|

अदिस अबाबा : गाम्भियाको राजनीतिक परिवर्तनपछि देखिएको सङ्क्रमणकाललाई शान्तिपूर्ण रुपमा समाधान गर्ने अफ्रिकी मुलुकबीच अझै असाधारण एकता आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेर्रेसले बताएका छन्।

अफ्रिकी युनियनको २८ औँ शिखर सम्मेलनलाई सोमबार सम्बोधन गर्दै राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले भने,'पश्चिम अफ्रिकी राष्ट्रको आर्थिक सङ्गठन (ईसीओडब्लूएएस) मा रहेको एकता र गाम्भियाली जनतालाई सम्भावित द्वन्द्वबाट बचाउनु सङ्गठनको प्रशंसनीय काम रहेको छ। अझै अफ्रिकी देशहरुले यो एकता प्रदर्शन गर्न जरुरी छ। यो विश्वका लागि उदाहरणीय काम भएको छ।'

गुटेर्रेसले भने,'जब हामीले कुनै पनि देशमा धेरै द्वन्द्वको सामना गर्छौँ, अन्तर्राष्ट्रिय समुदायको पहलमा मात्रै त्यसको समाधान सम्भव हुन्छ। अन्तर्राष्ट्रिय समुदाय पनि द्वन्द्वग्रस्त राष्ट्र वरपरको क्षेत्रीय एकताबाट पाइने सहयोगबाट नै समस्याको समाधान खोज्न सम्भव हुन्छ। यो नै विश्वव्यापी मान्यता हो।' 

पूर्व गाम्भियाली राष्ट्रपति याहया जामेहले गाम्भियाको सत्तालाई शान्तिपूर्वक निर्वाचित राष्ट्रपति अदामा वारोलाई हस्तान्तरण गर्नुमा अफ्रिकी सङ्गठन ईसीओडब्लूएएसको हस्तक्षेपकारी भूमिका महत्वपूर्ण रहेको गुटेर्रेसले बताए। 

वारोले पूर्व राष्ट्रपति जामेहलाई सन् २०१६ को डिसेम्बरमा भएको निर्वाचनमा पराजय गरेपनि पूर्व राष्ट्रप्रमुखले गाम्भियामा सहज सत्ता हस्तान्तरण गर्न अस्वीकार गरिरहेको समयमा ईसीओडब्लुएएस आबद्ध राष्ट्रले एकताका साथ सत्ता हस्तान्तरण प्रक्रियामा पहल गरेका थिए।  

गुटेर्रेसले शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्रसङ्घ र अफ्रिकीबीच सहकार्य गर्नुपर्ने धेरै क्षेत्र भएको बताए। उनले दुईबीचको सहकार्यले अफ्रिकी जनताको जीवनस्तरमा सुधार गर्न सकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.