर्ने उनले बताए।

बहुसांकृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालका कार्यक्रम संयोजक रामबाबु नेपालले सिन्धुपाल्चोक जिल्लामा आत्महत्या गर्नेहरुको संख्या बढ्नु दुखद रहेको बताए। ‘सिन्धुपाल्चोक जिल्लामा आत्महत्या धेरै हुन्छ, त्यसैले हामीले आत्महत्या न्यूनिकरण गर्ने पहल गरेका हौँ,’ उनले भने। टीपीओ नेपालले सिन्धुपाल्चोकको ठुलो सिरुबारी, साँगाचोक, चौतारा नगरपालिका र मेलम्ची नगरपालिकामा काम गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.