|

डडेल्धुरा : कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण डडेल्धुरामा कक्षा १ देखि ९ सम्मको परीक्षा शुरू भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा धमाधम परीक्षा भइरहेका हुन्।

डडेल्धुरास्थित विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने भनिएको भएपनि कोरोना भाइरसका कारण फागुन २७ गतेबाट नै सञ्चालन भएको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका प्रमुख रामदत्त भट्टले जानकारी दिए।

‘डडेल्धुराका सातवटै स्थानीय तहका सामुदायिक विद्यालयमा कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइसकेको छ।’ अमरगढी नगरपालिकाअन्तर्गत कक्षा ५ र ८ को परीक्षा भने आन्तरिक तयारी नपुगेका कारण सञ्चालन नभएको समेत प्रमुख भट्टले बताए।

‘सामुदायिक विद्यालयमा निर्धारित समयभन्दा अगावै परीक्षा सञ्चालन गर्नुपरेकाले केही विद्यालयको आन्तरिक तयारी नपुगेको देखिन्छ। यद्यपि; परीक्षा भने शान्त वातावरणमा नै सञ्चालन भइरहेको छ।’ उनले भने, ‘केही निजी विद्यालयको पढाइ पूरा नभएको कारण केही ढिला परीक्षा सञ्चालन गर्ने भनेका छन्, सक्दो चाँडो परीक्षा गर्न-गराउन मैले प्रयत्न गरिरहेको छु।’

अमरगढी नगरपालिकाअन्तर्गत कक्षा ५ र ८ को परीक्षा सञ्चालन हुनसकेको छैन। कोरोना भाइरसको संक्रमणमा पर्ने आशंकाका कारण चैत ५ गतेसम्म कक्षा १ देखि ९ गतेसम्म हुने भनिएको परीक्षा सम्पन्न गरिसक्न नेपाल सरकारको निर्देशन भएपनि अमरगढी नगरपालिकामा भने कक्षा ५ र ८ को परीक्षा सञ्चालनमा आएको छैन।

अमरगढी नगरपालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी १४ वटा विद्यालयका कक्षा ५ र ८ का विद्यार्थीले दिने बार्षिक परीक्षा सारिएको छ। कक्षा ५ र ८ को प्रश्नपत्र निर्माणमा ढिलाइ भएकाले तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसकेको अमरगढी नगरपालिका शिक्षा शाखा प्रमुख हेमन्त पन्तले जानकारी दिए। उनका अनुसार कक्षा ५ र ८ को परीक्षा फागुन ३० गतेबाट सञ्चालन हुने जनाइएको छ।

परीक्षामा सामेल विद्यार्थीलाई मास्क अनिवार्य गरेको जनाउँदै शिक्षा शाखा प्रमुख पन्तले नगरपालिका अन्तर्गतका विद्यालयमा विद्यार्थी संख्याका आधारमा निःशुल्क रूपमा मास्क वितरण गरिएको बताए। विद्यालर्थीले मास्क लगाएरै परीक्षामा सहभागी भइरहेका छन्। कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण उनीहरूले मास्क लगाएरै परीक्षा दिइरहेका हुन्।

विद्यालयमा ठूलो संख्यामा विद्यार्थी एकै ठाउँमा बसेर पठनपाठन गर्ने भएकाले नेपाल सरकारको निर्देशन अनुसार डडेल्धुराका संस्थागत र सामुदायिक विद्यालयमा तत्काल १ देखि ९ कक्षाको परीक्षा सञ्चालन गर्न समन्वय गरेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए। 

‘कोरोना भाइरसका कारण ज्यान जानेको संख्या विश्वमा बढिरहेको छ, हामीकहाँ कोरोना भाइरसको संक्रमण देखापर्नु अगाडि नै सजकताको प्रयासका लागि सबैसँग आग्रह गरिएको छ।’ प्रजिअ पन्तले भने, ‘जिल्लाभित्र सार्वजनिक स्थानहरूमा धेरै भीडभाड नगर्न, अति आवश्यक कामको लागि मात्र बाहिर जान, हात मिलाउनुको साटो नमस्कार गर्न, भेला, जमघट तथा मेला महोत्सवजस्ता कार्यक्रमहरू नगर्न हामीले सबैमा अनुरोध समेत गरेका छौं।’

जिल्लाभर प्राथमिक, आधारभूत र माध्यमिक विद्यालय गरी २४९ वटा विद्यालय रहेका छन् । जसमध्ये अजयमेरु गाउँपालिकामा ३०, आलिताल गाउँपालिकामा ४३, अमरगढी नगरपालिकामा २९, भागेश्वर गाउँपालिकामा ३३, गन्यापधुरा गाउँपालिकामा २४, नवदुर्गा गाउँपालिकामा २८ र परशुराम नगरपालिकामा ६२ वटा विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ डडेल्धुराका सूचना अधिकारी केशव जोशीले बताए।

तस्बिरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.