काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने मालवस्तुको आयात/निर्यातबापतको शुल्क बढाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले सञ्चालन गरेको एयर कार्गो बिल्डिङ’ बाट आयात/निर्यात हुने मालवस्तुको कार्गोबापतको शुल्क बढाइएको हो।
विमानस्थल सेवा शुल्क नियमावली, २०६७ को पाँचौँ संसोधनमा हरेक दुई वर्षमा १० प्रतिशतका दरले स्वतः शुल्क वृद्धि हुने व्यवस्था अनुरूप कार्गोबापतको मूल्य बढाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बढेको शुल्क आगामी चैत ४ गतेदेखि लागू हुनेछ। प्राधिकरणका अनुसार साधारण वस्तु निर्यात गर्दा प्रतिकिलोग्राम एक रुपियाँ दस पैसा वा दुई सय बीस रुपियाँमध्ये जुन बढी हुन्छ त्यही शुल्क निर्धारण हुनेछ।
त्यस्तै साधारण मालवस्तुको आयातमा प्रतिकिलोग्राम पाँच रुपियाँ ८८ पैसा वा एक सय दस रुपियाँमध्ये जुन बढी हुन्छ त्यही कायम हुनेछ । बहुमूल्य मालवस्तु निर्यात गर्दा प्रतिकिलोग्राम दुई रुपियाँ ७५ पैसा वा दुई सय ७५ रुपियाँमध्ये जुन बढी हुन्छ सोही शुल्क निर्धारण हुनेछ। बहुमूल्य वस्तुको आयातमा भने प्रतिकिलोग्राम आठ रुपियाँ ८० पैसा वा दुई सय २० रुपियाँमध्ये जुन बढी हुन्छ त्यही कायम हुने प्राधिकरणले जनाएको छ।
नाशवान् वस्तुको निर्यातमा प्रतिकिलोग्राम दुई रुपियाँ २० पैसा वा दुई सय २० रुपियाँमध्ये जुन बढी हुन्छ अनि आयात गर्दा प्रतिकिलोग्राम आठ रुपियाँ ८० पैसा वा दुई सय २० रुपियाँमध्ये जुन बढी हुन्छ त्यही कायम हुनेछ। खतराजन्य मालवस्तु निर्यात गर्दा प्रतिकिलोग्राम पाँच रुपियाँ ५० पैसा वा पाँच सय ५० रुपियाँमध्ये जुन बढी हुन्छ र आयात गर्दा प्रतिकिलोग्राम १७ रुपियाँ ६० पैसा वा चार सय ४० रुपियाँमध्ये जुन बढी हुन्छ त्यही तिर्नुपर्ने हुन्छ। त्यस्तै एक्सपे्रस कुरियर ब्याग र एक्सपे्रस कुरियर पार्सल र एक्सपे्रस कार्गो निर्यात गर्दा प्रतिकिलोग्राम पाँच रुपियाँ पचास पैसा वा एक सय १० रुपियाँमध्ये जुन बढी हुन्छ त्यही र आयात गर्दा प्रतिकिलोग्राम पाँच रुपियाँ ५० पैसा वा दुई सय २० रुपियाँमध्ये जुन बढी हुन्छ त्यही कायम हुनेछ।
जीवित जनावर आयात वा निर्यात गर्दा बहुमूल्य वस्तु आयात वा निर्यात गर्दा लाग्ने दस्तुरको दोब्बर दस्तुर लाग्नेछ। मालसामान धनीको अनुरोधमा कार्यालयको अतिरिक्त समय र बिदाको कार्गो गर्नुपर्नेमा प्रतिपुलिन्दा दुई सय २० रुपियाँ थप दस्तुर लाग्नेछ। निर्यात गर्दा पहिलो सात दिनको डिमरेज दस्तुर नलाग्ने भए पनि त्यसपछि तीस दिनसम्म प्रतिकिलोग्राम दुई रुपियाँ बीस पैसा र ३१औँ दिनदेखि ६० दिनसम्म प्रतिकिलोग्राम दुई रुपियाँ ७५ पैसा डिमरेज शुल्क लाग्ने भएको खबर गाेरखापत्र दैनिकमा छ।
गोदामभित्र तौल गर्दा साबिकमा देखाइएको भन्दा बढी तौल भएमा दोब्बर दस्तुर लाग्ने पनि विमानस्थलले जनाएको छ। विदेशबाट नेपालमा वा नेपालबाट विदेशमा मानव अवशेष ल्याउँदा अथवा लैजाँदा त्यसबापत कुनै शुल्क नलाग्ने पनि विमानस्थलले स्पष्ट पारेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।